बेरुत (लेबनान), वैशाख ३० गते । दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली हवाई आक्रमणमा परी १३ जनाको मृत्यु हुनुका साथै खन्य १४ जना घाइते भएको जनाइएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले नबातियाह सहरमा इजरायली हवाई आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या पाँच जना पुगेको जनाएको छ ।
जसमा दुई जना घाइतेको अवस्था चिन्ता जनक भएकाले नागरिक सुरक्षा एजेन्सिको सहयोगमा उच्च निगरानीको साथ उपचार गरिरहेको जनाइएको छ । नबातीह जिल्लाको जेबचित सहरमा भएको हवाई आक्रमणमा लेबनानी सैनिक र एक सिरियाली नागरिकसहित चार जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।
बिन्ट जेबिल जिल्लाको कफार्डोनिनमा भएको हवाई आक्रमणमा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । गत मार्च २ देखि लेबनान विरुद्ध चलिरहेको इजरायली आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार ८८२ जना पुगेको लेबनानको स्वास्थ्य मन्त्रालयले मङ्गलबार घोषणा गरेको छ भने, आक्रमणका क्रममा आठ हजार ७६८ जना घाइते भएको जनाइएको छ । रासस/क्युएनए