केशवराज भट्ट
वासुलिङ बैतडी, वैशाख १० गते ।जिल्ला प्रशासन कार्यालय बैतडीले सार्वजनिक बिदाका दिनमा समेत अत्यावश्यक सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको छ ।
कार्यालयले सूचना जारी गर्दै नेपाल सरकार, गृह मन्त्रालयको निर्देशन अनुसार चालु आर्थिक वर्ष २०८३ वैशाख १ गतेदेखि २०८३ चैत मसान्तसम्म एक वर्षका लागि बिदाका दिनमा पनि केही सेवा निरन्तर सञ्चालन गरिने जनाएको हो ।
सूचनाअनुसार नेपाली नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सार्वजनिक बिदाका दिनमा समेत प्रवाह गरिने बैतडीका प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले जानकारी दिनुभयो ।
यसबाट सेवाग्राहीलाई सहजता पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।कार्यालयले विभिन्न चाडपर्व तथा सार्वजनिक बिदाका दिनमा सेवा सञ्चालन हुने तालिका पनि सार्वजनिक गरेको छ ।
जस अनुसार वैशाख १८ गते चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), जेठ १५ गते गणतन्त्र दिवस, भदौ १२ गते रक्षा बन्धन, भदौ १९ गते श्रीकृष्ण जन्माष्टमी, असोज १५ गते घटस्थापना लगायतका दिनमा सेवा खुला रहने कार्यालयले जनाएको छ ।
त्यसैगरी धान्य पूर्णिमा, उधौली पर्व, क्रिसमस डे, तमु ल्होसार, पृथ्वी जयन्ती, माघी पर्व, सोनाम ल्होसार, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवस, ग्याल्पो ल्होसार, इदुल फित्र र बकर इदका दिनमा पनि सेवा सञ्चालन गरिने पनि सूचनामा उल्लेख गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बैतडीले सार्वजनिक बिदामा समेत सेवा प्रवाह गर्ने निर्णयले सेवाग्राहीलाई थप सुविधा पुग्ने अपेक्षा गरिएको छ ।