• १६ फागुन २०८२, शनिबार

सुशासन र विकासको मागमा रुपन्देही–४ का मतदाता

blog

निर्वाचनका विषयमा छलफल गर्दै रुपन्देहीको कोटहीमाई गाउँपालिकाका मतदाता । तस्बिर : लक्ष्मण पौडेल

लक्ष्मण पौडेल
भैरहवा, फागुन १६ गते ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा रुपन्देही क्षेत्र नं. ४ का मतदाताले आफ्ना प्राथमिकता र अपेक्षा स्पष्ट रूपमा व्यक्त गर्न थालेका छन्। घरदैलो, टोल–बैठक तथा चिया चौतारीका छलफलमा यसपटकको निर्वाचन सुशासन, सामाजिक सुरक्षा, कृषि सुधार र आधारभूत पूर्वाधार विकासका मुद्दामा केन्द्रित देखिएको छ।

विशेषगरी ज्येष्ठ नागरिक मतदाताका लागि सामाजिक सुरक्षा भत्ता प्रमुख चासोको विषय बनेको छ। नियमित रूपमा प्राप्त हुँदै आएको भत्ताले दैनिकी चलाउन सहयोग पुगेको उनीहरूको भनाइ छ। कोटहीमाई गाउँपालिका–१ का ज्येष्ठ मतदाता राजमन कोहारले विगतदेखि निरन्तर पाइँदै आएको सुविधाले पुरानो नेतृत्वप्रति भरोसा बढाएको बताउनुभयो। उहाँका अनुसार चुनावी भाषणभन्दा व्यवहारमा प्राप्त सुविधा नै मत निर्धारणको मुख्य आधार बन्ने गरेको छ।

युवा तथा मध्यम उमेर समूहका मतदाता भने कृषि सुधार र नेतृत्वको इमानदारितामा बढी जोड दिइरहेका छन्। मल, बिउ र सिँचाइको सहज उपलब्धता, किसानमैत्री नीति तथा प्रतिबद्धता कार्यान्वयन गर्न सक्ने नेतृत्व उनीहरूको प्राथमिकतामा परेको छ। अवसरवाद, चाप्लुसी र दोहोरो अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै उनीहरूले नेताको व्यवहार र कार्यशैलीलाई नै मतको आधार बनाउने संकेत गरेका छन्।

ग्रामीण क्षेत्रका मतदाताले वर्षौँदेखि दोहोरिँदै आएका समस्या समाधान नहुँदा निराशा व्यक्त गरेका छन्। सडक, खानेपानी र विद्युत्जस्ता आधारभूत पूर्वाधारमा उल्लेखनीय सुधार हुन नसकेको गुनासो उनीहरूको साझा आवाज बनेको छ। लामो समयदेखि ठूला नेताहरू निर्वाचित भए पनि गाउँको अवस्थामा ठोस परिवर्तन नआएको स्थानीय प्रह्लाद लोधले बताउनुभयो। “धेरै प्रधानमन्त्री आए र गए, तर सडकको अवस्था अझै उस्तै छ,” उहाँले गुनासो गर्नुभयो।
कोटहीमाई गाउँपालिका–२ का हरिप्रसाद पासीले भने अझै मत निर्धारण नगरेको बताउनुभयो। गाउँको माहोल, उम्मेदवारको प्रस्तुति र स्थानीय छलफलका आधारमा अन्तिम निर्णय लिने उहाँको भनाइ छ। मतदानलाई व्यक्तिगत निर्णयको विषय ठान्दै उहाँले समय आएपछि विवेक प्रयोग गर्ने बताउनुभयो।
कृषिमा निर्भर मतदाताले विशेषगरी मल, बिउ र सिँचाइ व्यवस्थापन प्रभावकारी बनाउन सक्ने तथा स्पष्ट दृष्टिकोण भएको नेतृत्वको अपेक्षा गरेका छन्। “अघिल्लो दिन एउटा र भोलिपल्ट अर्को कुरा गर्ने नेता होइन, स्पष्ट सोच र इमानदार व्यवहार भएको व्यक्ति चाहिन्छ,” स्थानीय प्रभु पासीले भन्नुभयो।
यसपटकको निर्वाचनमा ज्येष्ठ मतदाताको झुकाव सामाजिक सुरक्षा सुविधाको निरन्तरतामा केन्द्रित देखिँदा युवा र किसान वर्ग दीर्घकालीन विकास, सुशासन र परिवर्तनको अपेक्षामा छन्। सुविधा र सुधारबीचको यो दोधारले रुपन्देही–४ को चुनावी परिणाम कता मोडिने भन्ने चासो बढाएको छ।