• ९ मंसिर २०८२, मङ्गलबार

सरकारको प्राथमिकता सुशासन र चुनाव : मन्त्री खरेल

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल । फाइल तस्बिर

चरिकोट (दोलखा), मङ्सिर ८ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारको मुख्य प्राथमिकतामा सुशासन, भ्रष्टाचार नियन्त्रण र चुनाव रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ दोलखाद्वारा आज यहाँ आयोजित भेटघाट कार्यक्रममा उहाँले राज्य संयन्त्रलाई सरकारले हस्तक्षेप नगर्ने तर प्रभावकारी बनाउन मद्दत गर्ने बताउनुभयो । 

मन्त्री खरेलले सुशासनका लागि खर्च कटौती गर्ने नीतिसहित काम गरिरहेको बताउनुभयो । प्रधानमन्त्री सुशीला कार्कीले कम खर्च र मितव्ययिता अपनाउँदै काम गर्ने र  ‘जेनजी’ को माग पूरा गर्न स्पष्ट निर्देशन दिएको उहाँले बताउनुभयो । 

मन्त्री खरेलले देशको राजधानी, भारत र चीनबाट समेत नजिक भएर पनि दोलखाको विकास नभएको भन्दै यसमा राजनीतिक खिचातानी मुख्य कारण रहेको धारणा राख्नुभयो । अब पार्टीगत स्वार्थ र राजनीतिभन्दा माथि उठेर जिल्ला मात्रै होइन, देश विकासमा लाग्नुपर्ने उहाँको भनाइ थियो। 

“दोलखा जलविद्युत्, हिमाल, धार्मिकस्थल, जल, जङ्गल, जडीबुटीले भरिपूर्ण हुँदाहुँदै बाह्य पर्यटकको थलो किन बन्न सकेन ? उत्तर खोज्दा सबैले म म भन्नुपर्ने बेला आएको छ । यो कुरालाई राजनीतिभन्दा माथि उठेर सोच्ने र दोलखालाई शिरमाथि राखेर काम गर्न आवश्यक छ” मन्त्री खरेलले भन्नुभयो । रासस