गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २५ गते । नेपाल भाषाको साप्ताहिक पत्रिका लहनाले १३ औं वार्षिकोत्सव मनाएको छ । १२ वर्ष पूरा गरी १३ वर्ष प्रवेशको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा विभिन्न विधाका ८ जना व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।
प्रतिनिधिसभा सदस्य कलुभक्त माथेमा, काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दर शाक्य, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष लक्की चौधरीले संयुक्त रुपमा विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गर्नुभयो ।
सम्मानित हुनेहरुमा २५ हजार नगद राशीको लहना सुशीलवीरसिंह पत्रकारिता पुरस्कारबाट कलाकार तथा पत्रकार रवीन सायमी सम्मानित हुनुभयो । त्यस्तै, २० हजार नगद राशीको लहना सुशीलवीर सिंह पत्रकारिता पुरस्कारबाट पत्रकार सुनिल महर्जन, सोही राशीको लहना धर्ममोति पत्रकारिता पुरस्कारबाट पत्रकार राजु नापित र उत्तमकुमार श्रेष्ठ सम्मानित हुनुभयो ।
त्यसैगरी १० हजार नगद राशीको लहना केशब कृष्णवदन मातृभाषा पत्रकारिता पुरस्कारबाट कृष्णकाजी (केके) मानन्धर र शकुन्तला महर्जन पुरस्कृत हुनुभयो । त्यस्तै, १० हजार राशीको लहना सूर–शमिस्ठा सम्मानबाट निर्देशक पवन जोशी र अराध्यलक्ष्मी खड्गी सम्मानित हुनुभयो ।
सो अवसरमा सांसद कुलभक्त शाक्य, काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दर शाक्य, फोनिजका अध्यक्ष लक्की चौधरी, प्रेस काउन्सिल नेपालका प्रमुख अधिकृत झविन्द्र भुषाल, रश्मीला प्रजापति, कृष्णभक्त श्रेष्ठ, सुनिल महर्जन लगायतले लहना पत्रिकाको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रम लहना साप्ताहिक पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक नृपेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा भएको थियो । सो अवसरमा पत्रिकाको प्रवर्धनमा सहयोग प्रदान गर्नुहुने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।