• ७ वैशाख २०८१, शुक्रबार

दोब्बर बढी मतान्तरले झापा ५ बाट अध्यक्ष ओली निर्वाचित

blog

लक्की चौधरी / विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर ७ गते । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं. ५ बाट फराकिलो मतान्तरले विजयी बन्नुभएको छ । २८ हजार ५७६ मतान्तरले अध्यक्ष ओली विजयी बन्नुभएको हो ।

गठबन्धनको तर्फबाट उम्मेदवार रहनुभएका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई पराजित गर्दै दोब्बरभन्दा बढी मतान्तरले विजयी बन्नुभयो । अघिल्लो पटक पनि ओलीले कांग्रेसका अधिकारीलाई नै दोब्बर मतान्तरले पराजित गर्नुभएको थियो ।

एक लाख २ हजार १५० खसेको मतमध्ये ९८ हजार ६३१ मत सदर भएकोमा ओलीले ५२ हजार ३१९ मत प्राप्त गर्नुभएको छ । अधिकारीले २३ हजार ७४३ मत प्राप्त गर्नुभयो ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७४८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय झापा ५ ले जनाएको छ ।

२०४८ मा सम्पन्न आमनिर्वाचनमा तत्कालीन अवस्थामा झापा क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित अध्यक्ष ओली पहिलो संविधान सभा निर्वाचन बाहेक निरन्तर झापाबाट निर्वाचनमा उठेर जित हासिल गर्दै आउनुभएको छ ।

एमालेका नेता एवम् निर्वाचन परिचालन समिति झापा क्षेत्र नं. ५ का संयोजक देवेन्द्र दहालका अनुसार अध्यक्ष ओली विजय उत्सव मनाउन बिहीबार गृहनगर झापाको दमकमा आउने कार्यक्रम  छ ।

अध्यक्ष ओलीको जिम्मेवारी

अध्यक्ष ओली वि.सं. २००८ फागुन ११ गते इवा –२, तेह्रथुममा जन्मनु भए पनि उहाँहरु २०२० मा झापामा बसाइ सर्नुभयो । २०२३ मा मार्क्सवादी अध्ययन दलमा सङ्गठित भएपछि उहाँ २०२५ मा पूर्णकालीन राजनीतिक कार्यकर्ताको रुपमा संलग्न हुनुभएको थियो ।

२०२६ मा माघ नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएका अध्यक्ष ओलीले २०२७ जेठ ९ गते पूर्णकालीन नेताको रुपमा आन्दोलन परिचालनका लागि भूमिगत जीवन शुरु गर्नुभएको हो । २०३५ पुस ११ गते जेलमा रहँदा गठित नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) को संस्थापक नेताको हैसियत उहाँले प्राप्त गर्नुभयो ।

२०४७ जेठ १ मा पार्टीको युवा संस्था प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ, नेपालको संस्थापक अध्यक्षको जिम्मेवारीमा आउनुभएपछि २०४७ पुस २२ मा नेकपा (माले) र नेकपा (मार्क्सवादी) बीच एकीकरण, नवस्थापित नेकपा (एमाले) को संस्थापक केन्द्रीय सदस्यको भूमिका निर्वाह गर्नुभयो ।

२०४८मा बहुदलीय व्यवस्था स्थापनापछिको पहिलो आम निर्वाचनमा झापा –६ बाट संसदको तल्लो सदन, प्रतिनिधि सभाको सदस्यमा उहाँ निर्वाचित हुनुभयो । २०५१ को मध्यावधि निर्वाचनमा झापा –२ बाट प्रतिनिधि सभामा पुनः निर्वाचित हुनुभएको थियो । सोही वर्ष मङ्सिर १४ गते कम्युनिष्ट पार्टीको नेतृत्वमा गठित पहिलो सरकारको गृहमन्त्रीको भूमिका निर्वाह गर्नुभयो । 

अध्यक्ष ओली २०५६ मा झापा –६ बाट प्रतिनिधिसभामा पुनः निर्वाचित हुनुभयो । २०६३ मा गिरिजाप्रसाद कोइरालको नेतृत्वमा पुनः स्थापित संसदद्वारा उपप्रधानमन्त्री तथा विदेशमन्त्रीको जिम्मेवारीमा आउनुभएको थियो । २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा पराजित हुनु  अध्यक्ष ओली २०७० मङ्सिरमा भएको निर्वाचनमा झापा–७ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

सोहीअनुसार अध्यक्ष ओली २०७१ साउन १ गते नवौं राष्ट्रिय मधिवेशनबाट तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । २०७२ असोज २४ गते व्यवस्थापिका संसदबाट प्रधानमन्त्री पदमा पहिलो पटक निर्वाचित हुनुभएको थियो । २०७४ फागुन ३ गते अध्यक्ष ओली राष्ट्रपति विद्यादेवी भण्डारीबाट ४१ औं प्रधानमन्त्रीको रूपमा दोस्रो पटक शपथ ग्रहण गरी ४१ महिना प्रधानमन्त्रीको रुपमा जिम्मेवारी वहन गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा देशको आर्थिक समृद्धिका लागि जग हाल्ने काम गर्नुभयो । उहाँ २०७८ असार २९ गतेसम्म नेपालको प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुभएको थियो ।  

झापा निर्वाचन क्षेत्र ५ बाट पुनः निर्वाचित हुनुभएपछि उहाँको आगामी यात्रा पनि देशको नेतृत्व गर्ने गरी पार्टीले निर्णय गरिसकेको छ । एमाले नेतृत्वमा सरकार गठन हुने वातावरण बनेमा पार्टीको तर्फबाट उहाँलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय पार्टीले गरिसकेको छ ।