रामकृष्ण बोहरा
बागलुङ, वैशाख १० गते । जिल्लाको दस स्थानीय तहमा कृषि, वन, लघु उद्यम, पर्यटन तथा जलस्रोतको क्षेत्रमा सम्भावित परियोजनाको अध्ययन गर्न बागलुङ उद्योग वाणिज्य सङ्घ र अन्तर्राष्ट्रिय बागलुङ समाजबिच सम्झौता भएको छ ।
जिल्लाको आर्थिक विकास, पर्यटन प्रवर्धन र व्यावसायिक सुधारलाई केन्द्रमा राख्दै मङ्गलबार पहिलो पटक दुई संस्थाबिच ८ बुँदे सम्झौता भएको हो । सम्झौतामा उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष राजनकुमार शाक्य र अन्तर्राष्ट्रिय बागलुङ समाजका अध्यक्ष गङ्गाप्रसाद शर्माले हस्ताक्षर गर्नुभएको छ ।
जिल्लाको दस स्थानीय तहमा कृषि, वन, लघु उद्यम, पर्यटन तथा जलस्रोतका क्षेत्रमा सम्भावित परियोजनाको अध्ययन गरिने सम्झौतामा उल्लेख छ ।
सम्झौता अनुसार प्रत्येक पालिकामा कम्तिमा १० वटा परियोजनाको सम्भाव्यता अध्ययन गर्न विज्ञ टोली परिचालन गरिने छ । युवा, महिला तथा सर्वसाधारणलाई लक्षित गरी वित्तीय साक्षरता अभिवृद्धि गर्ने र उद्योग–व्यापारसम्बन्धी परामर्श सेवा उपलब्ध गराउने योजनाअघि सारिएको छ ।
दुवै संस्थाले संयुक्त रूपमा कम्तिमा एक सय वटा व्यावसायिक योजनाको विस्तृत अध्यक्ष प्रतिवेदन तयार पार्ने सहमति गरेका छन् । स्थानीय उत्पादनको प्रवर्धन र बजारीकरणलाई टेवा पुर्याउन ‘बागलुङ कोसेली घर’ स्थापना गरिने छ । कोसेली घरको व्यवस्थापन उद्योग वाणिज्य सङ्घले गर्ने छ भने अन्तर्राष्ट्रिय बागलुङ समाजले बजार विस्तारमा सहयोग सम्झौतामा उल्लेख गरिएको छ ।
परियोजनाको विस्तृत प्रतिवेदन तयार भएपछि लगानी आकर्षित गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारका प्रतिनिधिसहित लगानी सम्मेलन आयोजना गरिने छ । साथै, प्राकृतिक विपद् र महामारीको समयमा दुवै संस्थाले आपसी समन्वयमा राहत तथा परोपकारी कार्यहरू सञ्चालन गर्ने सहमति भएको छ ।
यस्तो, कार्यमा सरकारी निकाय, निजी क्षेत्र र विदेशस्थित नेपाली सङ्घ संस्थाहरूसँग समेत सहकार्य गरिने बताइएको छ । सम्झौता कार्यक्रममा अन्तर्राष्ट्रिय बागलुङ समाजका महासचिव प्रेमसागर पौडेल, उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतम तथा सह–कोषाध्यक्ष चन्द्रराज रेग्मीको उपस्थिति थियो ।