गर्भावस्था एक सुन्दर यात्रा हो, प्रकृतिको अद्भुत उपहार हो, जसले नारी जीवनलाई पूर्णता प्रदान गर्छ । यस अवस्थामा हुने शारीरिक, मानसिक र भावनात्मक परिवर्तन यस यात्राका सुन्दर पाइला हुन् । यसले स्वास्थ्यका केही चुनौतीले यो यात्रा जोखिमपूर्ण बनाउन सक्छन् । त्यसमध्ये एक गम्भीर चुनौती हो– गर्भावस्थाजन्य उच्च रक्तचाप । नेपाली समाजमा यसलाई ‘गर्भावस्थाको दौरानमा रक्टदाब बढ्नु’ भनेर चिनिन्छ । यसलाई मेडिकल भाषामा ‘जेस्टेसनल हाइपरटेन्सन’ भनिन्छ । यो समस्या देखिएमा घबराउनुको सट्टा सही ज्ञान र सचेतनाबाट यसलाई सफलतापूर्वक व्यवस्थापन गर्न सकिन्छ । यसले गर्भवती महिला र उनको शिशु दुवैको ज्यानलाई खतरा पुग्न सक्ने भएकाले यसबारे सबैले थाहा पाउनु जरुरी छ ।
गर्भावस्थाजन्य उच्च रक्तचाप भन्नाले गर्भावस्थाको २० औँ हप्तापछि देखा परेको र प्रसव पछि सामान्यतया आफैँ ठिक हुने उच्च रक्तचापलाई बुझिन्छ । यो प्रिक्लेम्प्सिया जस्तो गम्भीर अवस्थासँग भ्रमित हुन सकिन्छ तर यसमा पिसाबमा प्रोटिनको मात्रा सामान्य हुन्छ । यो अवस्था प्रायः गर्भावस्थाको दोस्रो त्रैमासिकमा देखा पर्छ । नियमित प्रसवपूर्व जाँच नगरिएसम्म यसको पत्ता लाग्दैन किनभने धेरै महिलामा यसको कुनै स्पष्ट लक्षण नदेखिने गर्छ । यो अवस्थामा गर्भवती महिलाको ब्लड प्रेसर सामान्यभन्दा बढी हुन्छ अर्थात् सिस्टोलिक १४० वा डायस्टोलिक ९० भन्दा बढी जसले गर्भावस्थाको जटिलतालाई जन्म दिन्छ । जस्तै : गर्भवती महिलाको स्वास्थ्य, गर्भावस्थाको प्रक्रिया, प्रसूति र प्रसवपछिको अवस्थामा गम्भीर असर । त्यसैले यसलाई हल्का मानेर बेवास्ता गर्नु हुँदैन ।
कारण
गर्भावस्थाजन्य उच्च रक्तचापको स्पष्ट कारण अझै पत्ता लागेको छैन तर वैज्ञानिक अध्ययनले यो नालको असामान्य रूपले विकसित हुने र सानो साँघुरो रक्त नलीहरू बनाउने प्रव्रिmयासँग सम्बन्धित रहेको देखाएको छ । यो नाल आमाबाट बच्चालाई खाना र अक्सिजन पु¥याउने पाइप हो । जब यो पाइप ठिकसँग नबन्न वा सानो र साँघुरो हुन्छ तब बच्चातिर रगत पु¥याउन गाह्रो हुन्छ । यो समस्या देख्दै आमाको शरीरले ब्लड प्रेसर बढाउने हर्मोनहरू छाड्न थाल्छन् ताकि साँघुरो पाइपमा पनि रगत पुगोस् । यसले आमाको पूरै शरीरको ब्लड प्रेसर नै बढाइदिन्छ । केही जोखिमका कारकले यसको सम्भावना बढाउँछन् जस्तैः पहिलो गर्भावस्था, मोटोपन, बढी उमेर (३५ वर्षभन्दा माथि) वा कम उमेर (२० वर्षभन्दा कम) मा गर्भधारण, धेरै सन्तान जन्माउने, गर्भावस्थामा जुम्र्याहा, पहिले नै उच्च रक्तचाप, मधुमेह र मिर्गौला रोगको समस्या आदि ।
लक्षण
यसका लक्षण बिस्तारै वा अचानक देखा पर्न सक्छन् । यसमा केही दिन वा एक हप्ताभित्र नै अनियमित रूपले तौल बढ्ने, हात, खुट्टा र अनुहारमा सामान्यभन्दा बढी सुनिने देखिन्छ । यसबाहेक लगातार र दबाब जस्तो तीव्र टाउको दुखाइ, आँखाको दृष्टिमा हुने परिवर्तन जस्तै धमिलोपन, धब्बा देखिनु, बत्ती चम्किनु वा अस्थायी अन्धो हुनु पनि सङ्केत हुन सक्छ । पेटको माथिल्लो भाग, पिठिउँको मुनि र दायाँ पट्टि चुर्कने वा तीक्ष्ण दुखाइ हुन सक्छ जुन प्रायः नालसँग सम्बन्धित हुन्छ । बारम्बार वान्ता लाग्नु, चक्कर आउनु, सास फेर्न अप्ठ्यारो लाग्नु, र सामान्यभन्दा धेरै कम मात्रामा पिसाब आउनु पनि गम्भीर अवस्थाका सूचक हुन् । धेरैजसो महिलामा ‘साइलेन्ट किलर’ जस्तै कुनै स्पष्ट लक्षण नदेखिएको हुनाले यसको पत्ता लगाउन एक मात्र विश्वसनीय उपाय नियमित प्रसवपूर्व जाँचमा रक्तचाप नाप्ने नै हो । कुनै पनि शङ्कास्पद लक्षण देखा परेमा तुरुन्त चिकित्सकीय सहयोग लिनु अत्यावश्यक हुन्छ ।
