• ८ वैशाख २०८१, शनिबार

ताप्लेजुङमा एमाले सचिव भट्टराई निर्वाचित

blog

चन्द्र पन्दाक
ताप्लेजुङ, मङ्सिर ७ गते ।
ताप्लेजुङमा नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराई प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । भट्टराईले वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का खेलप्रसाद बुडाक्षेत्री ‘पराग’ लाई पराजित गर्दै निर्वाचित हुनुभएको हो ।

भट्टराईले २१ हजार ९४३ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादीका बुडाक्षेत्रीले २१ हजार ७३५ मत प्राप्त गर्नुभएको छ । भट्टराई र बुडाक्षेत्रीबीचको मतान्तर २०८ रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट विजयी भएको औपचारिक घोषणा गर्न भने बाँकी छ ।

गठबन्धनका उम्मेदवार बुडाक्षेत्रीले सदरमुकाम फुङ्लिङबजार बाहिरका अधिकांस क्षेत्रमा अग्रता लिनुभएको थियो । मतगणनाको अन्तिम  समयसम्म आफ्नो अग्रता कायम राखे पनि फुङ्लिङजार प्रवेश गरेपछि भट्टराईले अग्रता बढाउँदै जित हासिल गर्न सफल हुनुभएको छ ।

जिल्लाको कुल मतदाता ८८ हजार २८५ रहेकोमा ४८ हजार ३५५ अर्थात् ५४.७७ प्रतिशत मतदाताले मतदानमा सहभागिता जनाएका छन् । ताप्लेजुङमा वाम लोकतान्त्रिक गठबन्धन सम्बद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी), नेकपा एमालेलगायत ११ दलले निर्वाचनमा सहभागिता जनाएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले सचिव योगेश भट्टराई ।