• ९ मंसिर २०८२, मङ्गलबार

प्रम सचिवालय कम जनशक्तिबाटै सञ्चालित

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ९ गते ।  प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयमा कर्मचारी नियुक्तिको विषयमा प्रकाशित÷प्रसारित सामग्रीबारे गम्भीर ध्यानाकर्षण भएको उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले सोमबार विज्ञप्ति जारी गरी जेनजी आन्दोलनको बलमा स्थापित सरकारका प्रधानमन्त्रीको सचिवालय कम जनशक्तिबाटै सञ्चालित रहेको बताउनुभएको छ । उहाँले प्रधानमन्त्री मितव्ययिता, पारदर्शिता र जवाफदेहिताका सन्दर्भमा जिम्मेवार र संवेदनशील रही सोही अनुरूपको आचरण र व्यवहार गर्दै आउनुभएको उल्लेख गर्नुभएको छ । विज्ञप्तिमा राज्यकोषमा कमभन्दा कम भार परोस् र छरितो रूपमा काम गर्न सकियोस् भनेर निकै कम जनशक्तिबाट प्रधानमन्त्रीको सचिवालय सञ्चालन हुँदै आएको प्रष्ट्याउनुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, “कार्यविधि अनुसार सात जना सल्लाहकार राख्न सक्ने दरबन्दी भए पनि अहिले दुई जना मात्र नियुक्त हुनुभएको छ । १९ जना विज्ञ कर्मचारी राख्न सक्ने दरबन्दी भए पनि चार जना मात्र नियुक्त गरिएको छ, जसमध्ये एक जना अवैतनिक हुनुहुन्छ । स्वकीय सचिवालयमा ४१ जनाको दरबन्दी रहे पनि १४ जना मात्र कार्यरत हुनुहुन्छ ।”

सचिवालयका लागि कुल ६७ जनाको दरबन्दी रहेको पनि विज्ञप्तिमा जनाइएको छ । विगतका सरकारले प्रायः ती सबैमा पदपूर्ति गरी आएकामा अहिले प्रधानमन्त्रीले अत्यन्त जरुरी र नगरी नहुने कामका लागि मात्र २० जनाको सचिवालय बनाउनुभएको जनाइएको छ । प्रधानमन्त्रीको निवासमा रही नजिकबाट सहयोग गर्नुपर्ने र चौबिसै घण्टा पनि सँगै रहेर खट्नुपर्ने भएकाले सुरक्षाका कारणबाट समेत विश्वासिलो, भरपर्दो र रातदिन खटिएर काम गर्न सक्ने व्यक्तिको कानुनसम्मत नियुक्तिलाई लिएर प्रश्न उठाई अन्यथा व्याख्या नगर्न विज्ञप्तिमा अनुरोध गरिएको छ ।

नियुक्तिहरूमा प्रमुख स्वकीय सचिवलाई लाञ्छना लगाई अनावश्यक रूपमा जोडिएको र कतै थर तथा कतै जातीय पृष्ठभूमि मिलेकै आधारमा जबरजस्ती नातेदार भनी प्रचार गरिएको देखिएकाले त्यसो नगरिदिन हुनसमेत विज्ञप्तिमा अनुरोध गरिएको छ ।

जेनजी आन्दोलनको मर्म र भावना अनुसार सुशासन कायम गर्दै स्वच्छ, निष्पक्ष, भयरहित ढङ्गले निर्वाचन गर्न यो सरकार लागिपरेका बेला यसबाट ध्यान भङ्ग गराउने उद्देश्यले आएका सामग्रीमा विश्वास नगर्न समेत सचिवालयले सबै पक्षलाई अनुरोध गरेको छ ।