• २३ असार २०८२, सोमबार

कानुन अध्ययनमा आकर्षण

blog

मानव जातिको विकास र सभ्यताको सुरुवातसँगै कानुनको अभ्यास भएको मानिन्छ । प्राचीन समयमा मानिसले जे बोल्यो, त्यही नै कानुन हुन्थ्यो । समाजको विकाससँगै कानुन बिस्तारै विभिन्न रूपमा देखिन थालेको हो । आजसम्म कतिपय देश धर्मलाई नै कानुनका रूपमा स्वीकार गर्दै आएका छन् । समयको विकाससँगै लेखन सिपले प्राथमिकता पाए पनि संयुक्त अधिराज्य बेलायतले मौखिक संविधानको सफल कार्यान्वयन गरेको छ । 

भर्खरै माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ । धेरै विद्यार्थी अब के पढ्ने भन्दै विभिन्न स्कुल र कलेजमा पुगेर बुझ्न व्यस्त छन् । यसअघि चिकित्साशास्त्र, व्यवस्थापन र इन्जिनियरिङमा देखिएको आकर्षण जस्तै पछिल्लो समय कानुनमा धेरैले चासो दिँदै आएका छन् । राम्रो जिपिए ल्याएर एसइईमा उत्तीर्ण विद्यार्थी कानुनप्रति आकर्षित छन् । मानिसको जन्मदेखि नै कानुनी प्रक्रिया आवश्यक हुन्छ । कुनै पनि काम गर्दा प्राकृतिक न्यायको उल्लङ्घन हुनु हुँदैन । न्यायाधीशले न्यायमा पूर्वाग्राही हुनु हुँदैन । सानोदेखि ठुलोसम्म हरेक सम्झौतामा कानुन जरुरी हुन्छ । सामान्य प्रक्रिया पूरा नगरे पनि कानुन उल्लङ्घन भएको मानिन्छ । मानिस जन्मिएपछि नै प्रव्रिmया आवश्यक पर्छ । कानुनको व्याख्या गर्दा न्यायाधीशले पनि कानुनी प्रक्रियालाई उल्लङ्घन गर्नु हुँदैन । प्रक्रियागत हुने भएकाले कानुनले मानिसलाई अनुशासितसमेत बनाउँछ । 

देशभरका सामुदायिक र निजी विद्यालयमा एसइईपछि दुईबर्से कानुनको पाठ्यक्रम पढ्न सकिन्छ । कक्षा ११ मा कानुन पढ्ने विद्यार्थीले अनिवार्य विषयबाहेक संवैधानिक कानुन, कार्यविधि कानुन, विधिशास्त्र तथा कानुनी सिद्धान्त पढ्छन् । कक्षा १२ मा नेपालको कानुन प्रणाली, कानुनी मसौदा, देवानी कानुन र फौजदारी कानुन तथा न्याय पढ्न सक्छन् । विज्ञान पढेर एमबिबिएस र आइओईका लागि प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थीको आकर्षण पछिल्लो समय कानुनमा छ । कक्षा ११ र १२ देखि नै कानुन पढ्ने विद्यार्थीलाई बिएएलएलबीको प्रवेश परीक्षामा प्रतिस्पर्धा गर्न सहज हुने हुँदा विद्यालय तहदेखि नै कानुनमा आकर्षण बढेको देखिन्छ । 

नेपाल सङ्घीयतामा गएसँगै तीन तहको सरकार बनेका छन् । सङ्घ, प्रदेश र स्थानीय सरकार बनेपछि कानुनको दायरा फराकिलो भएको छ । स्थानीय तहमा न्यायिक सुनुवाइ हुने हुँदा कानुन व्यवसायीले देशभर रोजगारीको अवसर पाएका छन् । रोजगारीसँगै र समाजमा परिचय हुने भएकाले मेहनत गर्ने विद्यार्थीको आकर्षण विद्यालय तहदेखि नै कानुनमा देखिन्छ । पछिल्लो समय सङ्घीय र प्रदेश सांसदले स्वकीय सचिव राख्दासमेत कानुनविज्ञलाई प्राथमिकता दिने निर्णय भएपछि यसको क्षेत्र अझ फराकिलो बनेको छ । हरेक कम्पनी, संस्थान र बैङ्कले कानुनी सल्लाहकार राख्छन्, जसको काम र सुविधामा आकर्षण बढ्दो छ । कानुनको आकर्षण बढेसँगै अहिले सामुदायिक र निजी विद्यालयले ११ र १२ कक्षादेखि नै कानुनको अध्यापन गराउँदै आएका हुन् । काठमाडौँमा मात्र ४५ वटा विद्यालयमा कानुनको पढाइ हुन्छ । 

कानुनमा किन आकर्षण ?

