स्मिता अर्जेल
मकवानपुरगढी, साउन १५ गते । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०८१–८२ मा भएका प्रगति विवरण सार्वजनिक गरेको छ ।
गत साउन ९ मा मन्त्रालयका मन्त्री अमनकुमार मास्केले मन्त्रालयको नेतृत्व गर्नुभएको १ वर्ष पूरा भएसँगै यो अवधिमा मन्त्रालयले गरेका मुख्य–मुख्य उपलब्धि र चालू आर्थिक वर्षको प्राथमिकता र कार्यदिशा मन्त्रालयले सार्वजनिक गरेको हो ।
गत आर्थिक वर्षमा मन्त्रालयले ७५.१ प्रतिशत पुँजीगत खर्च गरेको मन्त्रालयका मन्त्री अमनकुमार मास्केले जानकारी दिनुभयो । मन्त्रालयले विपत्तिबाट क्षति भएको संरचनाको अत्यावश्यक पुनर्निर्माणका लागि १५ करोड २५ लाख बजेट स्वीकृत गराई पुनर्निर्माणको कार्य सुरु गरिएको उहाँले बताउनुभयो ।
विपद् व्यवस्थापनमा अधिक समय खर्चिए पनि योजनाहरू प्रभावकारी ढङ्गले कार्यान्वयन भएको उहाँको दाबी छ । विपत्तिमा क्षति भएका भौतिक संरचनाहरुको विवरण अद्यावधिक गरी पुनर्निर्माण र पुनःस्थापनाका लागि नेपाल सरकार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा बजेट व्यवस्थापनका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत करिब ५ अर्ब ५० करोड बजेटसहितको विपद् पुनःनिर्माण रुपरेखासहितको कार्ययोजना पेश गरिएको उहाँले बताउनुभयो ।
मन्त्रालयका अनुसार रुग्ण आयोजनाहरुको व्यवस्थापनतर्फ विगतदेखि समस्याग्रस्त रहेको ५५ वटा आयोजनामध्ये २१ वटा आयोजनाहरू सम्पन्न भइसकेका छन् । ३४ आयोजना निर्माणमा क्रियाशील छन् ।
यो अवधिमा विपदका बेला राष्ट्रिय लोकमार्ग अवरुद्ध हुँदा हेटौंडा–कुलेखानी–काठमाडौं लगायत ३ मार्ग छोटो समयमा पुनः सञ्चालनमा ल्याइएको छ । गत आर्थिक वर्षमा मन्त्रालयले ६०१.५७ किलोमिटर सडक स्तरोन्नति गरेको छ ।
यस अवधिमा ९०.४२ किलोमिटर नयाँ ट्रयाक निर्माण, १४८.९३ किलोमिटर सडक ग्राभेल स्तरीकरण, ७०३.६५ किलोमिटर सडक मर्मत सम्भार, १२१ वटा पुल÷कल्भर्ट निर्माण, ८ वटा सरकारी भवन निर्माण, ८ वटा जनता आवास कार्यक्रम सम्पन्न गरेको छ ।
बागमती प्रदेशले पहिलो पटक बागमती प्रदेश भवन नीति २०८१ पारित गराई जग्गा एकीकरण ऐन २०८१ को मस्यौदा तयार गरेको छ । प्रदेश सहरी नीति २०८२ मन्त्रिपरिषदमा पेश गरेको छ । हेटौंडाको व्यवस्थित विकास योजनामा ग्रेटर हेटौंडा गुरुयोजना तयार पारिएको छ ।
आगामी महत्वपूर्ण योजना
भौतिक पूर्वाधार विकास मन्त्रालयले दोस्रो आवधिक योजना २०८१–८२ र २०८५–८६) अन्तर्गत समावेशी, सन्तुलित र नागरिक केन्द्रित पूर्वाधार विकासमा ध्यान दिने योजना बनाएको छ । आगामी वर्ष २०८२–८३ का लागि मन्त्रालयको कुल बजेट २४ अर्ब ८० करोड १९ लाख रुपियाँ विनियोजन गरिएको छ ।
आर्थिक वर्ष २०८२–८३ का लागि बागमती प्रदेश सरकारले सार्वजनिक गरेका योजनाहरूले प्रदेशको सांस्कृतिक, भौगोलिक र सामाजिक विविधतालाई सम्बोधन गर्दै समावेशी, दिगो र पूर्वाधारमैत्री विकासतर्फ ठोस कदम चाल्ने मन्त्रालयको दावी छ ।
“हिमवत्खण्ड” ग्रन्थमा वर्णित ६४ शिवलिङ्गको परिक्रमालाई आधार मानेर बागमती प्रदेश सरकारले ‘शिव सर्किट परियोजना’ अघि सारेको छ । सिन्धुलीको कुशेश्वर महादेवदेखि पशुपतिनाथसम्मको परिक्रमालाई स्तरोन्नति गर्दै पर्यटन, सीप र रोजगारी विकासलाई पनि समेट्ने गरी बहुआयामिक दृष्टिकोण राखिएको छ ।
परियोजनाको सम्भाव्यता अध्ययन सकिएको र आगामी वर्षदेखि निर्माण कार्य प्रारम्भ हुनेगरी बजेट विनियोजन भएको छ । प्रदेशको भौगोलिक चरित्र झल्किने गरी सबैभन्दा होचो भूभाग चितवनको गोलाघाट र सबैभन्दा अग्लो भूभाग गणेश हिमाल क्षेत्रमा ‘अर्बन पार्क’ र ‘ईक–ट्रेल’ निर्माणका लागि बजेट छुट्याइएको मन्त्रालयले जनाएको छ ।
शहरी, उपशहरी र ग्रामीण क्षेत्रलाई समेट्ने तीनवटा मोडालिटी अन्तर्गत बस्ती विकास योजनामा बजेट विनियोजन भएको छ । जसमा चकमके बजार (सिन्धुली), इन्द्रावती गाउँपालिका केन्द्र (सिन्धुपाल्चोक), सल्यानटार बजार (धादिङ)) जस्ता पुराना बस्तीहरूलाई मौलिकता जोगाउँदै पुनः विकास गरिने भएको छ ।
हेटौंडा–१६,१७,१८, तालढुङ्गा (काभ्रे), खाँडादेवी (रामेछाप) लगायत स्थानमा (ल्यान्ड पुलिङ) मार्फत दिगो शहरीकरणको नमुना विकास गरिने मन्त्रालयको लक्ष्य छ । मसार मगरगाउँ, चौंरीदेउराली (काभ्रे) लगायतका उच्च जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिनेछ ।
दक्षिणकाली, काठमाडौँमा आधुनिक फोहोरमैला प्रशोधन केन्द्र निर्माणका लागि प्रारम्भिक चरणको बजेट विनियोजन गरिएको छ । परम्परा, कला, संस्कृति र इतिहासको समायोजन गर्दै हेटौंडामा सांस्कृतिक ग्राम निर्माण गर्ने तयारीमा प्रदेश सरकार जुटेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी चेपाङ, बोटे, बनकरिया लगायतका समुदायलाई लक्षित गर्दै एकीकृत बस्ती तथा नयाँ आवास निर्माण कार्यको निरन्तरता दिइएको छ ।