भक्तिविलास पोखरेल
गाईघाट, वैशाख १८ गते । प्रकृतिपूजक किराँत राई समुदायले पूर्वी नेपालमा विशेष रूपमा मनाउने साकेला (उभौली) अन्तर्गत सिली नाचको शुभारम्भ गरी उदयपुरको सदरमुकाम गाईघाटमा यो पर्व भव्य रूपमा मनाउन सुरु गरिएको छ ।
किराँती धामी अर्थात् नाक्सुङले बिहान सबेरै यहाँस्थित साकेला थान, सिकारी थान र माछाकुँ अर्थात् पितृ घरमा तीन चुल्हा सहित सिकारीको पूजा गरेर साकेला नाचको थालनी गरेपछि यो पर्व सुरु भएको हो । विगतमा करिब एक महिनासम्म सञ्चालन हुने गरेको यो चाड यस वर्ष १५ दिनसम्म मनाइने किराँत राई यायोक्खा उदयपुरकी अध्यक्ष गङ्गा राईले बताउनुभयो ।
किराँती वेषभूषामा सजिएर राई समुदायका युवायुवती मात्र नभई अधवैंसे महिला, पुरुष, बालबालिकादेखि वृद्धवृद्धासम्मले ढोल र झ्याम्टाको तालमा सेउली हल्लाउँदै साकेला सिली नाचेर उत्साहका साथ यो पर्व मनाइरहेका छन्। पर्वको अवसरमा गाईघाटस्थित मोतिगढामा जिल्लाका विभिन्न स्थानबाट आएका राई समुदायका मानिसहरू जम्मा भई सामूहिक साकेला सिली नाचको आयोजना गरिएको छ ।
अबको १५ दिनसम्म लगातार सञ्चालन हुने साकेला नाचमा त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका क्षेत्रका असारी, मोतिगढा, बोक्से, जलजले, बगाहा, रातमाटे, बेल्टार, बसाहा, मुर्कुची लगायतका स्थानबाट सयौँको सङ्ख्यामा सहभागी भई सामूहिक नृत्य प्रस्तुत गर्ने प्रचलन रहेको अध्यक्ष राईले जानकारी दिनुभयो ।
मंसिरे अर्थात् धान्य पूर्णिमामा उधौली र वैशाखी पूर्णिमामा उभौली गरी वर्षमा दुई पटक मनाइने यो पर्व किराँत सभ्यताको विशेष चाड हो । ‘सोइ ढोले सोइ... अर्को ढोले खोइ...’ भन्दै सामूहिक नृत्य प्रस्तुत गर्नुका साथै यस पर्वमा चुल्हा पूजा गर्ने, पितृलाई सम्झने र आफन्तजनबिच भेटघाट गरी शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।
किराँत राई यायोक्खाका अनुसार ओल्लो किराँत, पल्लो किराँत र माझ किराँतका रूपमा प्रख्यात पूर्वी नेपालका जिल्लाहरू उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, सुनसरी, मोरङ, इलाम र झापा लगायतमा यो चाड विशेष उत्साहका साथ मनाइन्छ ।
किराँती धर्म र संस्कार अनुसार जाडो याममा साकेला उधौली र गर्मी याममा उभौली मनाइने गरिन्छ । प्राध्यापक डा. कैलाश राईका अनुसार ‘कार्याङकुरुङ’ प्रजातिको चराको समूह जाडो छल्न बेसीतिर झर्ने समयलाई उधौली (छिरीनाम) र गर्मी छल्न लेकतिर चढ्ने समयलाई उभौली (धिरीनाम) भन्ने गरिन्छ ।
यस अवसरमा अण्डा, भालेको पोलेको मासु, कोदोको जाँड तथा घरमा बनाइएको चोखो रक्सी पितृलाई अनिवार्य चढाएर मात्र सामूहिक भोजन गर्ने परम्परा छ । उभौलीका अवसरमा साकेला थानमा रातो भाले र अण्डाको बलि दिएर भूमि अर्थात् सिकारी पूजा गरिन्छ । त्यसपछि सामूहिक रूपमा गोलो घेरा लगाएर ढोल र झ्याम्टा बजाउँदै खुसी र उमङ्गका साथ सिली नाच नाच्ने गरिन्छ ।