• १ असार २०८२, आइतबार

सांसदलाई सवाल

मधेशको विकास गरे नेपालको विकास हुन्छ : उपेन्द्र यादव

blog

काठमाडौँ, जेठ ३१ गते। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री एवम् बारा निर्वाचन क्षेत्र नम्बर-२ का प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवले मधेशको विकास गरे नेपालको विकास हुने बताउनुभएको छ। गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा कुराकानी गर्नुहुँदै नेता यादवले यस्तो बताउनुभएको हो। ‘‘विकासको बजेट मधेशलाई हेरेर बन्दैन। मधेशको विकास गरे नेपालको विकास हुन्छ। तर मधेशमा ६० प्रतिशत जनसङ्ख्या छ, १३ प्रतिशत मात्र विकास बजेट पुगेको छ’’, यादवले मधेशको विकासमा राज्यको दृष्टि नपरेको भन्दै आपत्ति जनाउनुभयो। 

नेता यादवको जन्म बुवा धनिलाल र आमा फुदनीदेवीको कोखबाट २०१६ सालमा सप्तरी जिल्लाको भगवतपुरमा भएको हो। उहाँको बाल्यकाल सप्तरीको मधुवनमा बित्यो। अहिले भने त्यो ठाउँ सुनसरीको वराहक्षेत्र नगरपालिका-४ मा पर्छ। उपत्यकामा उहाँ ललितपुर महानगरपालिका-२३ हात्तीवनमा बसोवास गर्दै आउनुभएको छ। विज्ञान र कानुन विषयमा उच्च शिक्षा अध्ययन गर्नुभएका यादवले औपचारिक शिक्षा मधुवनमै लिनुभएको हो।


मधुवनमा रुखमा काठको पाटी ठोकेर कालो पोतेर लेख्दै उहाँको औपचारिक शिक्षाको सुरुवात भएको हो। मोहन निमाविमा प्रारम्भिक शिक्षा लिनुभएका यादवले जनता मावि मधुवन र वनदहवाकट्टी हाइस्कुल सप्तरीबाट माध्यमिक शिक्षा लिनुभयो। २०३२ सालमा एसएलसी दिनुभयो। यादवले अक्षर चिन्नुभएको विद्यालय अहिले मोहन माध्यमिक बनेको छ। सुनसरी धरानको हात्तीसार क्याम्पसबाट उच्च शिक्षा अध्ययन सुरु गरेर आइएस्सी गरेपछि उहाँले विभिन्न कारणले धरानको पढाइलाई निरन्तरता दिन सक्नु भएन। महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरबाट स्नातक र स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गर्नुभएका यादवले विज्ञानसँगै कानुन विषयलाई समेत प्रमुख अध्ययनको क्षेत्र बनाउनुभयो। 

सप्तरीमा विद्यालयमा पढ्दादेखि नै उहाँ पुष्पलाल श्रेष्ठको व्यक्तित्वबाट प्रभावित भएर राजनीतिमा लाग्नुभएको हो। २०३२ सालमा वामपन्थी राजनीतिमा प्रवेश गर्नुभएका उहाँले पुष्पलालको प्रभावले नै नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिनुभएको हो। उहाँको राजनीतिको सुरुवात पुष्पलाल समूहको अनेरास्ववियुबाट भयो। पुष्पलाल श्रेष्ठबाट २०३५ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएको समयमा अखिल प्रतिबन्धित थियो। कम्युनिस्ट कार्यकर्ताका रूपमा सुरुवाती दिनमा भूमिगतरूपमै काम गर्नुभएका यादव २०३६ सालको जनमत सङ्ग्रहको समयमा विद्यार्थी राजनीतिमा सक्रिय हुनुहुन्थ्यो। जनमत सङ्ग्रहपछि अखिल विभाजित हुँदा उहाँ प्रगतिशील विद्यार्थी युनियनको दुई कार्यकाल उपाध्यक्ष बन्नुभयो। 

विद्यार्थी राजनीतिकैक्रममा उहाँले एक वर्ष केन्द्रीय कारागारमा बिताउनुपरेको थियो। कारागारमा कांग्रेसका तत्कालीन युवा नेता प्रदीप गिरी, दमननाथ ढुङ्गानालाई भेट्नुभएको थियो। नेकपा (मार्क्सवादी) पार्टी बन्दा उहाँलाई कोशी अञ्चल कमिटीमा राखिएको थियो। यादव २०४६ को आन्दोलनमा विराटनगरबाट गिरफ्तार हुनुभयो। धनकुटामा कैदी जीवन बिताउनुभएका उहाँ प्रजातन्त्र पुनस्र्थापनापछि छुट्नुभयो। माले र मार्क्सवादी एकतापछि २०४८ सालमा यादवलाई एमालेले सुनसरी-४ मा उम्मेदवार बनाएको थियो। उहाँ पहिलो संसदीय चुनावमा पराजित हुनुभयो। त्यसपछि उहाँले एमालेको सुनसरी र मोरङको जिम्मेवारी पाउनुभयो। लामो समय पार्टीमा काम गरेपछि २०५४ सालमा सामाजिक संस्थाको रूपमा मधेशी जनअधिकार फोरम, नेपाल गठन गर्नुभयो।


