पार्वती बुढा रावत २१ वर्षको कलिलो उमेरमा छाउगोठमै मरिन् । उनी साफेबगर नगरपालिका ३, अछाम जिल्लाकी बासिन्दा थिइन् । प्रतिवेदनले उनको छाउगोठमा धुवाँले निसास्सिएर मरेको अनुमान लगायो । उनको दाहसंस्कार भयो, सकियो । धुँवाबाटै निसास्सिएर १५ वर्षीय रोसनी तिरुवाको पनि किशोरावस्थामै छाउगोठमै इहलीला समाप्त भयो । अछाम जिल्लाकै २६ वर्षीय डम्बर उपाध्याय पनि छाउगोठमै मरिन् । उनको मृत्यु अहिलेसम्म पनि शङ्कास्पद नै छ ।
२०७५ सालको फागुन महिनामा एक ३५ वर्षीय आमाको (अम्बा बोहोरा) छाउगोठमै मृत्यु भयो । साथमा उनका ९ र १२ वर्षीय दुई छोरा (अमित र सुरेश) पनि थिए । तिनै जना आमा छोराको आगोको धुवाँले निसास्सिएर ज्यान गएको भन्ने कारण खुल्यो । यो घटना बाजुरा जिल्लाको हो । घरमा कोही थिएन सायद । त्यसैले छोराहरूलाई पनि साथमै लिएर छाउगोठ गइन् र सँगै सुताइन् । उनीहरू त्यसै रात निसास्सिएर मरे । गाउँलेहरूलाई उनीहरू मरेको थाहै भएन । धेरै दिनसम्म कोही नदेखिएपछि उनीहरू छाउगोठमै मृत अवस्थामा भेटिए । यो बीभत्स र कारुणिक मृत्यु थियो ।
अस्ति भरखर मात्र असार महिनाको २९ गते कमला आउजी पनि छाउगोठमै मरिन् । उनी कन्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका, वडा नं. १, निगालीकी स्थानीय बासिन्दा हुन् । जम्मा २८ वर्षीय कमला आउजी छाउगोठमा मरिन् । सुतिरहेको अवस्थामा उनको गालामा सर्पले डस्यो । यसै सर्पदंशका कारण उनको निधन भयो । इन्सेक नेपालको प्रतिवेदन अनुसार २०६३ देखि २०७३ सम्मको दशकमा १४ जना महिला छाउगोठमा मेरेको तथ्याङ्क छ । ज्यान गुमाउनेहरू १४ वर्षदेखि ३५ वर्ष उमेर समूहका छन् । छाउगोठकै कारण यी
सबैजनाले अकालमै ज्यान गुमाउनु प¥यो । यसमा समाजको कुनै पनि दोष देखिँदैन । त्यो सबै दोष छाउ र छाउपडीकै हुन्छ । बुज्रुक समाज सबै जोगिन्छन् ।
यस्ता छाउ र छाउपडीका कथा र कहानी सुन्न थालेको पनि धेरै भयो । न यसको अन्त्य हुन्छ न त यसले निकास पाएको छ । विशेष गरी सुदूरपश्चिम र कर्णालीमा यस्ता हृदयविदारक घटना धेरै हुन्छन् । अझै कर्णालीभन्दा पनि सुदूरपश्चिमतिर छाउलाई कडा रूपमा वर्जित गरिन्छ । यसको मतलब सुदूरपश्चिममा छाउलाई छिः छिः र दुरदुर गरिएको छ भन्ने कुरा सजिलै बुझ्न सकिन्छ । यो क्षेत्रमा छाउ भएको बेला छोयो भने सर्वनाशै हुन्छ भन्ने मान्यता छ । घरको जगसमेत छुन दिइँदैन । आफू बस्ने घर भलै पक्की किन नहोस् छाउ बस्ने गोठ भने साँघुरो सुँगुरको खोर जत्रै बनाइएको हुन्छ तर काममा भने वञ्चित गरिन्न ।
