गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सहित विभिन्न पार्टीबाट सैनामैना र बुटवलको वडा १२ र १३ मा साढे तीनसयभन्दा बढी नेकपा (एमाले) मा प्रवेश गरेका छन् । एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले उहाँहरुलाई आज पार्टीमा स्वागत गर्नुभयो ।
शुक्रबार बिहान बुटवल उपमहानगरको वडा १२ र १३ बाट र दिउँसो सैनामैनाको विभिन्न वडाबाट साढे ३ सय जनालाई पार्टी प्रवेश गराइएको जिल्ला उपसचिव बाबुराम पन्थीले जानकारी दिनुभयो ।
सैनामैना क्षेत्रबाट प्रवेश गर्ने तीनसय जनाको संयोजनक वडा १ शाखा कमिटीका उपाध्यक्ष चक्र शाहीले गर्नुभएको थियो । आफ्नो क्षेत्रमा रहेका रास्वपा, नेकपासहितका विभिन्न दलमा आस्थावानहरुले एमालेप्रति भरोसा गरेर प्रवेश गर्न चाहेकाले संयोजन गरेर पार्टी कार्यालयमा ल्याएको र उपाध्यक्ष विष्णु पौडेलमार्फत पार्टीमा स्वागत गराएको उहाँको भनाइ छ ।
‘भूमिहीन, लालपूर्जाबिहीनहरुको भरोसाको पार्टी बनेको छ, नयाँ जेनजीहरु जो भ्रममा परेर बस्नुभएको थियो, उहाँहरु पनि आजको प्रवेशमा सहभागी हुनुहुन्छ, पार्टी नेतृतवले कार्यकर्ताको मनोभावना बुझेर अघि बढोस्, आज प्रवेश गरेकाहरुलाई पार्टीमा उचित जिम्मेवारी दिएर काममा खटाउन सकोस्’ उहाँले भन्नुभयो ।
उहाँहरुलाई पार्टीमा स्वागत गर्दै उपाध्यक्ष पौडेलले विभिन्न हल्लाका कारण एमालेको जिम्मेवारीमा नरहेकाहरुले आफैले पार्टी प्रवेश गरेर बलियो एमाले बनाउन चाहेकोमा निकै खुशी लागेको बताउनुभयो । अब त्यो क्षेत्रको भरोसा गर्नेखालको काम गरेर देखाउने बताउनुभयो ।
पार्टी प्रवेश कार्यक्रममा एमाले लुम्बिनी उपाध्यक्ष तथा रुपन्देही –२ निर्वाचन परिचालन कमिटीका संयोजक भोजप्रसाद श्रेष्ठले सबै क्षेत्रबाट आएका सुझावका आधारमा पार्टीले काम गर्ने र आफ्नो क्षेत्रमा आएका समस्याहरु तत्काल दिन सबैलाई आग्रह गर्नुभएको थियो ।
शुक्रबार नै बुटवल १२ मा दर्जनौं युवाहरु पार्टीमा प्रवेश गरेको एमाले बुटवलका अध्यक्ष शोभाखर पोखरेलले जानकारी दिनुभयो । एमाले उपाध्यक्ष पौडेलले पार्टी प्रवेश गराउँदै युवाहरुको योजनाअनुसार अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।