• १० वैशाख २०८३, बिहिबार

अवामी लिगमाथिको प्रतिबन्ध दीगो नहुने चेतावनी

blog

ढाका, वैशाख १० गते। बङ्गलादेशको बदलिँदो राजनीतिक परिवेशबिच प्रमुख दल बङ्गलादेश अवामी लिगमाथि लगाइएको अस्थायी प्रतिबन्ध दीर्घकालीन रूपमा टिक्न नसक्ने चेतावनी अन्तर्राष्ट्रिय सङ्कट समूहले दिएको छ । नयाँ सरकारलाई उक्त संवेदनशील विषयलाई शीघ्र राजनीतिक रूपमा सम्बोधन गर्न सुझाव दिँदै यसले देशको स्थायित्वका लागि समावेशी राजनीतिक प्रक्रिया आवश्यक रहेको औँल्याएको छ ।

बङ्गलादेश र म्यान्माका लागि अन्तर्राष्ट्रिय सङ्कट समूहका वरिष्ठ सल्लाहकार थोमस किनले स्वतन्त्रतापछि बङ्गलादेशको राजनीतिमा अवामी लिगको ऐतिहासिक र प्रभावशाली भूमिका रहेको उल्लेख गर्दै पार्टीमाथिको प्रतिबन्ध लामो समय कायम रहन नसक्ने धारणा व्यक्त गर्नुभयो । उहाँका अनुसार वर्तमान बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) नेतृत्वको सरकार अवामी लिगको राजनीतिक भविष्यबारे स्पष्ट नीति तय गर्नुपर्ने दबाबमा छ ।

सङ्कट समूहले सार्वजनिक गरेको नयाँ प्रतिवेदनले भारतसँग अवामी लिगको ऐतिहासिक निकटता र पार्टीका धेरै वरिष्ठ नेता निर्वासनमा रहेको अवस्थालाई ध्यानमा राख्दै भारतलाई पनि सक्रिय भूमिका खेल्न आग्रह गरेको छ । प्रतिवेदन अनुसार नयाँदिल्लीले आफ्नो प्रभाव प्रयोग गरी अवामी लिग नेतृत्वलाई पुनः राजनीतिक प्रक्रियामा फर्कने वातावरण बनाउन सहयोग गर्नुपर्छ ।

रिपोर्टले बङ्गलादेशको नयाँ सरकारका लागि कूटनीतिक सन्तुलनलाई पनि महत्त्वपूर्ण चुनौतीका रूपमा औँल्याएको छ । भारतसँग बिग्रिएको सम्बन्ध सुधार्नु प्राथमिकता भए पनि चीन र संयुक्त राज्य अमेरिका जस्ता प्रमुख साझेदारसँग सन्तुलन कायम राख्नु उत्तिकै आवश्यक रहेको उल्लेख गरिएको छ । सन् २०२४ अगस्टमा भएको जनआन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिना नेतृत्वको सरकारलाई सत्ताबाट हटाएपछि बङ्गलादेशको राजनीतिक दिशा परिवर्तन भएको थियो । 

करिब १५ वर्ष लामो शासनपछि उत्पन्न असन्तुष्टिका बिच सेनाले प्रदर्शनकारीमाथि गोली चलाउन अस्वीकार गरेपछि हसिनाको बहिर्गमन निश्चित भएको थियो । त्यसपछि राजनीतिक दल र विद्यार्थी नेताको सहमतिमा मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम प्रशासन गठन गरिएको थियो । त्यसपछिको १२ फेब्रुअरीमा सम्पन्न निर्वाचनलाई सङ्कट समूहले ‘ऐतिहासिक क्षण’ का रूपमा व्याख्या गरेको छ ।

उक्त निर्वाचनमा बिएनपीले स्पष्ट बहुमत प्राप्त गरेको थियो भने मतदाताले जनमतसङ्ग्रहमार्फत सुधार सम्बन्धी प्रस्तावलाई पनि समर्थन गरेका थिए । निर्वाचन अपेक्षाकृत शान्तिपूर्ण र निष्पक्ष रहेको तथा सत्ता हस्तान्तरण सहज भएको प्रतिवेदनमा उल्लेख छ । तर निर्वाचनपछि दुई महिना बित्दा नयाँ सरकारमाथि चुनौती थप स्पष्ट बन्दै गएको सङ्कट समूहको निष्कर्ष छ । 

विशेष गरी अर्थतन्त्र पुनर्जीवित गर्ने, मध्यपूर्वको द्वन्द्वबाट उत्पन्न असर व्यवस्थापन गर्ने र ऊर्जा आपूर्ति तथा मूल्यवृद्धिको दबाब सामना गर्ने चुनौती देखिएको छ । बङ्गलादेशको अर्थतन्त्र इन्धन, बिजुली र मलका लागि मध्यपूर्वमा निर्भर रहेकाले त्यहाँको अस्थिरताले विदेशी मुद्रा सञ्चिति, आर्थिक वृद्धि र मुद्रास्फीतिमा प्रत्यक्ष असर पार्ने चेतावनी दिइएको छ ।

साथै, आर्थिक सुधार मात्र पर्याप्त नहुने उल्लेख गर्दै प्रतिवेदनले राज्य संस्थाको कार्यसम्पादन सुधार, सार्वजनिक सुरक्षामा भरोसा वृद्धि र राजनीतिक सुधार कार्यान्वयनमा जोड दिएको छ । सरकारले जुलाई चार्टर जस्ता संवेदनशील विषयमा विपक्षीसँग टकराव बढाउनुको सट्टा सहमति खोज्दै अघि बढ्नुपर्ने सुझाव दिइएको छ । रासस/एएनआई