छाउगोठ सानो र धेरै साँघुरो हुन्छ । खुट्टा तानेरसम्म सुत्न नमिल्ने गरी बनाइएको हुन्छ । झ्याल वा कुनै हावा आउने दुलोसमेत हुँदैन । ढोका पनि मुस्किलले छिर्न सकिने मात्रै बनाइएको हुन्छ । त्यसैभित्र छेवैमा आगो बाल्ने चुलो हुन्छ । ओढ्न ओछ्याउनका लागि लुगाकपडा धेरै हुँदैन । भए पनि छोइने डरले धेरै र बाक्लो कपडा छुई भएको बेला ओढ्न दिइन्न । जाडोबाट बच्न राति आगो बालिन्छ र यसैको कारण अनिष्ट हुन जान्छ । धेरै जसो छाउपडी छाउगोठमा धुवाँ निसास्सिएर मर्ने र आगोमा पोलिएर मरेको पाइन्छ । कोही सर्पदंशका कारण ज्यान गुमाउँछन् । कोही जङ्गली जनावरको आक्रमणबाट मर्छन् । कोही मानवरूपी दानवको आक्रमणका कारण ज्यान गुमाउँछन् ।
नारीवादीहरू भन्छन्, महिनावारी एक प्राकृतिक प्रक्रिया हो तर समाजले त्यसलाई अशुद्धता र अर्थहीनताको रूपमा हेर्छ । छाउपडी प्रथाले महिलालाई शारीरिक, मानसिक र आर्थिक रूपमा कमजोर बनाउँछ । यो महिला दमनको अर्थतान्त्रिक रूप हो । यस्ता महिलाको स्कुल हाजिरी, काममा उपस्थिति, उत्पादकत्वमा पनि ह्रास ल्याउँछ । यहाँ मैले छाउलाई पुँजीवादी प्रवृत्तिमा जोड्न खोजेँ । पुँजीवादी प्रणालीमा महिला दोहोरो शोषणमा पर्छन् । पुँजीवाद र पितृसत्तात्मक सोच एक आपसमा मेल खान्छ । श्रमिकको हैसियत र लिङ्गको आधारमा महिलाहरू दोहोरो शोषणमा पर्छन् । पुँजीवादी प्रणालीमा श्रमिकलाई न्यून ज्यालामा काम गराइन्छ । महिलाहरू पनि श्रमिकका रूपमा न्यून ज्याला मजदुरी, अस्थायी रोजगार र असुरक्षित काममा संलग्न हुन्छन् । धेरै जसो महिला मजदुरले समान काम गरे पनि पुरुषको तुलनामा कम ज्याला पाउँछन् । कारखाना, गार्मेन्ट, कृषि क्षेत्रमा काम गर्ने महिला न्यून पारिश्रमिकमा लामो समयसम्म काम गर्छन् । जहाँ मजदुर, सुरक्षा र अधिकारको सुनिश्चितता हुँदैन ।
पुँजीवादले पितृसत्तात्मक संरचनालाई बल पु¥याउँछ । महिलामाथि घरभित्रको कामको भारी छुट्टै छ । जसको पारिश्रमिक हुँदैन । कामको गणना पनि गरिँदैन । यस कारण महिलालाई अर्थतन्त्रमा मान्यता दिइँदैन तर पुँजीवादी अर्थतन्त्र त्यसैको भरमा चलिरहेको हुन्छ । उदाहरणका रूपमा महिलाबाट घरमा निःशुल्क सेवा लिइन्छ, यसले श्रमिक पुरुषको काममा योगदान पु¥याउँछ तर मूल्याङ्कन गरिँदैन । महिलालाई घरमा घरका सदस्यको स्याहार सुसार र रेखदेखको भूमिकामा राखिन्छ । यसले महिलाको व्यक्तिगत, आर्थिक र सामाजिक स्वतन्त्रता हनन गर्छ ।
महिलालाई भोग्यताका रूपमा पनि प्रयोग गरिएको छ । पुँजीवादले महिलाई एक ‘उपभोक्तावादी वस्तु’ को रूपमा प्रस्तुत गर्छ । विज्ञापन, मिडिया, सौन्दर्य उद्योग र यौन पर्यटन जस्ता क्षेत्रमा महिलाको शरीरलाई बजारको वस्तु बनाइन्छ । शरीर अनुसार मोलमोलाई गरिन्छ । यसबाट पुरुष वर्ग लाभान्वित हुन्छ । वर्गमा आधारित शोषणले महिलाहरूको आर्थिक अस्तित्व कमजोर बनाउँछ भने लिङ्गमा आधारित शोषणले सामाजिक स्थिति, अधिकार र पहिचानलाई दबाउँछ ।
