• ६ कात्तिक २०८१, मङ्गलबार

दार्चुलाको प्रतिनिधिसभामा बडू र प्रदेश सभामा धामी निर्वाचित

blog

प्रतिनिधिसभामा दिलेन्द्रप्रसाद बडू र प्रदेशसभामा बिक्रमसिंह धामी र मानबहादुर धामी । तस्बिर : लोकेन्द्र जोशी/दार्चुला ।

लोकेन्द्र जोशी
दार्चुला, मङ्सिर ८ गते ।
 दार्चुलाबाट नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडू दुई हजार १३४ मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । बडूले २८ हजार ५१५ मत ल्याउँदै एमालेका गणेशसिंह ठगुन्नालाई पराजित गर्नु भएको हो । एमालेका ठगुन्नाले २६ हजार ३८१ मत पाउनुभयो ।

दार्चुलामा प्रतिनिधिसभाका लागि ५७ हजार ६६३ मत खसेको थियो । नौँ जना उम्मेदवार रहेकोमा राप्रपाका नरेन्द्रसिंह धामीले ३८०, राष्ट्रिय स्वतन्त्र पार्टीका रवीन्द्र सिंह धामीले १९८, नेपाल मजदुर किसान पार्टीका विश्वराम दुवालले ७८, नागरिक उन्मुक्ति पार्टीका तारादत्त जोशीले ६५, नेश्नलिष्ट पिपल्स पार्टीका धर्म सिंह दयालीले ४७, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रमेश राम लुहारले ४६ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका देवबहादुर बमले १३ मत प्राप्त गर्नुभयो ।

दार्चुलाका दुवै प्रदेशसभा क्षेत्रमा पनि गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । प्रदेश सभा क्षेत्र नम्बर (क) मा नेपाली कांग्रेसका विक्रमसिंह धामी र प्रदेश सभा क्षेत्र नम्बर (ख) मा नेकपा (माओवादी केन्द्र)का मानबहादुर धामी विजयी हुनुभएको हो ।

प्रदेश सभा क्षेत्र नम्बर (क) मा वाम गठबन्धनका साझा उम्मेदवार बिक्रमसिंह धामी नेकपा (एमाले)का उम्मेदवार हरदेब जोशीलाई एक ६७६ मतान्तरले पराजित गर्दै विजयी हुनुभयो । निर्वाचित धामीले १५ हजार १२७ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका जोशीले १३ हजार ४५१ मत प्राप्त गर्नुभयो । यस्तै, स्वतन्त्र उम्मेदवार शंकरसिंह धामीले एक हजार ४१८, राप्रपाका चक्र बहादुर बमले ३२७ र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नन्दी कामीले ८५ मत प्राप्त गर्नुभयो ।

प्रदेश सभा क्षेत्र नम्बर (ख) मा बाम गठबन्धनका साझा उम्मेदवार मानबहादुर धामी एमालेका उम्मेदवार रामदत्त जोशीलाई एक हजार ३१५ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री समेत रहनुभएका माओवादी नेता धामीले १३ हजार १७१ मत प्राप्त गर्दै विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका जोशीले ११ हजार ८५६ मत प्राप्त गर्नुभयो । धामी २०७४ सालमा पनि यसै क्षेत्रबाट प्रदेश सभामा निर्वाचित हुनुभएको थियो । यस्तै राप्रपाका अमर सिंह धामीले ३१७ र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गगन ठगुन्नाले १७३ मत प्राप्त गर्नुभयो ।