स्मिता अर्जेल
मकवानपुरगढी, वैशाख १० गते । मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले आफूलाई प्राप्त हुने तलब भत्ताको रकमसेवा सूविधासहित व्यक्तिगत खर्च व्यहोरेर मनहरी गाउँपालिका वडा –२ का स्ल्याब ढलान गर्नुभएको छ ।
गत कात्तिक २९ मा उहाँले यहाँ औपचारिक कार्यक्रमबिच व्यक्तिगत लगानीमा स्ल्याब ढलान गर्ने औपचारिक घोषणा गर्र्नुभएसँगै निर्माण प्रक्रिया अगाडि बढेको थियो ।
वडा नम्बर २ कार्यालय भुन्द्रुङ टाँडीदेखि कर्मचोकको गाउँवस्तीलाई जोड्ने २०० मिटर सडकलाई स्ल्याब गरिएको हो । यहाँ कुल २० लाख रुपियाँ लगानीमा २०० मिटर लम्बाई र ६ मिटर चौडाईमा स्ल्याब ढलान भएको मनहरी गाउँपालिकाका प्राविधिक टुकराज चौधरीले जानकारी दिनुभयो ।
मनहरी गाउँपालिकाको ९ वडामध्ये सबैभन्दा विकट रहेको २ नम्बर वडा भुन्द्रुङ टाँडीका स्थानीयहरु अझैसम्म खानेपानी, शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र तटबन्धनको समस्यासँग जुध्नुपरेको अध्यक्ष कालाखेतीले बताउनुभयो । स्थानीयहरु दैनिकजस्तो यस्ता आधारभूत आवश्यक्ताको समस्या लिएर पालिका धाउने गरेको उहाँले बताउनुभयो ।
त्यसो त वर्षाेदेखि पक्की सडकको पर्खाइमा रहेका कर्मचोकका स्थानीयको समस्यालाई सम्बोधन गर्दै बाटो निर्माण कार्य थालनी गरिने प्रतिबद्धता जाहेर गर्नुभएको कालाखेतीले विहीबार नवनिर्मित स्ल्याबको उद्घाटन गर्नुभयो ।
उहाँले भन्नुभयो “जनप्रतिनिधिले पारदर्शी ढंगले सेवा प्रवाह गर्नुपर्छ भन्ने सिद्धान्त बोकेर हिँडेको छु । जनप्रतिनिधि हुने वितिक्कै बजेटमाथि भ्रष्टाचार गर्ने, कमिसन हात पार्ने लगायतका नागरिक भाष्यलाई चिर्दै आफनो कार्यकाललाई उदाहरणीय बनाउन तत्पर छु । दलीय स्वार्थभन्दा माथि उठेर आगामी दिनमा स्थानीयको समस्या र आवश्यक्तालाई सम्बोधन गर्ने प्रतिवद्धता गर्दछु ।”
घोषणा कार्यक्रममा वडाका अध्यक्ष राजकुमार पाख्रीनले वडा कार्यालय जोडिएकै सडक कच्ची रहँदा स्थानीयहरु वर्षौदेखि समस्यामा रहेकोे बताउनुभयो । गाउँदेखि मुख्य सडक सञ्जालसम्म जोडिने कैयौं सडक निर्माणमा निर्वाचित अध्यक्ष कालाखेतीले ठुलो भूमिका निर्वाह गरेकोप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।