नेपालको ग्रामीण समाज अझै पनि पितृसतात्मक र परम्परागत नै छ । पुँजीवादले ग्रामीण क्षेत्रका पुँजीहरू सहरमुखी बनाउँछ । ग्रामीण महिलालाई शिक्षा, स्वास्थ्य र रोजगारीमा पछाडि धकेल्छ । यो अवस्थाले छाउपडी जस्ता परम्परागत धार्मिक अन्धविश्वासी अभ्यास अझै बाँकी रहन सहयोग गर्छ । पुँजीवादी प्रणालीमा महिलाको दोहोरो शोषणलाई महिनावारीसँग जोड्न सकिन्छ । महिनावारीको बेला महिलाको जिउ कमजोर र थकित हुन्छ तर काम गर्न रोक लगाइन्न । कामको श्रमिक हक पनि उनीहरूमा हुँदैन । आराम र विश्रामको अधिकार नभएको अवस्थामा महिलाको शारीरिक र मानसिक शोषण भइरहेको हुन्छ । अग्रजकै इसारामा महिलाहरू चल्नुपर्ने बाध्यता हुन्छ । छाउगोठमा बस्न बाध्य गराउने पनि यही वर्ग हो ।
पछिल्लो समय मध्यम वर्गीयभन्दा न्यूनवर्गीय परिवारका महिलाहरूले छाउको पीडाबाट धेरै सास्ती भोग्नु परिरहेको छ । गरिब महिलालाई बोक्सीको आरोप लागे जस्तै गरिब महिलालाई बढी छाउको बेलामा दुरदुर गरिन्छ । हुनेखानेले घरको आसपास र घरभित्र छाउ बस्ने ठाउँ बनाएका हुन्छन् । हुनेखानेका महिलाहरू महिनावारीमा घरभित्रै बसे पनि उनीहरूमाथि कसैको औँला उठ्दैन । गरिबको घरको खानापानी नै वर्जित गरिन्छ । यो पनि पुँजीवादको उदाहरण नै हो । पितृसत्ताले छाउलाई लाजको कुरा बनाउँछ भने पुँजीवादले त्यसको फाइदा उठाउँछ । छाउ भएको बेलामा प्रयोग हुने सामग्री जस्तै : सेनेटरी प्याड, साबुन, पेनकिलर जस्ता चीजवस्तुमा कर असुल्ने काम हुन्छ । यो पनि महिलामाथिको आर्थिक शोषण हो । तिम्रा भित्री वस्त्रहरू धोएर घाममा नसुकाउ भन्छ । घाममा सुक्न नपाउँदा त्यस्ता वस्त्रहरू सङ्क्रमित हुन्छन् र सङ्क्रमित वस्त्रको प्रयोगले रोग निम्तिन्छ । यो सामाजिक र मानसिक शोषण हो ।
अरू बेला छिः छिः र दुरदुर गरिए पनि कामको बेलामा भने छाउ गौण हुन्छ । महिला मजदुरलाई छाउको बेला काममा छुट्टी दिइँदैन । कारखाना, गार्मेन्ट वा फ्याक्ट्रीमा छाउको व्यवस्थापनका लागि आवश्यक शौचालय, पानी, प्याडको व्यवस्थापन गरिएको हुँदैन । श्रममा समानता भए पनि शारीरिक आवश्यकताको बेवास्ता भएको पाइन्छ । यो भनेको लैङ्गिक शोषण हो । त्यसैले छाउ भएको बेलामा महिलाका लागि शारीरिक पीडा, सामाजिक अपमान र आर्थिक शोषणबाट गुज्रिनु पर्छ । घरबाहिर काम नगर्ने महिलालाई पनि छाउमा कामबाट छुटकारा मिल्दैन । झन् मेलापात र घाँस दाउराको चटारो बढ्छ । यो भनेको पुँजीवादी प्रणालीको जीवित प्रमाण हो । पुँजीवादले यसलाई झन् बलियो बनाएको छ ।
नेपालको संविधान र मुलुकी फौजदारी संहिता २०७४ अनुसार छाउपडी प्रथा गैरकानुनी छ । २०७५ सालदेखि छाउपडी बस्न बाध्य पार्ने वा बस्ने दुवैलाई तीन महिना जेल वा जरिबाना गर्न सकिने कानुनी प्रावधान छ तर अहिलेसम्म पनि यसको कुनै प्रवाह नगरी छाउगोठ ज्युँका त्युँ छन् । महिलाको अकाल मृत्यु रोकिएको छैन ।