• १० वैशाख २०८३, बिहिबार

ढोरपाटनमा हाप्किडो खेल शिविर

blog

हाप्किडो खेल शिविरमा सहभागी खेलाडिहरु । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, बैशाख १० गते । जिल्लाको ढोरपाटनमा नेपाल हाप्किडो संघ गण्डकी प्रदेश तथा बागलुङ जिल्ला हाप्किडो संघको आयोजनामा देशका सातै प्रदेशका खेलाडीबिच खुला प्रतिस्पर्धा तथा प्रशिक्षण शिविर सुरु भएको छ । 

बिहीबारदेखि सुरु भएको प्रतियोगिता र शिविरमा सात प्रदेशका एकसय खेलाडी र अफिसियल समेत गरी १ सय २० जना सहभागी छन् । खेल पर्यटनको विकास गर्ने, मार्सलआर्टको प्रशिक्षण सञ्चालन गर्ने र खेलाडीलाई प्रोत्साहन गर्न ढोरपाटनमा शिविर सञ्चालन गरिएको हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरले बताउनुभयो । 

गण्डकी प्रदेशको उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले बिहीबार शिविरको उद्घाटन गर्दै खेलको विकासले युवा क्षेत्रलाई सही मार्गमा हिँडाउने बताउनुभयो । खेलले देश र विदेशमा चिनाउन सकिने र व्यावसायिक खेलले युवाहरुको रोजगार सिर्जना गर्ने रिमालको भनाइ थियो । 

उहाँले प्रदेश सरकारले पनि यस्ता खेलको विकासमा योगदान गर्ने प्रतिवद्वता जनाउनुभयो । शिविर आगामी शनिबारसम्म चल्ने छ । शिविरले ढोरपाटनलाई हाइ अल्टिच्युड स्पोटर्स टे«निङ सेन्टर र खेलकुद हबको रुपमा विकास गर्ने कार्यक्रमका वक्ताहरुले बताउनुभएको थियो । 

शिविरको उद्घाटन कार्यक्रममा संघका उपाध्यक्ष तारामाया थापा, स्थानीय शिक्षक चक्रबहादुर अदै, प्रदेश खेलकुद परिषदका बोर्ड सदस्य सीता गुरुङ र खेम पुनले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सिकार आरक्षको अनुमति लिनुपर्ने प्रावधान र राज्यको लगानीको अभावले ढोरपाटनमा बनेका कतिपय योजना अझै सम्पन्न हुन सकेको छैन । यसअघि ढोरपाटनमा फुटबलको पनि प्रशिक्षण केन्द्र बनाउने प्रयास भएकोमा अनुमति अभावले बजेट फिर्ता भएको थियो । शितकालीन ओलम्पिकको तयारी खेलका लागि पनि ढोरपाटनमा हाइअल्टिच्युट खेल मैदानको महत्व रहेको खेलाडीहरुको भनाइ थियो ।