अर्थशास्त्र, राजनीतिशास्त्र, मेडिकल विज्ञान, इन्जिनियरिङ, आधुनिक व्यवसाय, सरकारी सेवा, बैङ्क तथा वित्तीय संस्था, सार्वजनिक र निजी संस्थानलगायत हरेक क्षेत्रमा कानुनविज्ञको खाँचो हुने भएकाले अवसरको हिसाबमा यो क्षेत्रको आकर्षण बढेको देखिन्छ । अधिवक्ता लोकेन्द्र ओली रोजगारीको ग्यारेन्टी हुने भएकाले विद्यार्थीको कानुनमा आकर्षण बढेको बताउनुहुन्छ । कानुन पढ्ने विद्यार्थी बेरोजगार बस्नु नपर्ने उहाँको बुझाइ छ । अधिवक्ता ओली भन्नुहुन्छ, “ ‘प्लस टु’ लगत्तै कानुनका विद्यार्थीले स्नातक गरेर एसइईपछिको छ/सात वर्षमा अधिवक्ता बन्न सक्छन् । अधिवक्ता बनेपछि सरकारी सेवासँगै गैरसरकारी सङ्घ संस्था अवसर प्राप्त हुन्छ । कतिपय कानुन व्यवसायी निजी ढङ्गले स्वरोजगार बन्छन् । नेपाल विद्यार्थीलाई आत्मनिर्भर बनाउन, आत्मविश्वास बढाउन रोजगारीको ‘ग्यारेन्टी’ हुने भएकाले कानुनमा आकर्षण बढेको देखिन्छ ।” 

फराकिलो क्षेत्र समेटिने कानुन पढ्ने विद्यार्थी जीवनमा आर्थिक, सामाजिक, मानसिक रूपमा कहिल्यै शोषणमा नपर्ने विश्वास कानुन व्यवसायीको छ । विधि, नियम र कानुन बुझ्ने भएकाले बोल्न पछाडि नपर्ने स्वभाव कानुन पढेका विद्यार्थीमा हुन्छ । अधिवक्ता ओली थप्नुहुन्छ, “बोल्ने कलाको विकास विद्यार्थी जीवनदेखि नै हुन्छ । अध्ययनशील हुने भएकाले कानुनका अध्येता समाजको मार्गदर्शक बन्छन् ।” 

आजको युवापुस्ताले विद्यालय तहदेखि नै सामाजिकशास्त्र अर्थात् कानुनको अध्ययनलाई आकर्षक विषय मान्दै आएको ललितपुरको कुमारीपाटीस्थित युनाइटेड एकेडेमीमा कानुन विषयका शिक्षक अधिवक्ता राजेश बाँस्तोला बताउनुहुन्छ । अधिवक्ता बाँस्तोला भन्नुहुन्छ, “नागरिक भएपछि कानुन जान्नै पर्छ । यसको अध्ययनले विद्यार्थीलाई ‘डाइनामिक’ बनाउँछ । व्यापक क्षेत्र समेटिने कानुनको आकर्षणले विद्यार्थीमा बाहिर जानेभन्दा देशमै केही गर्छु भन्ने हुटहुटी बढेको पाइन्छ । यसले युवापुस्ताको विदेश मोहलाई केही हदसम्म नियन्त्रण गरेको छ ।”

राज्यका हरेक कार्यालयमा कानुनी शाखा बनेका छन् । निजी र कर्पोरेट क्षेत्रमा रोजगारी बढ्दै जाँदा कानुनविज्ञ अनिवार्य राख्नुपर्ने भएकाले यसको थप आकर्षण बढेको छ । लोकप्रिय कानुन व्यवसायीको बोल्ने कलासँग प्रभावित भएर कतिपय विद्यार्थी कानुनमा आकर्षित भएको अनुभव अधिवक्ता अनिता शर्माको छ । अधिवक्ता शर्मा भन्नुहुन्छ, “सरकारी सेवामा धेरै अवसर प्राप्त हुने भएकाले आकर्षण बढेको छ । यो पेसामा मेहनत गरेमा आफूले आफूलाई नै गुणस्तरीय बनाउन सकिन्छ । धैर्य भएर काम गरेमा एउटा अधिवक्ता सेलिब्रेटी नै बन्न सक्छ । त्यसको प्रभाव समाजमा व्यापक हुन्छ ।” 

