• ६ वैशाख २०८१, बिहिबार

मनाङबाट प्रतिनिधि सभामा कांग्रेसका गुरुङ निर्वाचित

blog

बेलिना थापा

लमजुङ, मङ्सिर ५ गते । हिमाली जिल्ला मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । गुरुङले ३ सय ३० मतान्तरले नेकपा (एमाले) का पोल्देन छोपाङ गुरुङलाई हराउँदै निर्वाचित हुनुभएको हो । 

कांग्रेसका गुरुङले २ हजार ५ सय ७७ मत ल्याउनुभएको छ । एमालेका गुरुङले २ हजार २ सय ४७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्या गुरुङले ५ मत ल्याउनुभयो ।  

कांग्रेसका टेकबहादुर गुरुङ २०७० मा दोस्रो संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । मनाङ ङिस्याङ गाउँपालिका ८, टङ्की मनाङका गुरुङ २०३६ मा बीपी कोइरालाबाट कांग्रेसको सदस्यता लिनुभएको थियो । 

कांग्रेसको तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा २०७० फागुन १३ गतेदेखि २०७२ पुस ९ गतेसम्म श्रम तथा रोजगार राज्यमन्त्री पनि हुनुभएको थियो । मनाङमा २०७४ को चुनावमा पहिलो पटक मनाङमा एमालेले जितेको थियो । 

टेकबहादुर गुरुङलाई २ सय ८९ मतले उछिन्दै एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङ निर्वाचित हुनुभएको थियो । पोल्देन छोपाङले २ हजार ३ सय मत प्राप्त गर्दा टेकबहादुरले २ हजार २१ मत प्राप्त गर्नुभएको थियो । 

मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कांग्रेसका टेकबहादुर गुरुङ । तस्बिर: बेलिना थापा