• १२ पुस २०८१, शुक्रबार

सुनसरी क्षेत्र नं. ४ बाट सञ्चारमन्त्री कार्की विजयी

blog

नेपाली कांग्रेसका नेता एवम् सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की

सचिन पोखरेल \जयकृष्ण यादव

सुनसरी, मङ्सिर १५ गते । नेपाली कांग्रेसका नेता एवम् सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी जिल्लाको क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । 

निर्वाचन अधिकृतको कार्यालयले दिएको अन्तिम मत परिणाम अनुसार मन्त्री कार्कीले ३०  हजार ४८३ मत प्राप्त गर्नुभएको छ । उहाँ ११२ मतको अन्तरले विजयी हुनुभएको हो । 

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३०  हजार ३७१ मत प्राप्त गर्नुभएको छ । 

नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नु भएको छ । 

उहाँ २०७४ सालमा प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको नेतृत्वमा रहेको सरकारमा अर्थमन्त्रीसमेत भइसक्नुभएको छ । 

मन्त्री कार्कीले २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं. ४ बाटै विजय हासिल गर्नुभएको हो । विद्यार्थी अवस्थादेखि नै राजनीतिमा सक्रिय रहनु भएका नेता कार्की  नेपाली कांग्रेसको केन्द्रीय सदस्य पनि हुनुहुन्छ । 

यो समाचार तयार पार्दासम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयले विजयी भएको औपचारिक प्रमाणपत्र भने प्रदान गर्न बाँकी छ । समानुपातिकतर्फको समेत मतगणना सकिएपछि विजयी उम्मेदवारहरूलाई प्रमाणपत्र वितरण गर्ने तयारी भइरहेको जानकारी निर्वाचन अधिकृतको कार्यालयले दिएको छ ।