काठमाडौँ, वैशाख १८ गते । नेपाल कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारले जनताको संवैधानिक अधिकार खोस्न लागेको आरोप लगाउनुभएको छ । मजदुर आन्दोलनको इतिहास र वर्तमान राजनीतिक अवस्थाबारे चर्चा गर्दै नेता नेपालले सरकारका पछिल्ला कदमहरू जनविरोधी र मजदुरविरोधी देखिएको टिप्पणी गर्नुभएको हो ।
कार्ल माक्र्सको ‘विश्वका श्रमजीवीहरू एक होऔँ’ भन्ने उद्घोषलाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री नेपालले वर्तमान सरकार गठन भएको १०० दिन पनि पूरा नहुँदै गलत लक्षणहरू देखिएको दाबी गर्नुभयो । सरकारले सुकुम्बासी समस्याको उचित विकल्प नखोजिकन दमन गरेको, ट्रेड युनियन अधिकारमाथि अङ्कुश लगाउन खोजेको र अध्यादेशमार्फत शासन गर्न खोजेकोमा उहाँले कडा आपत्ति जनाउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “देश बनाउने चाहना छ भने त्यो सबैको साझा हुनुपर्छ । तथ्याङ्क नलिई र वैकल्पिक व्यवस्था नगरी सुकुम्बासीलाई हटाउने कार्य जायज छैन । सरकारले आफ्ना कदमहरू नसच्याए मजदुर वर्गले पुनः सङ्घर्षको नेतृत्व गर्नेछ ।”
नेता नेपालले नेपालको भूराजनीतिक अवस्था संवेदनशील रहेको उल्लेख गर्दै असंलग्न परराष्ट्र नीतिको महत्त्वमाथि प्रकाश पार्नुभयो । “हामी दुई ठुला छिमेकीको बिचमा छौँ । हामी कुनै पनि सैन्य गठबन्धनमा सामेल हुन सक्दैनौँ र कसैको ‘पुच्छर’ पनि बन्न सक्दैनौँ,” उहाँले भन्नुभयो । राष्ट्रिय स्वाभिमानको रक्षाका लागि सबै नागरिक सचेत हुनुपर्नेमा उहाँको जोड थियो ।
प्रतिकूल राजनीतिक अवस्थामा पनि निराश नहुन आग्रह गर्दै नेता नेपालले हारपछि जित अवश्य हुने र मजदुर वर्गले समाजका सबै तहका समस्या बुझेर परिवर्तनको नेतृत्व गर्नुपर्ने बताउनुभयो । उहाँले देशमा बढ्दो बेरोजगारी र युवाहरूको पलायनप्रति चिन्ता व्यक्त गर्दै शिक्षालाई सीप र रोजगारीसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।