• २३ असार २०८२, सोमबार

स्वदेश फर्कियो महिला फुटबल टोली

blog

स्वदेश फर्किएको नेपाली महिला फुटबल टोली ।

काठमाडौं, असार २३ गते । उज्वेकिस्तानमा सम्पन्न एसिसी महिला एसियन कप छनोट–२०२६ खेलेर नेपाली महिला फुटबल टोली सोमबार बिहान स्वदेश फर्किएको छ । टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । 

विमानस्थलमा नेपाली टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले छनोट खेलमा उत्कृष्ट प्रदर्शन गरे पनि चाहेको नतिजा निकाल्न नसकेको बताउनुभयो । "समूहका अघिल्ला दुई खेलमा राम्रो भयो । उज्वेकिस्तानसँग पुनरागमन गरेर पनि टाइब्रेकरमा हार्नुपर्दा दुःख लागेको छ । यस हारले मलाई लामो समय पिरोल्नेछ । मलाई विश्वास गरेर कप्तानको जिम्मेवारी दिनुभएकोमा प्रशिक्षकप्रति आभारी छु । मेरो खेल करिअरमा योभन्दा ठूलो प्रतियोगिता अर्को थिएन । पेनाल्टीमा चुक्दा निकै खल्लो भयो । अन्तिम खेलको नतिजाले हाम्रो भविष्य देखाउनेवाला थियो । तर रिजल्ट दिन नसक्दा सबै खेलाडीलाई पछिसम्म यस कुराले झस्काउनेछ," साम्बाले भन्नुभयो । 

नेपाल समूह ‘एफ’ को अन्तिम खेलमा घरेलु टोली उज्वेकिस्तानसँग टाइब्रेकरमा ४-२ गोलले पराजित भएको थियो । नेपालले समूहको पहिलो खेलमा खेलमा लाओसलाई ९–० र दोस्रो खेलमा श्रीलङ्कालाई ८-० गोलले पराजित गरेको थियो । नेपाली टोली फर्किए पनि टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्ड भने उज्वेकिस्तानबाटै बेल्जियम जानुभएको एन्फाले जनाएको छ ।