लक्ष्मण पौडेल
भैरहवा, असार २२ गते । रुपन्देहीको कञ्चन गाउँपालिकाका ४५१ जना परिवारले एक साथ लालपुर्जा प्राप्त गरेका छन् । विगत ४२ वर्षदेखि बसोबास गर्दै आएका कञ्चन–५, गरगरेका बासिन्दालाई आइतबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमि समस्या समाधान आयोगका केन्द्र र जिल्ला नेतृत्व एवम् मालपोतका सम्बन्धित अधिकारीहरुको रोहबरमा लालपुर्जा वितरण गर्नुभएको हो ।
अर्थमन्त्री पौडेलले ज्येष्ठ नागरिकसमेत रहनुभएका ९८ वर्षीय भानुभक्त उपाध्यायलाई जग्गाधनी पुर्जा हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले २०८४ साल नपुग्दै देशभरका सबै भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपूर्जा दिलाउने गरी काम गरेको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो–‘‘यो सरकारको अठोट हो, यसलाई जसरी पनि पूरा गरेर अघि बढ्छौँ, अब कन्चनको मात्रै होइन, रुपन्देहीको मात्रै होइन देशभर रहेका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउने छौँ, हामीले त्यसलाई २०८४ अघि नै पूरा गर्ने सङ्कल्पका साथ काम गरेका छौँ ।’’
उहाँले भन्नुभयो, ‘‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले यसमा स्पष्ट निर्देशन दिइरहनुभएको छ, जो भूमिहीन, बेघरबार छन् यसको स्थायी समाधानको लागि दृढ संकल्पसाथ काम भएको छ, यसलाई सरकारले मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको छ ।’’
उपप्रधानमन्त्री पौडेलले आफूहरूले निर्वाचनको बेला भूमिहीनसँग गरेको वाचाअनुसार कामलाई अघि बढाएको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो–‘‘हामीले निर्वाचनको बेला भनेका थियौँ सिरानीमुनि लालपूर्जा राखेर सुत्न पाउनुहुन्छ भनेर भनेका थियौँ त्यो बेला भावनात्मकरूपमा भनियो कि भन्ने डर पनि थियो तर अहिले त्यसैका आधारमा काम भइरहेको छ । त्यसको उदाहरणका रूपमा देशैभर काम भइरहेको छ । धेरैले बिचबिचमा सोधिरहनु भएको छ, जसले पाउनुभयो अब नपाएकाहरुको सबै प्रक्रियामा छन् ।’’
मन्त्री पौडेलले यसका लागि बनेको भूमि समस्या समाधान आयोगले द्रूतरुपमा काम गरेको र यसको परिणाम सुरु भइरहेको जानकारी पनि दिनुभयो ।
‘‘केन्द्रमा आयोगले द्रूतरुपमा काम गरेको छ । जिल्लामा आयोगले त्यसैअनुसार काम गरेको छ । प्रदेश र स्थानीय सरकारहरूले पनि त्यसै गरेर समन्वय गरेका छन्’’ उहाँले भन्नुभयो–‘‘यो समस्या समाधान गर्न हामी दृढ छौँ, अब चिन्ता गरेर बस्ने होइन स्थायी समाधानका लागि अघि काम बढाएको छौँ ।’’
मन्त्री पौडेलले अहिलेको गठबन्धनको आयु २०८४ सम्म भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो–‘‘अब एउटा मात्रै समस्या होइन देशका सबै समस्या समाधान गर्ने अठोट लिएर अघि बढेका हौं, २०७९ को निर्वाचनबाट आएका परिणामअनुसार कसैको बहुमत आएन, संसदमा धेरै अभ्यास भयो तर अरू गठबन्धन काम नलागेर निकासका लागि अहिलेको सरकार बनेको हो, यसैलाई २०८४ सम्म स्थायी रूपमा यो गठबन्धनले काम गर्नेछ यो स्थायित्वका लागि गरिएको हो ।’’
उहाँले अब नकारात्मक सोचका साथले होइन सकारात्मक सोचले अघि सबैलाई आग्रह गर्दै भन्नुभयो– ‘‘यसमा जनताको साथ चाहिन्छ सिंगो देशकै विकासको अभियानलाई लिएर हामी अघि बढेका छौँ ।’’
कार्यक्रममा भूमि आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाल, रुपन्देही क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरे, पूर्वसांसद भरत शाह, लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाललगायतले सम्बोधन गर्नुभएको थियो ।