निदान
गर्भावस्थाको उच्च रक्तचापको निदान गर्न डाक्टरले केही चरणहरू अपनाउँछन् । पहिलो, गर्भावस्थाको २० हप्तापछि कम्तीमा चार घण्टाको फरकमा दुई पटक रक्तचाप नापिन्छ । दुवै पटक सिस्टोलिक प्रेसर १४० वा डायास्टोलिक प्रेसर ९० भन्दा बढी आएमा यो उच्च रक्तचाप मानिन्छ । त्यसपछि यो केवल उच्च रक्तचाप हो कि गम्भीर प्रिक्लेम्प्सिया हो भनेर छुट्याउन डाक्टरले पिसाब जाँच गरेर प्रोटिन हेर्छन्, रगत जाँच गर्छन् र गर्भवतीको लक्षणहरूको बारेमा सोध्छन् । पिसाबमा प्रोटिन नआएमा मात्र साधारण गर्भावस्थाको उच्च रक्तचापको पुष्टि हुन्छ । उच्च रक्तचाप साथै पिसाबमा पनि प्रोटिन देखिएमा ‘प्रिक्लेम्प्सिया’ जुन अझै गर्भावस्थाजन्य खतरनाक स्थिति हो, देखा पर्छ ।
जटिलता
गर्भावस्थामा हुने उच्च रक्तचापले आमा र शिशु दुवैका लागि गम्भीर स्वास्थ्य जोखिम सिर्जना गर्छ । आमामा यसले ‘प्रिक्लेम्प्सिया’ सुरु गर्न सक्छ–एक अवस्था जसमा रक्तचाप बढेर पिसाबमा प्रोटिन आउँछ, शरीर सुन्निने, तीव्र टाउको दुखाइ र दृष्टिमा समस्या हुन्छ । नियन्त्रण हुनै भएन भने यो ‘इक्लेम्प्सिया’ मा विकसित हुन सक्छ, जसले जानलेवा मिर्गीको दौरा ल्याउँछ । थप जोखिममा नाल चुट्टिएर गम्भीर रक्तस्राव हुने, स्ट्रोक, हृदयघात र हेल्प सिन्ड्रोम पर्छन् ।
शिशुमा यसले नालमा रक्त प्रवाह कम गरेर पोषण र अक्सिजन आपूर्तिमा बाधा पार्छ । यसको परिणाम गर्भमै शिशुको वृद्धि रोकिने, कम जन्म तौल र समयभन्दा अगाडि जन्म हुने हुन सक्छ । अक्सिजनको कमीले फोक्सोको विकास प्रभावित गर्न सक्छ, जसले गर्दा जन्मेपछि सास फेर्न गाह्रो हुन्छ र नियोनेटल आइसियुको लामो समयावधि आवश्यक पर्छ । सबैभन्दा गम्भीर अवस्थामा गर्भमै शिशुको मृत्यु हुने सम्भावना बढ्छ । यसै कारण यस अवस्थाको नियमित निगरानी, समयमै निदान र उचित चिकित्सकीय हस्तक्षेप गर्नु दुवैको ज्यान बचाउन र दीर्घकालीन स्वास्थ्य सुनिश्चित गर्न अपरिहार्य हुन्छ ।
उपचार
गर्भकालीन उच्च रक्तचापको उपचारको मूल लक्ष्य गर्भावस्थालाई सुरक्षित रूपमा पूरा गर्दै आमा र शिशु दुवैको स्वास्थ्य जोखिम न्यूनीकरण गर्नु हो । उपचार रणनीति रक्तचापको गम्भीरता, गर्भको समय र शिशुको स्वास्थ्य स्थितिमा आधारित हुन्छ । प्रारम्भिक चरणमा चिकित्सकले गर्भावस्थाका लागि सुरक्षित मानिने रक्तचाप कम गर्ने विशेष औषधी जस्तै, लाबेटालोल, हाइड्रालाजिन आदि सुरु गर्न सक्छन् । जीवनशैलीमा समायोजन जस्तै बायाँपट्टि पल्टिएर पूर्ण विश्राम, नुनको सेवनमा कठोर नियन्त्रण र तनाव व्यवस्थापन पनि महìवपूर्ण हुन्छ ।
