• ८ वैशाख २०८१, शनिबार

प्रत्यक्षतर्फ निर्वाचित एमालेका ४४ सांसद (सूचीसहित)

blog

काठमाडौं, मङ्सिर २० गते। मङ्सिर ४ गते सम्पन्न संघीय चुनावमा प्रतिनिधि सभातर्फ प्रत्यक्षमा प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेले ४४ सिट जितेको छ। अयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार प्रत्यक्षतर्फ १६५ सिटमध्ये ४४ सिटमा विजयी हुँदै एमाले दोस्रो दल बनेको छ। 

एमाले अध्यक्ष केपी ओलीसहित ४४ जनाले प्रत्यक्षबाट सांसद यात्रा तय गर्नुभएको छ। सङ्घीय चुनावको प्रत्यक्षतर्फ अधिकांश क्षेत्रमा एकल उम्मेदवारी दिएको एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,महासचिव शङ्कर पोखरेल जस्ता प्रमुख नेता भने पराजित हुनुभएको छ। सत्ता गठबन्धनका उम्मेदवारसँग एकल चुनाव लडेको एमालेले केही क्षेत्रमा झिनो मतान्तरले पराजित हुनुपरेको छ। प्रत्यक्षतर्फ निर्वाचित मध्ये एमालेका चार महिला र ४४ पुरुष सांसद छन्। गोरखापत्र अनलाइनले जिल्ला समाचारदाताको सहयोगमा तयार पारेको एमालेका निर्वाचित सांसदको विवरण :  


पाँचथर क्षेत्र नं १ मा नेकपा (एमाले)का उम्मेदवार बसन्तकुमार नेम्वाङ ३२ हजार १३५ मत ल्याई विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार भीष्मराज आङदेम्वेलाई ४६ मतान्तरले पराजित गर्नुहुँदै नेम्वाङ विजयी हुनुभएको हो । आङदेम्वेले ३२ हजार ८९ मत ल्याउनुभएको छ ।


सुनसरीको निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्यतर्फको अन्तिम नतिजा सार्वजनिक भएको छ । नेकपा (एमाले) तर्फको उम्मेदवार भगवती चौधरीले ४० हजार ७८८ मतसहित विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धी नेपाली काग्रेंसका उम्मेदबार विजयकुमार गच्छदारले ३५ हजार ६०० मत ल्याउनुभयो ।


धनुषा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार रघुवीर महासेठ विजयी हुनुभएको छ । उहाँले वाम–गठबन्धनतर्फका नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतले पछि पार्दै विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 


पर्वत जिल्लाको प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार पदम गिरी विजयी हुनुभएको छ । गिरीले २९ हजार ८७२ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी अर्जुनप्रसाद जोशीले २७ हजार ६ सय ९ मत प्राप्त गर्नुभयो । 


धनकुटाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का राजेन्द्रकुमार राई निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसका सुनीलबहादुर थापालाई एक हजार ३८७ मतान्तरले पराजित गर्दै राई निर्वाचित हुनुभएको हो। राईले ३० हजार १०१ मत ल्याउनुभएको छ भने कांग्रेसका थापाले २८ हजार ७०४ मत ल्याउनुभयो। 


नेकपा (एमाले) इलामका अध्यक्ष महेश बस्नेत इलाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित हुनुभएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादीका नेता झलनाथ खनाललाई हराउँदै उहाँ विजयी हुनुभएको हो ।


महोत्तरीको  निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यमा एमालेका  नेता लक्ष्मी महतो विजयी हुनुभएको छ ।  नेता महतो २३ हजार ४०२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का गिरिराज मणि पोखरेलले २२ हजार ३७२ मत ल्याउनु भएको छ ।


संविधान सभाका अध्यक्ष तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ इलाम क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित हुनुभएको छ । उहाँ पाँचौं पटक विजयी बन्नुभएको हो । यस पटक नेम्वाङ ३० हजार २० मत प्राप्त गर्दै विजयी बन्नुभयो । नेम्वाङका निकटतम प्रतिस्पर्धी गठबन्धन तर्फका उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत ल्याउनुभयो ।


सुनसरी २ मा नेकपा (एमाले) का उम्मेदवार भीम आचार्य निर्वाचित हुनुभएको छ । उहाँ ३२ हजार ८ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सीताराम मेहताई पराजित गर्दै निर्वाचित हुनुभयो । आचार्यले ३२ हजार ८ मत प्राप्त गर्दा मेहताले २६ हजार ५८ मत प्राप्त गर्नुभयो । 