२०५६ मा पार्टीभित्र मधेशको मुद्दा उठाएको भन्दै साम्प्रदायिक व्यक्तिको आरोप लागेपछि उहाँ एमालेबाट अलग हुनुभयो। त्यसपछि फोरममा सक्रिय यादव २०५९ असोजमा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि भूमिगत हुन बाध्य बन्नुभयो। उक्त समयमा उहाँले तत्कालीन नेकपा (माओवादी)सँग सहकार्य गर्दै राजनीतिलाई अगाडि बढाउनुभयो। २०६१ सालमा दिल्लीबाट पक्राउ पर्नुभएका यादव दुई महिनापछि छुट्नु भएको थियो।

२०६२/६३ सालको आन्दोलनमा सक्रियताका साथ सहभागी यादव २०६३ सालमा अन्तरिम संविधान जलाएको आरोपमा फेरि गिरफ्तारीमा पर्नुभयो। अन्तरिम संविधान जारी भएपछि पनि मधेशीलाई विदेशी जस्तो व्यवहार गरेर पीडा भोग्नु परेपछि उहाँ मधेशको मुद्दा लिएर थप सशक्त रूपमा राजनीतिमा लाग्नुभयो। २०६३ सालमा मधेशी जनअधिकार फोरमलाई पार्टी बनाएर उहाँ त्यसको अध्यक्ष बन्नुभयो। २०६५ सालमा फोरमको पहिलो महाधिवेशनबाट उहाँ सर्वसम्मतिले अध्यक्ष चयन हुनुभयो। लगातार मधेशको राजनीतिको नेतृत्व गर्नुभएका यादवले पार्टी बनाउन विभिन्न नेतासँग सहकार्य गरे पनि त्यसले निरन्तरता पाउन सकेन। 

सङ्घीय समाजवादी फोरम, नेपालका अध्यक्ष यादव २०७६ सालमा गठन भएको समाजवादी पार्टीको अध्यक्ष बन्नुभयो। जनता समाजवादी पार्टीमा महन्थ ठाकुरसँगै यादव पनि अध्यक्ष बन्नुभयो। २०८१ साल जेठमा जनकपुरमा भएको जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशनबाट उहाँ पछिल्लो समय पार्टी अध्यक्ष बन्नुभएको हो। यसरी हेर्दा यादव करिब तीन दशकदेखि सदावहार पार्टीको नेतृत्वमा हुनुहुन्छ। 


संविधानसभाको दुई कार्यकाल निर्वाचित उहाँ अहिलेसम्म चार पटक सांसद बनिसक्नुभएको छ। पहिलो संविधानसभाको चुनावमा एकसाथ सुनसरी-५ र मोरङ-५ बाट निर्वाचित यादवले मोरङ छोड्नुभएको थियो। २०७० सालमा सम्पन्न दोस्रो संविधानसभाको चुनावमा सुनसरी-५ बाट निर्वाचित उहाँ २०७४ सालमा भएको आम चुनावमा सप्तरी-२ बाट निर्वाचित हुनुभएको हो। २०७९ सालको चुनावमा सप्तरी-२ मा डा.चन्द्रकान्त राउतसँग पराजित यादव बारा-२ मा सम्पन्न उपनिर्वाचनबाट प्रतिनिधिसभामा आउनुभएको हो। बारा-२ का सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि २०८० मा भएको उपनिर्वाचनबाट यादव प्रतिनिधि सभा सदस्य बन्नुभएको हो। उहाँ अहिले प्रतिनिधि सभाको अर्थ समिति सदस्यसमेत हुनुहुन्छ। 

नेता यादव पटकपटक विभिन्न सरकारमा मन्त्रीसमेत बन्नुभएको छ। झलनाथ खनाल प्रधानमन्त्री हुँदा २०६५ सालमा परराष्ट्र मन्त्री बन्नुभएका यादव केपी ओली नेतृत्वको सरकारमा २०७५ सालमा उपप्रधानसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बन्नुभयो। प्रस्तुत छ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँग गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा दिनेश लुइटेलले गरेको कुराकानीका आधारमा मनोजरत्न शाही र केशब गुरुङले तयार पार्नुभएको भिडियो सामग्री  ः