गाउँका अधिकांश मानिस बालबच्चा बोकेर भारत पलायन हुँदा बैतडीका ११४ वटा आधारभूत विद्यालय बन्द हुने भएका छन् ।
गोकर्ण दयाल
बैतडी, मङ्सिर ९ गते । द्वन्द्वका बेलासमेत नरित्तिएका गाउँ अहिले घरमा ताल्चा लगाएर धमाधम खाली हुन थालेका छन् । बेरोजगारीका कारण गाउँका अधिकांश मानिस बालबच्चा बोकेर भारत पलायन हुँदा बैतडीका ११४ वटा आधारभूत विद्यालय बन्द हुने भएका छन् । तथ्याङ्क अनुसार जिल्लाका सामुदायिक विद्यालयमा गत वर्षको तुलनामा यो वर्ष सात हजार ८५४ जना विद्यार्थी घटेका छन् ।
पुर्चौडी नगरपालिका–७, ऐराडी गाउँका दलित अभिभावक बालबच्चासहित रोजगारीका लागि भारत पलायन भएपछि २०५० सालमा स्थापना भएको लटिनाथ आधारभूत विद्यालय पूर्ण रूपमा बन्द भएको छ । यस्तै अवस्था अन्य पालिकामा पनि देखिएको छ । मेलौली नगरपालिका–४ को सुनौलो आवि तिताबै र भूमिराज आवि बेउराडी पनि त्यसै गरी बन्द भएका छन् । मेलौलीले यो वर्ष १० वटा आधारभूत विद्यालय मर्ज गरेको छ । आधारभूत तहदेखि कक्षा १२ सम्मको शिक्षाको अधिकार स्थानीय तहमातहत भए पनि आधारभूत तहमै विद्यार्थी सङ्ख्या नहुँदा जिल्लाका १० वटा स्थानीय तहका ११४ वटा विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् ।
यीमध्ये दोगडाकेदार गाउँपालिकामा २२ वटा विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् । डिलासैनी गाउँपालिकामा १५, पाटन नगरपालिकामा १५, मेलौली नगरपालिकामा १०, सुर्नया गाउँपालिकामा ११, सिगास गाउँपालिकामा ११, पञ्चेश्वर गाउँपालिकामा नौ, शिवनाथ गाउँपालिकामा चार, पुर्चौडी नगरपालिकामा छ र दशरथचन्द नगरपालिकामा १२ वटा आधारभूत तहका विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् ।
जिल्लामा कक्षा १ देखि ५ सम्मका ३०२, कक्षा ६ देखि ८ सम्मका ८९, कक्षा ९ देखि १० सम्मका ७५ विद्यालय र कक्षा ११ देखि १२ सम्म पढाइ हुने ६७ वटा विद्यालय गरी कुल ५३४ वटा सामुदायिक विद्यालय रहेका छन् । तथ्याङ्क अनुसार २०८१ सालमा जिल्लाका सामुदायिक विद्यालयमा ६९ हजार ८८२ जना विद्यार्थी अध्ययनरत थिए । शैक्षिक सत्र २०८२ मा ६२ हजार २८ जना अध्ययनरत छन् । एकै वर्षमा सात हजार ८५४ जना विद्यार्थी कहाँ गए ? कुनै आधिकारिक तथ्याङ्क छैन ।
शिक्षा विकास तथा समन्वय एकाइ बैतडीको तथ्याङ्क अनुसार आधारभूत तहमा मात्रै एक वर्षमा दुई हजार ३६४ जना विद्यार्थी घटेका छन् । गत वर्ष आधारभूत तह (कक्षा १–५) मा ३७ हजार ५२० जना अध्ययनरत थिए । शैक्षिक सत्र २०८२ मा ३५ हजार १५६ जना विद्यार्थी अध्ययनरत छन् ।
गत वर्ष कक्षा ६ देखि ८ सम्म १६ हजार ९४८ जना विद्यार्थी अध्ययनरत थिए । यो वर्ष एक हजार २७९ जना विद्यार्थी घटेर १५ हजार ६७९ जना विद्यार्थी अध्ययनरत छन् । तथ्याङ्क अनुसार कक्षा ९ देखि १२ सम्म एकै वर्षमा चार हजार २२१ जना विद्यार्थी घटेका छन् । गत वर्ष कक्षा ९ देखि १२ सम्म १५ हजार ४१४ जना विद्यार्थी अध्ययनरत रहेकामा यो वर्ष ११ हजार १९३ जना विद्यार्थी अध्ययनरत छन् । शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले सबैभन्दा बढी आधारभूत तह र कक्षा ९ देखि १२ सम्मका विद्यार्थी वार्षिक हजारौँका दरले घट्ने क्रम बढेको बताउनुभयो ।
शिक्षामा वार्षिक चार अर्ब खर्च
जिल्लाको दशरथचन्द नगरपालिकाले शिक्षा क्षेत्रमा वार्षिक ४० करोड रुपियाँ खर्च गर्दै आएको छ तर यहाँका १२ वटा आधारभूत तहका विद्यालयमा विद्यार्थी नै छैनन् । त्यसै गरी पाटन नगरपालिकाले पनि वार्षिक ३० करोडभन्दा बढी खर्च गर्दै आएको छ । पाटनका १४ वटा विद्यालयमा विद्यार्थी नै छैनन् । जिल्लाका चार नगरपालिका र छ वटा गाउँपालिकाले शिक्षा क्षेत्रमा वार्षिक सालाखाला चार अर्ब रुपियाँभन्दा बढी खर्च गर्दै आएका छन् ।
क्याम्पस पनि रित्तिँदै
सामुदायिक विद्यालयमा विद्यार्थी घट्दा जिल्लामा रहेका १४ वटा क्याम्पसमा पनि विद्यार्थी सङ्ख्या घट्दै गएको छ ।
जिल्ला सदरमुकाम गोठालापानीमा रहेको जगन्नाथ बहुमुखी क्याम्पसमा पछिल्ला वर्षमा ५० प्रतिशतभन्दा बढी विद्यार्थी घटेको क्याम्पस प्रमुख डा. सुरेन्द्र बमले बताउनुभयो । उहाँले भन्नुभयो, “२०७५ सालसम्म पाँच सय विद्यार्थी रहेकोमा अहिले करिब दुई सय विद्यार्थी भर्ना भएका छन् । नियमित अध्ययन गर्न आउनेको सङ्ख्या ५० प्रतिशत पनि छैन ।”