देशभित्र मात्र होइन कानुनको आकर्षण विश्वव्यापी रूपमै बढेको छ । नपढे पनि कानुन सबै मानिसले जान्नु पर्छ । कानुन थाहा थिएन भनेर गल्ती गर्ने छुट कसैलाई छैन । सर्वसाधारण नागरिक, युवा, विद्यार्थी, कर्मचारी, संसद्, उद्योगी, बैङ्कर्स सबैले कानुन जान्नु पर्छ । यसको व्याख्या गर्ने निकाय न्यायालय हो । न्यायालयको नेतृत्व पनि कानुन पढेकै विद्यार्थीले गर्छन् । हामीलाई समाजका हरेक तहमा जाँदा कानुन आवश्यक हुने भएकाले पछिल्लो समय यसको आकर्षण विश्वव्यापी रूपमै बढ्दो छ । 

कानुनमा के छ अवसर ? 

एसइई उत्तीर्ण गरेका धेरै विद्यार्थीलाई ‘प्लस टु’ मा कानुन किन पढ्ने ? कुन कलेज छनोट गर्ने ? पढिसकेपछि कस्ता कस्ता रोजगारीका अवसर पाइन्छ ? भविष्य कस्तो हुन्छ ? देश र विदेशमा यसको ‘स्कोप’ कस्तो छ ? भनेर जिज्ञासा उठ्नु स्वाभाविक हो । यो समयमा कानुनमा चासो राख्ने विद्यार्थीले पुस्तक र कानुनका दफा पढाउने मात्र भन्दा पनि कानुनसँग सम्बन्धित अतिरिक्त अभ्यास, बोल्ने सिप सिकाउने कलेज छान्नु उपयुक्त हुन्छ । 

कानुन व्यवसाय गर्न मात्रै नभएर अधिकांश सरकारी कार्यालयमा प्रमुख बन्ने विषय पनि हो । लेखापढी व्यवसायीदेखि प्रधान न्यायाधीशसम्म बन्ने बाटो निर्माण कानुनले नै गर्छ । पछिल्लो समय चिकित्सक र इन्जिनियर भेट्नुभन्दा कानुन व्यवसायीसँग भेटेर परामर्श लिनु महँगो पर्छ । कतिपयले कानुन विश्वमै ‘हाई पेइङ’ पेसाका रूपमा चर्चा गर्छन् । कानुनको व्याख्या न्यायाधीशले गर्ने भएकाले कानुन पढेपछि धेरैको सपना न्यायाधीश बन्ने हुन्छ । कानुनको व्याख्या गर्ने सर्वोच्च अदालतमा लामो अनुभव हासिल गर्दै प्रधान न्यायाधीश बन्ने सपनासमेत केही कानुन व्यवसायीको हुन्छ । अधिवक्ता बनेपछि वरिष्ठ अधिवक्ता बन्ने र विभिन्न संवैधानिक निकायमा नियुक्ति खाने लक्ष्यसमेत धेरैको हुन्छ । आवश्यक पर्दा अदालतले सरकार गठन र विघटनको अधिकारसमेत राख्ने भएकाले यसको चर्चा न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाको शक्ति सङ्घर्षका रूपमा समेत हुने गरेको छ । 

त्रिभुवन विश्वविद्यालयमा निश्चित कोटामा मात्र कानुन पढ्न पाइने भएकाले कक्षा ११ र १२ मा सम्बन्धित विषय पढ्ने विद्यार्थीका लागि एलएलबीको प्रवेश परीक्षामा नाम निकाल्न सजिलो हुन्छ । राजनीतिज्ञ, सुरक्षा निकायका उच्च अधिकारी, आयोगको नेतृत्व र पदाधिकारी, अनुसन्धान अधिकारी, जनप्रतिनिधि, कर्मचारी, व्यापारी, मानव अधिकारवादी सङ्घ संस्था, बैङ्क तथा वित्तीय संस्थाका प्रमुख कानुन पृष्ठभूमिबाट आएका हुन्छन् । यसले पनि पछिल्लो समय कानुनप्रति आकर्षण बढेको देखिन्छ ।