• २७ पुस २०८२, आइतबार

स्वेदशमै रोजगारीको अवसर सिर्जना गर्नु पर्नेमा जोड

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २६ गते । स्वदेशमै घरेलु श्रम तथा स्याहार अर्थतन्त्रको क्षेत्रलाई मर्यादित बनाउँदै स्वेदशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिइएको छ । 

घरेलु श्रमिक मञ्च र स्वतन्त्रता अभियानद्वारा शनिवार राजधानीमा आयोजित “घरेलु श्रमिक स्याहार, अर्थतन्त्र”विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले रोजगारीको अभाव भइरहेको सन्दर्भमा घरेलु श्रमिकले गरेका कामको मुल्याङ्कन गर्दै यस क्षेत्रको श्रम बजारको अनुगमन, नियमनसहित स्वदेशमै काम गर्न पाउने अवस्था सिर्जना गर्नुपर्ने बताएका हुन् । 

राष्ट्रिय समावेशी आयोगका सदस्य हरिदत्त जोशीले श्रमको सम्मान गर्ने वातावरण बनाउँदै घरेलु श्रमिकको समय अनुसारको पारिश्रमिक तोकेर सामाजिक सुरक्षासहित राज्यले बनाएका कानुन नीतिको पूर्ण कार्यन्वयन भए यस क्षेत्रमा प्रसस्त रोजगारीको अवसर रहेको बताउनु भयो ।

उहाँले आफुले पनि गलैँचा मजदुरदेखिको अनुभव सङ्गाल्दै यस अगाडि विभिन्न ट्रेड युनियनमार्फत श्रमिकको हितका आवाज उठाउँदै आएको र हाल समावेशी आयोगमा पनि सोही क्षेत्रको अधिकारका लागि काम गरिरहेको बताउनु भयो । 

नेपाल गृह श्रमिक ट्रेढ युनियनका अध्यक्ष चन्द्रसागर लामाले घर, घरमा काम गर्ने घरेलु श्रमिकहरूलाई  सरकारले ल्याएको सामाजिक सुरक्षा योजनामा सहभागी भएर स्वास्थ सुरक्षा, वृद्ध अवस्थामा पेन्सन पाउने कोषमा सहभागी हुन र ट्रेढ युनियनमा समेत आबद्ध भएर आफ्नो अधिकारका लागि एकताबद्ध हुन आह्वान गर्नु भयो ।  

सो अवसरमा अखिल नेपाल महिला सङ्घ केन्द्रिय कमिटीका महासचिव पेम्वा शेर्पाले घरेलु श्रमिक र स्याहार अर्थतन्त्रबारे कार्यपत्र प्रस्तुत गर्दै विश्वका विभिन्न मुलुकसँगै नेपालमा पनि यस क्षेत्रमा श्रमिकको धेरै माग हुने अवस्था रहेकोले घरेलु श्रम क्षेत्रको व्यवस्थापनका लागि राज्यले नीतिगत व्यवस्थापन र रोजगारदाता, श्रमिकहरुले अपनाउनु पर्ने दायित्व र सुविधाको बारेमा पनि बुझाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले सन् २०११ मा नेपाल ट्रेड युनियन महासङ्घलगायतले यस क्षेत्रका अवसर र समस्याबारे अनुसन्धान गर्ने लक्ष्यले गरेको अध्ययनमा श्रमिक र रोजगारदाताले आफ्नो कर्तव्यबारे कम बुझेको र आफ्नो कामप्रति गौरव नगर्ने प्रवृत्ति भेटिएकोले यस क्षेत्रको श्रम बजारको व्यवस्थापन पक्षबारे जानकारी दिन कार्यक्रमहरू सञ्चालन हुँदै आएको बताउनु भयो ।

उहाँले यस क्षेत्रलाई व्यवस्थित बनाउन कामको महत्त्व बुझाउँदै स्थानीय तहले पनि घरेलुलगायत अन्य श्रमिकलाई पन्जीकरणको दायरामा ल्याउँदै श्रमको सम्मानको वातावरण तयार गर्न बजेट, कार्यक्रमसहित श्रमिक रोजगारदाता दुवै पक्षलाई सचेतनात्मक कार्यक्रममार्फत जागृत गर्दै जानुपर्नेमा जोड दिनु भयो ।

गलैँचा क्षेत्रको श्रमिकदेखि ट्रेड युनियनमार्फत सङ्गठित हुँदै अगाडि बढ्नु भएकी महासचिव शेर्पाले राज्यलाई नीति बनाउन झकझकाउने र श्रमिकहरूलाई पनि आफुले गरेको कामप्रति गौरव गर्ने,  अधिकारको माग पनि गर्ने र समय अनुसार श्रमिकहरूले क्षमता, सिप अभिवृद्धि गर्दै अगाडि बढ्नुपर्ने बताउनु भयो ।

उहाँले बुढानिलकण्ठ नगरपालिका टोखा नगरपालिका, कागेश्वरी मनोहरालगायतका स्थानीय तहले श्रमिकको पन्जीकरण  गर्ने र घरेलु श्रमिक सम्बन्धी कार्यविधी बनाउन पहल थालेको जानकारी दिनु भयो । 

घरेलु श्रमिक मञ्चका सचिव गोमा भण्डारीले घरेलु श्रमिकको श्रमको सहि मुल्याङ्कन र पारिश्रमिक, विदालगायत अन्य सुविधा वृद्धिका लागि सरोकारवालाको सुझाव सङ्कलन गरी राज्यको ध्यानाकर्षणका लागि अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको जानकारी दिनु भयो । 

सो अवसरमा घरेलु श्रमिकका रूपमा कार्यरत मन्जु लोहनी र नारायणी उपरकोटी लगायतले राज्यले तोकेको न्युनतम तलब अहिलेसम्म नपाएको, काम गर्न जाँदा घरकै सदस्यले समेत सहयोग नगरेको र बिदा नपाउने समस्या बढि रहेको अनुभवहरू सुनाउनु भएको थियो । 

त्यसैगरी लामो समयदेखि घरेलु श्रम गर्दै आउनु भएकी लक्ष्मी खत्रीले भने यस कामबाट आर्जन गरेको तलबले आर्थिक स्वतन्त्रता मिलेको, घर र बाहिरको दुवै काममा तालमेल मिलाउँदै काम गर्दा महिलालाई घरेलु श्रमको बजारले आत्मनिर्भर बनाउने अवसर दिएको बताउनु भयो ।