गुल्मी प्रतिनिधि सभा २ मा नेकपा (एमाले) का गोकर्ण विष्ट विजयी हुनुभएको छ । विष्टले नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रामकुमारी झाँक्रीलाई दुई हजार ४४ मतले पराजित गर्नुहुँदै विजयी बन्नुभएको हो । विष्टले २८ हजार ४८५ मत ल्याउनु भएको छ भने झाँक्रीले २६ हजार ४४१ मत प्राप्त गर्नुभएको छ ।


रुपन्देहीको १ मा नेकपा एमालेका छविलाल विश्वकर्मा विजयी हुनुभएको छ। उहाँले स्वतन्त्र उम्मेदवार तथा पूर्व एमाले नेता घनश्याम भुसाल भन्दा ३ हजार ५ सय ६४ बढी मतले विजयी हुनुभएको हो।


रुपन्देही –२ को प्रतिनिधिसभातर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल विजयी हुनुभएको छ । एमाले उपाध्यक्ष पौडेलले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई १३ सय ६६ मतले पराजित गर्नुभएको हो । 


मोरङ निर्वाचन क्षेत्र नम्बर २ मा बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार हुनुभएकी नेपाली कांग्रेसकी सुजाता कोइरालालाई पराजित गर्दै नेकपा (एमाले) का उम्मेदवार ऋषिकेश पोखरेल विजयी हुनुभएकाे छ । पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएकी कोइरालालाई एक हजार २०८ मतको अन्तरले पोखरेलले पराजित गर्दै विजयी हुनुभएकाे हो ।


कपिलवस्तु क्षेत्र नं ३ को प्रतिनिधी सभाका नेकपा (एमाले) का उम्मेदवार मङ्गलप्रसाद गुप्ता विजयी हुनुभएको छ । गुप्ताले २२ हजार ६ सय १९ मत प्राप्त गरी विजयी हुनुभएको हो । कांग्रेस उम्मेदवार अभिषेकप्रताप शाहले १८ हजार ९ सय ८२ मत प्राप्त गर्नुभएको छ ।


बारा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अच्युत मैनाली निर्वाचित हुनुभएको छ । उहाँले ३९ हजार एक सय ९५ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमाकान्त चौधरीले  ३० हजार ५६ मत ल्याउनुभयो । 


बारा क्षेत्र नं ३ बाट नेकपा (एमाले) का ज्वालाकुमारी साहले २० हजार दुई सय ५१ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँको प्रतिस्पर्धी  जनता समाजवादी पार्टीका रामबाबुकुमार यादवले  १७ हजार दुई सय ७९ मत प्राप्त गर्नुभयो । 


सिरहा –१ मा नेकपा (एमाले) का उम्मेदबार रामशङ्कर यादव  निर्वाचित हुनुभएको छ । यादवले २९ हजार ४६२ मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवार पदमनारायण चौधरीलाई पराजित गरी निर्वाचित हुनुभएको हो ।  दुई जार ८३ मतले यादव विजयी हुँदा चौधरीले २७ हजार ३७९ मत प्राप्त गर्नुभयो ।  


सिरहा –३ बाट पूर्वमन्त्री लीलानाथ श्रेष्ठ विजयी हुनुभएको छ । एमालेका उम्मेदबार पूर्व कानुन न्याय तथा संसदीय मामिला व्यवस्थामन्त्री श्रेष्ठले २८ हजार ६४ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा पूर्व शान्तिमन्त्री समेत रहनुभएका विश्वनाथ साहले २६ हजार ८८२ मत प्राप्त गर्नुभयो । 


पाल्पा क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले)का नारायणप्रसाद आचार्य विजयी हुनुभएको छ। आचार्य ३१ हजार १०३ मत ल्याएर विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले २० हजार २५६ मत पाउनुभएको छ। 


पाल्पा क्षेत्र नं. २ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) का उम्मेदवार ठाकुर गैरे निर्वाचित हुनुभएको छ । नेकपा (एकीकृत समाजवादी) का नेता सोमप्रसाद पाण्डेयलाई पराजित गर्दै गैरे विजयी हुनुभएको हो । गैरेले २७ हजार ८१७ मत ल्याउनुभयो । उहाँका प्रतिस्पर्धी पाण्डेयले २३ हजार ८५१ मत ल्याउनुभएको छ । 


काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का उम्मेदवार पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटा विजयी हुनुभएको छ ।नेपाली कांग्रेसका नेता शिवप्रसाद हुमागाईंलाई पाँच हजार ८६३ मतले पछि पार्दै बाँस्कोटा प्रतिनिधिसभा २ बाट दोस्रो पटक विजयी हुनुभएको छ । बाँस्कोटाले ४५ हजार ३४५ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसका हुमागााईंले ३९ हजार ४८२ मत प्राप्त गर्नुभएको छ ।


कास्की १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का मनबहादुर गुरुङ विजयी हुनुभएको छ । उहाँले निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोरदत्त बराललाई दुई हजार ५१९ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो ।गुरुङले २५ हजार ७०८ मत प्राप्त गर्नुभएको छ भने बरालले २३ हजार १८९ मत प्राप्त गर्नुभएको छ ।


कास्की ३ बाट एमालेका दामोदर पौडेल वैरागी विजयी हुनुभएको छ । गण्डकीका बहालवाला अर्थमन्त्रीलाई ५ हजार ४ सय ४५ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो । एमालेका वैरागी र  माओवादीका रामजी बराल जीवनको प्रतिस्पर्धालाई निकै रोचक ढङ्गले हेरिएको थियो ।


बाँके क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य ढकाल विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार एमालेका ढकालले मन्त्री अथकलाई पाँच हजार ३९४ मतान्तरले पराजित गर्नुहुँदै निजयी हुनुभएको हो । ढकालले २५ हजार २६ मत प्राप्त गर्नुभएको छ भने अथकले १९ हजार ६३२ मत प्राप्त गर्नुभएको छ ।


धनुषा क्षेत्र नं.३ मा नेकपा (एमाले)का उम्मेदवार जुली कुमारी महतो सत्ता गठबन्धन दलको तर्फबाट उम्मेदवार बन्नुभएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता अनिलकुमार झाभन्दा नौ हजार ७०२ मत बढी ल्याएर विजयी हुनुभएको हो । महतोले ३३ हजार ३८८ मत प्राप्त गर्नुभएको छ भने झाले २३ हजार ६८६ मत प्राप्त गर्नुभएको छ ।


सर्लाहीको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका हरि उप्रेती  विजयी हुनुभएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवारलाई नरेन्द्र साह कलवारलाई ७७० मतले पराजित गर्दै उप्रेती विजयी हुनुभएको हो ।  उप्रेती ३२ हजार ९३८ मत प्राप्त गरी निर्वाचित हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रका साह ३२ हजार १६८ मत ल्याएर पराजित हुनुभयो । 


एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बैतडीबाट नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारी विजयी हुनुभएको छ । संसदीय राजनीतिमा भण्डारीको बैतडीबाट लगातार यो तेस्रो जित हो । उहाँले जितमा ह्याट्रिक गर्नुभएको छ ।


कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा (एमाले)का तारा लामा तामाङ विजयी हुनुभएको छ । तामाङले गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)की नेत्री बिना मगरलाई चार हजार ९११ मतले पराजित गर्नुभएको हो । तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा मगरले १६ हजार ५८ मत प्राप्त गर्नुभएको छ।


कास्की क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवार विद्या भट्टराई विजयी हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेललाई पराजित गर्दै भट्टराई प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । 


एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको सोलुखुम्बुमा नेकपा एमालेका मानवीर राई एमालेको ३२ वर्षीय संसदीय इतिहासमा पहिलो पटक विजयी हुनुभएको छ । लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई दुई हजार ७७९ मतको फराकिलो अन्तरले पछि पार्दै राई विजयी हुनुभएको हो । 


झापा क्षेत्र नम्बर ४ मा एमालेका लालप्रसाद साँवा (एलपी)  बिजयी हुनुभएको छ । साँवाले नेपाली कांग्रेसका उम्मेदवार कांग्रेस जिल्ला सभापति देउकुमार थेबेलाई ६ हजार ८६७ मतान्तरले पराजित गर्दै  साँवा विजयी हुनुभएको हो ।


मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नं. २ मा लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका विरोध खतिवडालाई पराजित गर्दै नेकपा [एमाले]का महेश बर्तौला  निर्वाचित बन्नुभएको छ । एमालेका उम्मेदवार बर्तौलाले ३४ हजार ९१६ मत प्राप्त गर्दा खतिवडाले ३० हजार ३९६ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले १२ हजार ३९ मत प्राप्त गर्नुभएको छ ।


