• १६ साउन २०८२, शुक्रबार

विदेशी भूमिमा पुगेर नेपालीले कमाएको अनुभव देश विकासमा फर्काउनुपर्छ : डा. महत

blog

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महत ।

स्पेन, साउन १५ गते। गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनको नवौं राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथि तथा नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले लोकतान्त्रिक परिवर्तनले नेपाली समाजमा ल्याएको व्यापक रूपान्तरण, प्रवासमा रहेका नेपालीको महत्त्व र सामाजिक सञ्जालको चुनौतीबारे विचार व्यक्त गर्नुभएको छ ।

उहाँले एनआरएनए स्पेनले सबैसँग समन्वय गर्दै आपसी सहकार्यमा अगाडि बढेकोमा प्रशंसा गर्दै, दोस्रो पटक बार्सिलोना आउन पाउँदा हर्षित भएको बताउनुभयो। लोकतन्त्र स्थापनापछि नेपाली समाजमा ठूलो परिवर्तन आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “पहिले भाग्य मान्ने र चुप लाग्ने नेपाली, आज अधिकार खोज्न सिकेका छन्। लोकतन्त्रले नागरिकमा आत्मविश्वास भरेको छ।”

आफ्नै अनुभव सुनाउँदै उहाँले भन्नुभयो, ‘‘फुलब्राइट छात्रवृत्तिमा छनोट भए पनि २०४५ सालमा पासपोर्ट नपाएको र २०४६ सालको जनआन्दोलन सफल भएपछि मात्रै विदेश जान पाएको थिए।’’ देशभित्र अवसर नहुँदा विदेशी भूमिमा भिजेको पसिना नेपालबाट जनशक्ति पलायन हुनुको मूल कारण देशभित्र पर्याप्त अवसर नहुनु भएको उहाँको ठहर छ। 

नेपालीको औसत आयु ५४ वर्षबाट ७३ वर्षमा पुगेको तथ्य प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “राजनीति सिधा रेखामा नचले पनि नेपाल गलत बाटोमा गएको छैन। गति अपेक्षितभन्दा ढिलो भए पनि दिशा भने सही छ।”