• ५ वैशाख २०८१, बुधबार

झापा १ बाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा विजयी

blog

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर ७ गते। झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा विजयी हुनुभएको छ। शर्मा ३९ हजार ६२४ मत ल्याएर विजयी हुनुभएको हो। 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अग्नि खरेलले २५ हजार ३४९ मत पाउनुभएको छ। खरेलभन्दा १४ हजार २७५ मत बढी ल्याएर शर्मा विजयी हुनुभएको हो। 

२०७० मा एमालेका नेता रबिन कोइराला र २०७४ सालमा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र)का राम कार्कीसँग शर्मा पराजित हुनुभएको थियो। 

विश्वको उदय

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा प्रखर वक्ता र साहित्यकार पनि हुनुहुन्छ । विद्यार्थी जीवनदेखि नै अरुसँग सहकार्य र मेलमिलापको वातावरण बनाउन खप्पिस नेता शर्माको यही गुणले अहिलेको विजय चुम्न सफलता मिलेको हो । 

झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनपछि हुने अस्वस्थ राजनीतिलाई अन्त्य गर्दै शर्माले अन्य विचार राख्ने विद्यार्थी नेतालाई स्वागत गरेपछि क्याम्पसको वातावरण नै बदलियो । आपसी विवाद नहुँदा क्याम्पसमा पढ्ने वातावरण पनि सहज बन्यो । स्ववियु सभापति हुँदा शर्माले बसालेको सौहार्दताको वातावरण पछि पनि कायम रह्यो । 

कांग्रेसको राजनीतिमा धेरै उतारचढाव भोग्दै अगाडि बढ्नुभएका शर्मामा आफू हारे पनि विजयी हुनेलाई माला लगाएर बधाइ दिने संस्कार छ । कांग्रेसको जिल्ला सभापति वा संविधान सभाको निर्वाचनमा पराजित हुँदा होस्, उहाँ ‘हार र जीत’ लाई सहजरूपमा लिने नेता पनि हुनुहुन्छ । 

शर्मा स्कुल एकाइ सभापतिदेखि नेविसंघको केन्द्रीय सभापतिको जिम्मेवारीसम्म पुग्ने कमै नेतामध्ये एक हुनुहुन्छ । उहाँ २०५७ मा नेविसङ्घको सभापति निर्वाचित हुनुभयो । कार्यकाल पूरा हुनुअघि नै महाधिवेशन गराउने नेविसङ्घको पहिलो सभापतिको श्रेयसमेत शर्मालाई जान्छ । 

अरुको दुःखमा सधैं साथ र सहयोग गर्ने बानीले उहाँलाई यस पटकको निर्वाचनमा विजयी हुन धेरै सहयोग पुगेको हुनुपर्छ । पार्टी सभापति शेरबहादुर देउवाले उहाँलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएपछि उहाँ आफ्नो कुशलता देखाउन सफल हुनुभयो । 

उहाँ कांग्रेसको केन्द्रीय सदस्य हुँदै निर्वाचित महामन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ । पार्टीको १३ औं महाधिवेशनमा कमजोर मानिएको समूहबाट महामन्त्री निर्वाचित भएपछि शर्माको राजनीतिक उचाइ झनै बढ्यो । यस पटकको आम निर्वाचनमा जनताबाट अनुमोदित शर्माको सङ्घीय संसद् प्रवेश भने नयाँ हो ।