गोरखापत्र अनलाइन
काठमाडौं, साउन १४ गते । आदिबासी जनजाति आयोग र नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) विच समन्वय र सहकार्य गरी आदिबासी मुद्दामा सहकार्य गरी अघि बढ्ने विषयमा पदाधिकारीहरुबिच सहमति बनेको छ ।
पुल्चोकस्थित आयोगको कार्यकक्षमा आज आयोजित छलफल कार्यक्रममा दवै संस्थाका पदाधिकारीबिच सो सहमति बनेको हो । आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिबासी आयोगले गरेको कामलाई मिडियाको पक्षबाट जनतामाझ लग्नुपर्ने आवश्यकता रहेकाले फोनिजसँग सहकार्य गर्न खोजेको बताउनुभयो ।
फोनिजको उद्देश्य र लक्ष्य पनि आदिबासी विषयवस्तुको पैरवी गर्ने र सञ्चार माध्यममार्फत जनतामाझ पु¥याउने रहेकाले आयोगले फोनिजसँग सहकार्य गर्न खोजेको अध्यक्ष थापामगरले बताउनुभयो । आयोगले गरेको गतिविधि मिडियामा जान नसकेपछि आयोगको कार्य प्रगति ओझेलमा पर्नेगरेको उहाँको भनाइ छ ।
आयोगका अर्का सदस्य सूर्यबहादुर गुरुङले आदिबासी जनजाति पत्रकारसँग समन्वय र सहकार्य नहुँदा कतिपय विषयहरु जनतामाझ पुग्नुपर्ने भए पनि लग्न नसकिएकाले फोनिजसँग मिलेर काम गर्न खोजेको बताउनुभयो । फोनिज आदिबासी पत्रकारको साझा संस्था भएकाले समन्वय गरेर काम गर्न सहज हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
आयोगका सदस्यहरु शरण राई, मिन श्रीसमगर, रिना रानाले पनि फोनिजसँग मिलेर काम गर्दा आदिबासीको मुद्दा र आयोगले गरेको कार्य प्रगति जनता र सरकारसमक्ष पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा फोनिजका अध्यक्ष लक्की चौधरीले आयोगसँग मिलेर काम गर्न फोनिज तयार रहेको बताउनुभयो । फोनिजले मिडियाको तर्फबाट आयोगलाई सघाउन तयार रहेको भन्दै उहाँले भन्नुभयो, “आदिबासी जनजातिको सफलताको कथा, संविधानमा सुनिश्चित गरिएका अधिकार सम्बोधनका निम्ति ऐन कानुन निर्माणमा दवाव दिने लगायतको काममा हाम्रो सहकार्य र सहयोग रहन्छ ।”
छलफल कार्यक्रममा आयोगका सचिव बुद्ध गुरुङ, फोनिजका पदाधिकारीहरुमा उपाध्यक्ष अन्जना शिल्पकार, महासचिव समिर बलामी, संस्थागत सचिव सुनिल महर्जन, कोषाध्यक्ष अर्जुनबहादुर तामाङ लगायतको सहभागिता थियो । सो अवसरमा आयोगका अध्यक्ष थापामगरले नवनिर्वाचित फोनिजका पदाधिकारीहरुलाई बधाई तथा स्वागत गर्नुभयो ।