अमरराज नहर्की
तनहुँ, वैशाख १८ गते । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुलमा स्थानीयको चर्को विरोधपछि पुनः मोटरसाइकल सञ्चालन गर्न दिइएको छ । ४४ वर्ष पुरानो पुल जीर्ण बनेको भन्दै जिल्ला प्रशासन कार्यालयले गत सातादेखि लगाएको रोक नागरिक दबाबपछि बुधबार रातिदेखि हटाइएको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पुल संरक्षण र सम्भावित दुर्घटना न्युनीकरणका लागि मोटरसाइकल आवतजावतमा रोक लगाउन निर्देशन दिनुभएको थियो । सोही निर्देशन अनुसार पुलको मुखमा फलामको ब्यारिकेड राखिएको थियो । तर, वैकल्पिक बाटो लामो हुने भन्दै बिरामी, विद्यार्थी र कार्यालय जाने कर्मचारीलाई सास्ती भएको भन्दै देवघाटवासीले कडा विरोध गरेपछि प्रशासन आफ्नो निर्णयबाट पछि हटेको हो ।
पुल खोलिए पनि प्रशासनले सुरक्षाका लागि कडा सर्तहरू अघि सारेको छ । अब मोटरसाइकल चालकले पुलमा सवारी गुडाउन पाउने छैनन्, अनिवार्य रूपमा इन्जिन बन्द गरी डोहोर्याएर लैजानुपर्ने छ । यस्तै, पुलमा हर्न बजाउन निषेध गरिएको छ भने पैदलयात्रीलाई पहिलो प्राथमिकता दिनुपर्ने सर्त राखिएको छ । यी सर्तहरूको उल्लङ्घन गरेमा प्रहरीले तत्काल कारबाही गर्ने जनाइएको छ ।
वि.सं. २०३७ मा निर्मित यो पुल मानिस मात्र हिँड्ने गरी डिजाइन गरिएको थियो । सस्पेन्सन ब्रिज डिभिजनले समेत यो पुलमा मोटरसाइकल चलाउन रोक्न पटक–पटक पत्राचार गर्दै आएको छ । पुल जीर्ण भएपछि प्रत्येक वर्ष मर्मत गरिँदै आए पनि भिड हुँदा एकैपटक सयौँ मानिस र मोटरसाइकल तर्दा पुल पिङ जस्तै हल्लिने गरेको छ, जसले ठुलो मानवीय क्षतिको जोखिम निम्त्याएको सरोकारवालाहरूले बताएका छन् ।
देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले यस क्षेत्रमा बढ्दो सवारी चाप र नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै अब त्रिशूली नदीमा छुट्टै मोटर गुड्ने पुल अनिवार्य भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “जीर्ण झोलुङ्गे पुलमा जोखिम मोलेर सवारी चलाउनु राम्रो होइन, तर नागरिकको बाध्यता पनि बुझ्नुपर्छ । गाउँपालिकाको सीमित बजेटले ठुलो मोटर गुड्ने पुल निर्माण गर्न असम्भव छ । त्यसैले यस संवेदनशील विषयमा सङ्घीय र प्रदेश सरकारले यथाशीघ्र ध्यान दिनु जरुरी छ ।”