• ८ मंसिर २०८१, शनिबार

ईश्वर पोखरेल पराजित

काठमाडौं ५ मा प्रदीप पौडेलको उदय : पाँच हजार मतान्तरले विजयी

blog

विजयी भएपछि प्रफुल्ल मुद्रामा नेता पौडेल । तस्बिर : कविन अधिकारी, गोरखापत्र

काठमाडौं, मङ्सिर ६ गते । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेल विजयी हुनुभएको छ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल पहिलो पटक सांसद पदमा निर्वाचित हुनुभएको हो । 

काठमाडौं ५ मा खसेको ४५ हजार ९८७ मतमध्ये पौडेल  १५ हजार २३७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका पोखरेलले १० हजार १७२ मत पाउनुभएको छ । ५ हजार  ६५ मत अन्तरले पाैडेल विजयी हुनुभएकाे हाे । निर्वाचन अधिकृत ऋतबहादुर पुलामी मगरले अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ भन्नुभयो ।  

नेता पोखरेल (एमाले) का वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री हुनुहुन्छ । उहाँले यसअघि यही क्षेत्रबाट विजय हासिल गर्नुभएको थियो । उहाँ पूर्व रक्षामन्त्री पनि हुनुहुन्छ । 

पौडेल विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा आउनुभएको हो । उहाँ अमृत क्याम्पसबाट नेपाल विद्यार्थी नेताका रूपमा उदाउनुभएको हो । उहाँ स्ववियु सभापति, नेपाल विद्यार्थी सङ्घको उपाध्यक्षसहित केन्द्रीय अध्यक्ष हुनुभयो । 

नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले उहाँलाई केन्द्रीय सदस्यमा नियु्क्त गर्नुभएको थियो भने १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँ २०६२–६३ सालको जनआन्दोलन २०६३ मा अग्रपङ्क्तिमा रहेका युवाहरूमध्ये एक प्रभावशाली विद्यार्थी नेता हुनुहुन्थ्यो ।