• ५ कात्तिक २०८२, बुधबार

बाँकेका विभिन्न क्षेत्रमा लगाइएको निषेधाज्ञा हटाइयो

blog

जिल्ला प्रशासन कार्यालय बाँकेको कार्यालय भवन । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, कात्तिक ५ गते ।
दसैँको बेला दुर्गा देवीको मूर्ति विसर्जनका क्रममा दुई समुदायविच उत्पन्न विवाद बढ्दै जाँदा जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाका पाँच स्थानमा जारी गरेको निषेधाज्ञालाइ १५ दिनपछि हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै असोज १८ गते साँझ ७ बजेबाट अर्को आदेश नभएसम्मका लागि जिल्लाका पाँच संवेदनशिल स्थानमा जारी गरिएको निषेधाज्ञा हटाइएको जानकारी दिएको छ ।

सोही सूचनामा असोज २८ गते जारी भएको निषेधाज्ञा पनि हटाइएको जानकारी गराइएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीद्वारा प्रकाशित सूचनामा हाल जिल्लाको शान्तिसुरक्षाको अवस्था सुधार भई सामान्य भएको र हिन्दुहरुको पर्व दिपावली हर्षाेल्लासपूर्वक मनाउने वातावरण सृजना गर्ने उद्देश्ले यसअघि लगाइएको निषेधाज्ञा हटाइएको जनाइएको छ ।

मूर्ति विसर्जनको जुलुसमा दुई पक्षबिच विवाद हुँदा केही स्थानमा तोडफोड, कुटाकुट र आगजनी समेत गरिएकाले शान्ति सुरक्षा कायम गर्न जरुरी भएको भन्दै जिल्ला प्रशासन कार्यालयले डुडुवा गाउँपालिका वडा नम्बर ६ को सम्पूर्ण क्षेत्र, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ को सम्पूर्ण क्षेत्र, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ को सुइया पिप्रहवा, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३ को भजिपुरवा, जंगलिपुरवा, लोहरनपुरवा तथा नरैनापुर गाउँपालिकाको वडा नम्बर ५ को सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञा हटाइएपछि दिपावली र तिहार मनाउन सहज भएको नरैनापुर ५ मटैयाका स्थानीय विनय दिक्षितले बताउनुभयो । उहाँले सबैलाई चाडपर्व शान्ति र सद्भावका साथ मनाउन पनि अनुरोध गर्नुभएको छ ।