गजेन्द्र गुरुङ
खजुरा, वैशाख २६ गते । कोहलपुर गोल्डकपको चौथो संस्करणको ट्रफी आयोजक कोहलपुर रेसिङ साहारा क्लबले उचालेको छ । शनिबार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३ को विरूद्ध ४ गोलले हराउँदै रेसिङ साहाराले ट्रफी उचालेको हो ।
कोहलपुर–२ स्थित फुटबल मैदानमा सम्पन्न फाइनल खेल ट्राइब्रेकरमा पुगेको थियो । निर्धारित समयमा दुवै टिमले १–१ गोल गरेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो ।
खेल सुरू भएको ५ मिनेटमै रेसिङ साहारा क्लबका १८ नम्बर जर्सीका खेलाडी चेतन चौधरीले गोल गर्नुभएको थियो । दोस्रो हाफको पहिलो मिनेटमै नेपाल पुलिसका सञ्जीव लामाले उत्कृष्ट गोल फर्काउँदै नतिजा बराबर गराउनुभएको थियो । ९० मिनेटको खेलमा दुवै टिमले थप गोल गर्न नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।
ट्राइब्रेकरमा समेत नतिजा बराबर भएपछि खेल सडेन डेथमा पुगेको थियो । सडेन डेथमा रेसिङ साहाराका फागुराम चौधरी, चेतन चौधरी, सन्दिप केसी र सुजन मगरले गोल गरेर नतिजा आफ्नो पक्षमा पार्नुभएको थियो । नेपाल पुलिस क्लबका राम वाजी, सञ्जीव लामा र हेमन्त श्रेष्ठले मात्र गोल फर्काउनुभएको थियो ।
प्रतियोगिताका म्यान अफ द म्याच नेपाल पुलिसका सञ्जीव लामा घोषित हुनुभयो । उहाँले ट्रफीसहित नगद पाँच हजार रुपियाँ प्राप्त गर्नुभयो ।
प्रतियोगिताको विजेता कोहलपुर रेसिङ साहारा क्लबले ट्रफीसहित ८ लाख रूपियाँ नगद पुरस्कार प्राप्त गरेको छ । त्यसैगरी उपविजेतामै सीमित भएको नेपाल पुलिस क्लबले ट्रफीसहित ४ लाख नगद पुरस्कार हात पारेको छ ।
प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडी बन्दै कोहलपुर रेसिङ साहारा क्लबका मुकुन्द घर्ती मगरले ५१ हजार रूपियाँ प्राप्त गर्नुभयो । नेपाल पुलिस क्लबका शत्रुधन चौधरी बेष्ट गोलकिपर घोषित हुनुभयो । उहाँले १० हजार रुपियाँ प्राप्त गर्नुभयो ।
त्यसैगरी कोहलपुर रेसिङ साहारा क्लबका चेतन चौधरी वेष्ड डिफेन्डर, नेपाल पुलिस क्लबका राम वाजी वेष्ट मिड फिल्डर, नेपाल पुलिस क्लबका आशिष् थारू वेष्ट फरवार्ड, कोहलपुर रेसिङ साहारा क्लबका जनक केसी वेष्ट कोच, कोहलपुर रेसिङ साहारा क्लबका लक्ष्मण राना मगर राइजिङ प्लेयर अफ द टुर्नामेन्ट घोषित हुनुभयो । उहाँहरुले जनही १०–१० हजार रुपियाँ प्राप्त गर्नुभयो ।
प्रतियोगिताका विजेता र उपविजेतालाई कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले चेक, ट्रफी र मेडल प्रदान गर्नुभएको थियो । वैशाख १९ गतेदेखि सुरू भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।
यसअघि २०७९ मा सम्पन्न प्रथम कोहलपुर गोल्डकपको उपाधि एफसी क्लब क्यामरुन (क्यामरुन) ले जितेको थियो । दोस्रो संस्करणको ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप–२०८०’को उपाधि त्रिभुवन आर्मी क्लब र ‘तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप–२०८१’को उपाधि राइजिङ स्टार फुटबल क्लबले जितेका थिए ।
प्रतियोगितामा आयोजक रेसिङ सहारा क्लब (कोहलपुर, बाँके), पञ्चकोशी युवा क्लब (सुदूरपश्चिम), लालीगुराँस एसोसिएसन क्लब (पोखरा), सातदोबाटो युवा क्लब (ललितपुर), जस्ट जोन एफसी (नाइजेरिया), रोयल फुटबल क्लब (कर्णाली), राइजिङ स्टार क्लब (नवलपरासी) र विभागीय टिम नेपाल पुलिस क्लब सहभागी रहेका थिए ।