• २३ असार २०८२, सोमबार

अस्पतालको स्वामित्व प्रदेश सरकारलाई

blog

हस्ताक्षर कार्यक्रममा सहभागी व्यक्तित्वहरु । तस्बिर : एकेन्द्र महता

अछाम, असार २३ गते । अछाम जिल्लाको साँफेबगर नगरपालिका ७, स्थित बयालपाटा अस्पतालको पूर्ण स्वामित्व सुदूरपश्चिम प्रदेश सरकारले ग्रहणको प्रक्रियाले औपचारिकता पाएको छ । विसं. २०८२ साल भदौ १ गतेदेखि अस्पताल पूर्णरुपमा प्रदेश सरकारको मातहतबाट सञ्चालनमा आउने गरी भएको सम्झौता अनुरुप प्रदेश सरकारले स्वामित्व ग्रहणको प्रक्रियाले औपचारिकता पाएको हो ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा अस्पतालको स्वामित्व हस्तान्तरणसम्बन्धी सम्झौता पत्रमा न्याय हेल्थ नेपालका तर्फबाट कुन्दन दीक्षित र सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले हस्ताक्षर गर्नुभएको हो ।

विगत एक दशकभन्दा बढी समयदेखि न्याय हेल्थ नेपालद्वारा सञ्चालित बयालपाटा अस्पतालले सुदूरपश्चिमका दूरदराजका जिल्लाहरुमा निःशुल्क, गुणस्तरीय र अत्यावश्यक स्वास्थ्य सेवा पुर्‍याउँदै आएको छ, तर अब प्रदेश सरकार आफैंले संस्थागत रुपमा जिम्मेवारी लिन थालेसँगै यो अस्पतालको आगामि यात्राले नयाँ मोड लिने अपेक्षा गरिएको छ ।

सम्झौता हस्ताक्षर भई सकेपछि सामाजिक विकास मन्त्री मेघराज खड्काले भन्नुभयो, “अब बयालपाटा अस्पताललाई संस्थागत, उत्तरदायी र पारदर्शी ढङ्गले सञ्चालन गर्न प्रदेश सरकार प्रतिबद्ध छ । हामी प्रदेश सभामा आवश्यक गठन आदेश पेस गरेर पारित गर्नेछौं, त्यसपछि भदौ १ गतेदेखि अस्पतालको सम्पूर्ण सेवा सञ्चालन अधिकार प्रदेश सरकारले ग्रहण गर्नेछ ।”

अस्पताललाई प्रदेश सरकार मातहतको ५० शय्याको प्रादेशिक अस्पतालको रुपमा सञ्चालन गर्ने गरी स्वामित्व हस्तान्तरण र ग्रहणसम्बन्धी १७ बुँदे सम्झौता भएको मन्त्री खड्काले जानकारी दिनुभयो । अस्पताल प्रदेश सरकार मातहत आई सकेपछि गठन आदेशलगायतका अन्य प्रक्रियाको काम लगत्तै सुरुवात गर्ने मन्त्री खड्काले बताउनुभयो । बयालपाटा अस्पतालको गुणस्तरिय स्वास्थ्य सेवाका कुनैपनि कमी आउन नदिने विषयमा आफू प्रतिबद्ध रहेको खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो केवल प्रशासनिक हस्तान्तरण होइन, प्रदेश सरकारको स्वास्थ्य प्रणाली बलियो बनाउने दिशामा ऐतिहासिक कदम हो । सुदूरपश्चिमका नागरिकको स्वास्थ्यमा अब राज्यले प्रत्यक्ष जिम्मेवारी लिने समय आएको छ ।”

प्रदेश सरकारले बयालपाटा अस्पतालको स्वामित्व ग्रहणसँगै त्यसको पूर्वाधार, जनशक्ति, सेवा गुणस्तर र संस्थागत उत्तरदायित्वलाई अझ स्पष्ट रुपले नीतिगत संरचनामा बाँध्ने तयारी गरेको छ । मन्त्री खड्काले त्यसको लागि आवश्यक मानव स्रोत, सेवा निरन्तरता, तथा स्थानीय समन्वयलाई प्राथमिकतामा राखिने बताउनुभयो ।

अब भदौ १ गते देखि बयालपाटा अस्पताल सुदूरपश्चिम प्रदेश सरकारको मातहतमा विधिवत रुपमा सञ्चालनमा आउँदा यो सङ्क्रमण केवल एक संस्थागत पुनर्संरचना मात्र नभई, ग्रामीण स्वास्थ्य पहुँचको दिगो र समावेशी यात्रा तर्फको बलियो पाइलाको रुपमा पनि हेरिएको छ । यससँगै बयालपाटा अस्पताल सुदूरपश्चिम प्रदेशको स्वास्थ्य प्रणालीभित्र एक सशक्त, स्थायी र जवाफदेही संरचनाका रुपमा उदाउने अपेक्षा गरिएको छ ।