• ७ वैशाख २०८१, शुक्रबार

काठमाडौं ४ बाट कांग्रेस महामन्त्री थापा विजयी

blog

विजयी जुलुसमा महामन्त्री थापासहित अन्य । तस्बिर : कविन अधिकारी

कठमाडौं, मङ्सिर ६ गते। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर ४ बाट अत्यधिक मतका साथ विजयी हुनुभएको छ।

४६ वर्षीय थापाले २१ हजार ३०१ मत प्राप्त गर्नुभएको जानकारी निर्वाचन अधिकृत शारदादेवी पौडेलले जानकारी दिनुभयो। उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) डा. राजन भट्टराईलाई ७ हजार ४४६ मत अन्तरले पराजित गर्नुभएको हो।

एमालेका भट्टराईले १३ हजार ८५५ मत प्राप्त गर्नुभएको छ। थापा २०७४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि यही क्षेत्रबाट भट्टराईलाई पराजित गर्दै विजयी हुनुभएको थियो।

गगनको उदय यात्रा  

नेपाल विद्यार्थी सङ्घको राजनीतिबाट उहाँ नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा प्रवेश गर्नुभएको हो। नेपाली युवा राजनीतिक नेतामा उच्च छवि बनाउनु भएका थापा कांग्रेसका प्रभावशाली युवा नेतामध्ये एक हुनुहुन्छ।

मातापिता महेन्द्रकुमार थापा र रामेश्वरी थापाका छोरा थापा २०३३ सालमा काठमाडौंमा जन्मनुभएको हो। सिद्धार्थ वनस्थली हाइस्कुलमा अध्ययन गर्नुभएका थापाको इच्छा डाक्टर वा इन्जिनियर बन्ने थियो। कक्षा ९ मा पढ्दै गर्दा २०४६ सालको जनआन्दोलनबाट थापाको राजनीतिक क्षेत्रमा सक्रियता बढेको थियो। 

त्यसपछि त्रिचन्द्र क्याम्पसमा पढ्न थालेपछि चाहिँ उहाँ विद्यार्थी सङ्गठनमा लाग्नुभयो। नेविसङ्घको सदस्य हुनुभयो। २०५१ सालमा त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भएपछि विद्यार्थी राजनीतिको नशाले उहाँलाई झन् आकर्षित गर्‍यो। त्यसपछि डाक्टर वा इन्जिनियर बन्ने सपना राजनीतितर्फ मोडियो।


त्रिचन्द्र स्ववियुमा सदस्यसचिव हुँदै उहाँ सभापति बन्नुभयो। २०५५ सालमा स्ववियु सभापति भएपछि नेविसङ्घको केन्द्रीय राजनीतिमा थापाको संलग्नता बढ्नु स्वाभाविक बन्यो। नेविसङ्घको उपाध्यक्ष हुँदै महामन्त्री बन्नुभयो। जीवनमा पहिलो पटक २०५१ सालमा हिरासतमा बस्नुपरेको थियो। त्यसपछि भएका विरोध प्रदर्शनमा थापा पक्राउ पर्ने र छुट्ने क्रम लामो समय चलेको थियो।

वि.सं २०५९ असोज १८ पछि सूर्यबहादुर थापाको प्रधानमन्त्रीत्वमा उहाँसहित विद्यार्थी नेता गुरुराज घिमिरे र पुरुषोत्तम पौडेललाई राजकाज मुद्दा लगाइयो। तत्कालीन राजा ज्ञानेन्द्र शाहको माघ १९ कलमपछि पनि गगनलाई राजद्रोहको मुद्दाले छाडेन।

त्यसपछि सुरु भएको लोकतान्त्रिक आन्दोलनमा थापाको प्रखर वक्ताको प्रभावले सबै उहाँसँग प्रभावित भए। नेपाली कांग्रेसको निर्वाचित केन्द्रीय सदस्य हुँदै उहाँ कांग्रेसको १३ औँ महाधिवेशनमा महामन्त्री पदमा विजयी हुनुभएको हो। स्वास्थ्यमन्त्री भएर मुलुकको केन्द्रीय शासन प्रणालीकोसमेत अनुभव  उहाँले लिइसक्नुभएको छ। थापाले चुनावी अभियानमा आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्नुभएको छ। थापाको यो विजय संसद्को तेस्रो यात्रा हो।  (पुरानो तस्बिर परिवर्तन गरिएको छ ।)