अविनाश चौधरी
धनगढी, साउन १५ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभा बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नुभएको हो ।
उहाँले सभामा पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३० जना प्रदेशसभा सदस्यले मत दिनुभयो । नेपाली कांग्रेसबाट १८, नेकपा (एमाले) का ११ जना र प्रतिपक्षी दल नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीले मुख्यमन्त्रीलाई विश्वासको मत दिनुभएको हो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा २७ जनाले समर्थन जनाएमा बहुमत पुग्ने गर्दछ ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा गरी १५ जनाले प्रस्तावको विपक्षमा मत दिएका थिए । नागरिक उन्मुक्ति पार्टीका ६ जना प्रदेशसभा सदस्य अनुपस्थित रहनू भएको थियो । एकीकृत समाजवादीका एक प्रदेशसभा सदस्य निलम्बित हुनुहुन्छ ।
केही दिनअघि मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिका रामेश्वर चौधरीलाई मन्त्री पदबाट बर्खास्त गरेपछि सो पार्टीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले एकै कार्यकालमा दोस्रोचोटी गरी प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत लिनु भएको हो ।
सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले पेस गर्नुभएको विश्वासको मत सम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्नुभयो । मुख्यमन्त्री शाहले यसअघि, २०८१ साउन ३० गते दोस्रो पटक सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको थियो । त्यसबेला नेपाली कांग्रेस, एमाले र नागरिक उन्मुक्तिका गरी ३६ जनाले उहाँलाई विश्वासको मत दिएका थिए ।
यसैगरी, २०७९ फागुन २१ गते शाहले प्रदेश सभाबाट पहिलो पटक विश्वासको मत प्राप्त गर्नुभएको थियो । उहाँको पक्षमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र गरी ४१ जनाको मत परेको थियो ।