• १० वैशाख २०८३, बिहिबार

प्रज्ञा–प्रतिष्ठानद्वारा प्रज्ञा र प्रादेशिक पुरस्कार घोषणा

blog

फाइल तस्बिर

काठमाडौँ, वैशाख १० गते । नेपाल प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्रका विभिन्न विधामा प्रदान गरिने 'प्रज्ञा पुरस्कार–२०८२' घोषणा गरेको छ । प्रतिष्ठानले यस वर्षदेखि सातै प्रदेशका स्रष्टालाई समेट्ने गरी 'प्रज्ञा प्रादेशिक पुरस्कार' समेत प्रारम्भ गरेको छ ।

प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीद्वारा जारी विज्ञप्ति अनुसार जनही एक लाख रुपियाँ राशिको प्रज्ञा पुरस्कार १२ जना स्रष्टालाई प्रदान गरिने भएको छ । जसमा समालोचनातर्फ प्राडा. अभि सुवेदी, भाषातर्फ प्रा. मुकुन्दशरण उपाध्याय, सामाजिक शास्त्रतर्फ डा. डम्बर चेम्जोङ, पद्य साहित्यतर्फ शैलेन्द्र साकार र संस्कृतितर्फ प्राडा. सोमप्रसाद खतिवडा छनोट हुनुभएको छ ।

यसैगरी बालसाहित्यतर्फ सुशीला प्रधानाङ्ग, गद्य साहित्यतर्फ आहुति, दर्शनतर्फ ईश्वरचन्द्र ज्ञवाली, अनुवादतर्फ डा. सर्वोत्तम श्रेष्ठ, अन्तर्देशीयतर्फ नरेश काङमाङ राई (बेलायत), मातृभाषा (हिमाली पहाडी) तर्फ बुद्ध योञ्जन र मातृभाषा (मधेश तराई) तर्फ अमरेन्द्रकुमार यादवलाई पुरस्कृत गर्ने निर्णय भएको छ ।

यस वर्षदेखि सुरु गरिएको जनही ५० हजार रुपियाँ राशिको 'प्रज्ञा प्रादेशिक पुरस्कार' सात जनालाई प्रदान गरिने छ । जसमा कोसी प्रदेशबाट मलिसा याक्थुम्बा लिम्बू (महेन्द्रकुमार नेम्बाङ), मधेश प्रदेशबाट मुना चौधरी, बागमती प्रदेशबाट शान्तिप्रिय बन्दना र गण्डकी प्रदेशबाट अनिल श्रेष्ठ छनोट हुनुभएको छ । त्यस्तै लुम्बिनी प्रदेशबाट क्षितिज मगर, कर्णाली प्रदेशबाट रमानन्द आचार्य र सुदूरपश्चिम प्रदेशबाट कर्ण दयाल 'सोडारी' लाई सो पुरस्कार प्रदान गरिने छ ।

घोषित पुरस्कार आगामी वैशाख १७ गते बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानको सिद्धिचरण सभाकक्ष, कमलादीमा एक विशेष समारोहमा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।