आमा र शिशुको नियमित रूपमा घनिष्ठ निगरानी गरिन्छ, जसमा आमाको रक्तचाप र पिसाब परीक्षण साथै अल्ट्रासाउन्डमार्फत शिशुको वृद्धि, गतिविधि र गर्भाशयमा पानीको मात्रा मूल्याङ्कन समावेश छ । अवस्था बिग्रँदै जान्छ, प्रिक्लेम्प्सिया विकसित हुन्छ वा शिशुको वृद्धिमा बाधा हुन थाल्छ भने महिलालाई तुरुन्त अस्पताल भर्ना गरिन्छ, जहाँ अधिक गहनिको उपचार र निरीक्षण हुन्छ । उपचारको अन्तिम र सबैभन्दा निर्णायक कदम भनेको समयमै प्रसूति गराउनु हो । गर्भकाल ३७ हप्ता पुगिसकेको छ वा अवस्था गम्भीर रूपमा बिग्रिएको छ भने डाक्टरहरूले प्रेरित प्रसव वा सिजेरियन सेक्सनद्वारा अपरेसन गरी गर्भावस्था समाप्त गर्ने निर्णय गर्न सक्छन् । जसले गर्दा दुवै आमा र शिशुको हितमा दीर्घकालीन जटिलताबाट बच्न सकिन्छ ।
रोकथामको उपाय
गर्भावस्थाको उच्च रक्तचाप रोकथाम गर्ने उपायहरू गर्भधारण गर्ने निर्णयसँगै सुरु हुनु पर्छ । गर्भधारण पूर्वको स्वास्थ्य जाँच महत्वपूर्ण छ, जसले जोखिमको आकलन गर्न मद्दत गर्छ । विशेष गरी पहिले नै उच्च रक्तचाप, मधुमेह वा मोटोपन भएका महिलाले डाक्टरको सल्लाह लिनु पर्छ । गर्भावस्था कालमा नियमित प्रसवपूर्व जाँच अत्यावश्यक छ, यसले समयमै समस्या पत्ता लगाउन सहयोग गर्छ । सन्तुलित आहार लिनु पर्छ जसमा प्रोटिन, क्याल्सियम र पोटासियमयुक्त खानेकुरा जस्तै दुध, दही, हरियो सागसब्जी, फलफूल प्रशस्त मात्रामा लिनु पर्छ र नुन, चिल्लो तथा प्रशोधित खानेकुरा कम गर्नु पर्छ । शरीरको तौल नियन्त्रणमा राख्नु पर्छ किनकि मोटोपन एक प्रमुख जोखिम कारक हो ।
शरीरलाई सक्रिय राख्न नियमित हल्का व्यायाम, योग वा ३० मिनेट दैनिकी हिँड्नु पर्छ, यसले रक्तसञ्चार र स्वास्थ्यलाई राम्रो राख्छ । धूमपान र मदिरा सेवनले पूर्ण रूपमा टाढा रहनु पर्छ । विषैलो व्यसन जस्तै धूमपान र मदिरा सेवनले नालमा रक्त प्रवाह घटाउँछ, त्यसैले यसबाट पूर्ण रूपमा टाढा रहनु जरुरी छ । मानसिक स्वास्थ्यलाई पनि उत्तिकै महìव दिनु पर्छ, तनाव कम गर्न पर्याप्त निद्रा, ध्यान र आराम गर्ने समय निकाल्नु पर्छ । डाक्टरले सुझाव दिए अनुसार आइरन र क्याल्सियम सप्लिमेन्टको चक्की नियमित लिनु पर्छ । पर्याप्त पानी तथा तरल पदार्थ सेवन गर्नु पर्छ ।
पहिलेको गर्भावस्थामा पनि यस्तो समस्या भएको भए डाक्टरलाई पूर्व इतिहासबारे स्पष्ट जानकारी दिनु पर्छ, जसले गर्दा विशेष निगरानी र सुरक्षात्मक उपाय जस्तै कम मात्रामा एस्पिरिन चक्की सुरु गर्न सकिन्छ । यी सबै जीवनशैलीका साधारण तर वैज्ञानिक रूपमा प्रमाणित उपायहरू अपनाएर गर्भवती महिलाले यस गम्भीर अवस्थाको सम्भावना धेरै हदसम्म कम गर्न सक्छिन्, जसले गर्दा सुरक्षित गर्भावस्था र स्वस्थ शिशुको प्रसव सम्भव हुन्छ ।
गर्भावस्थाको उच्च रक्तचाप जस्तो साइलेन्ट किलरबाट हुने जोखिम केवल गर्भवती महिला मात्र वहन गर्दिनन्, यो सम्पूर्ण परिवार र समाजले बाँड्नुपर्ने सामाजिक स्वास्थ्य चुनौती हो । यो चुनौती सामना गर्न हामीले आफ्नो घर, कार्यस्थल र समुदायमा आफ्नो आमा, बहिनी र श्रीमतीको यस खतराबारे खुला रूपमा चर्चा गर्न, जागरूकता फैलाउन सहयोगी र सचेत वातावरण बनाउन सक्नु पर्छ । हाम्रो सामूहिक चेतना, संवाद र कार्य नै आमा र अबोध शिशुको ज्यान बचाउने पहिलो कदम हो ।