रुपन्देही जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं। ५  को पछिल्लो मत परिणाम अनुसार नेकपा एमाले उम्मेदवार वासुदेव घिमिरेले  फराकिलो मतान्तरले विजयी हुनुभएको छ । वासुदेव घिमिरेले  ३६ हजार  ८ सय  २२  मत प्राप्त गरेर विजयी हुनुभएको हो । 


प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले)का पृथ्वी सुब्बा गुरुङ विजयी हुनुभएको छ । उहाँले वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा(माओवादी केन्द्र)का उम्मेदवार देवप्रसाद गुरुङलाई हराउँदै विजयी हुनुभएको हो । 


पर्सा क्षेत्र नं ३ बाट नेकपा (एमाले) का राजकुमार गुप्ता प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीलाई १५१ मतले पराजित गर्दै गुप्ता विजयी हुनुभएको हो । २४ हजार २६० मत ल्याएर उहाँ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा सुरेन्द्रले  २४ हजार १०९ मत प्राप्त गर्नुभयो । 


अर्घाखाँचीबाट प्रतिनिधि सभामा नेकपा (एमाले) का उम्मेदवार टोपबहादुर रायमाझी विजयी हुनुभएको छ । रायमाझीले  ४२ हजार ६ सय ७५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँको निकतम प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा निवर्तमान उपसभामुख पुष्पा भुसालले ४० हजार ९ सय ४५ मत प्राप्त गर्नुभयो । रायमाझीले १७ सय ३० मत अन्तरले विजयी हुनुभयो ।


प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का सूर्य थापा प्यूठानबाट निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार थापाले ४१ हजार ११८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार जनमोर्चाका दुर्गा पौडेलले ३५ हजार ८४४ मत पाउनुभएको छ ।


झापा क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का देवराज घिमिरे विजयी हुनुभएको छ । बुधवार राति सम्पन्न अन्तिम मतगणनामा एमालेका प्रदेश नम्बर १ का इन्चार्जसमेत रहनुभएका घिमिरेले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल स्वागतलाई २२५६ मतले पराजित गर्नुभयो ।घिमिरेले २८ हजार ६९७ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी नेपालले २६ हजार ४४१ मत ल्याउनुभयो ।


पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं. ५ बाट फराकिलो मतान्तरले विजयी बन्नुभएको छ । २८ हजार ५७६ मतान्तरले अध्यक्ष ओली विजयी बन्नुभएको हो । गठबन्धनको तर्फबाट उम्मेदवार रहनुभएका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई पराजित गर्दै दोब्बरभन्दा बढी मतान्तरले विजयी बन्नुभयो ।


ताप्लेजुङमा नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराई प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । भट्टराईले वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का खेलप्रसाद बुडाक्षेत्री ‘पराग’ लाई पराजित गर्दै निर्वाचित हुनुभएको हो ।


उदयपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा (एमाले)का उम्मेदवार अम्बरबहादुर रायमाझी विजयी हुनुभएको छ । उहाँ १५ हजार २५१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का जगन्नाथ खतिवडाले १२ हजार ८९३ मत प्राप्त गर्नुभएको छ ।  


ललितपुर निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले) का उम्मेदवार प्रेमबहादुर महर्जन विजयी हुनुभएको छ । मतगणनाको परिणामअनुसार महर्जन १९,७३४ मतसहित निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन शाक्यले १०,४४० मत ल्याएर दोस्रो स्थान बनाउनुभयो ।


काठमाडौं निर्वाचन क्षेत्र नं. ९ मा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । एमाले केन्द्रीय सदस्य समेत रहनुभएका नेता श्रेष्ठले स्वतन्त्र उम्मेदवार टेकबहादुर पोखरेललाई पराजित गर्नुहुँदै निर्वाचित हुनुभएको हो । नेता श्रेष्ठका स्वकीय सचिव विवेक महर्जनका अनुसार श्रेष्ठले १० हजार ९४९ मत ल्याएर विजयी हुनुभयो । उहाँको निकटतम प्रतिस्पर्धी घण्टी चुनाव चिन्हका पोखरेलले ९ हजार ७५८ मत ल्याउनुभयो ।


कपिलवस्तु १ मा नेकपा (एमाले)का बलराम अधिकारी विजयी हुनुभएको छ। उहाँले नेकपा (माओवादी केन्द्र)का चक्रपाणि खनाललाई पराजित गर्नुभएको हो। एमालेका अधिकारीले ४३ हजार ६७५ मत पाउनुभएको छ भने माओवादीका खनालले १८ हजार ९८३ मत पाउनुभएको छ।