• ८ मंसिर २०८२, सोमबार

तारकेश्वरमा ‘चौथो मेयर रनिङ शिल्ड’ : ६० विद्यालयले भाग लिने

blog

पत्रकार सम्मेलनमा तारकेश्वर नगरपालिका नगरप्रमुख कृष्णहरि महर्जनसहित ।

काठमाडौँ,  मङ्सिर ८ गते । काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिकामा चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।

तारकेश्वर नगरपालिकाको आयोजनामा ‘खेल तारकेश्वरको सन्देश एकताको’ भन्ने मूल नारासहित आगामी यही मङ्सिर १३ गतेदेखि प्रतियोगिता हुन लागेको हो । 

प्रतियोगितामा तारकेश्वर नगरपालिकाभित्रका ६० विद्यालयका करिब पाँच हजार विद्यार्थीले भाग लिने नगरप्रमुख कृष्णहरि महर्जनले जानकारी दिनुभयो ।

मङ्सिर १३ गतेदेखि २० गतेसम्म हुने प्रतियोगितामा फुटबल, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन, कराते, उसु, तेक्वान्दो, चेसलगायत १२ विधाका खेल खेलाइने उहाँले बताउनुभयो । खेलमा १८ वर्ष मुनिका बालबालिका सहभागी हुनेछन् ।  प्रतियोगिताको व्यवस्थापनका लागि राजेन्द्रप्रसाद तिमिल्सिनाको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरिएको छ ।

कूल २३४ पदकको लागि प्रतिस्पर्धा हुने प्रतियोगिताको उद्घाटन वडा नं ८ को पिपलडाँडा मैदानमा र समापन वडा नं ५ स्थित पृथ्वीनारायण माध्यमिक विद्यालय परिसरमा हुनेछ । 

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हासिल गर्नेलाई क्रमशः रु एक लाख, ६० हजार, ४० हजार र २० हजार नगद, शिल्ड र प्रमाणपत्र वितरण गरिने छ । 

तारकेश्वरको टोलीले राष्ट्रपति रनिङ शिल्डमा पछिल्ला दुई वर्ष काठमाडौँ जिल्लामा पहिलो स्थान हासिल गर्न सफल भएको थियो  ।