मानिस सामाजिक प्राणी हो । ऊ सामाजिक सम्बन्धका जालाले चारैतिरबाट बेरिएको हुन्छ । मानव जातिलाई प्रकृतिले जुन उच्च चेतना प्रदान गरेको छ, त्यसकै बलमा उसले अरू जीवजन्तुभन्दा पृथ्वीमा विशिष्ट र उच्च स्थान हासिल गरेको हो । मानिस बौद्धिक हुन प्रकृतिका गतिविधि अवलोकन गरेर जीवनयापनका तरिका प्रयोग गर्दै आयो जसले अन्य मानिससँग विचार आदानप्रदान गर्न सहज ग¥यो । समयक्रममा मानिसले लिपिको विकास ग¥यो, प्रकाशनको विकास ग¥यो र सूचनाको चौतर्फी वितरणमा लाग्यो । सूचनाको विकासका लागि अक्षरको विकास पहिलो पाइला थियो । अक्षरको विकाससँगै प्रकाशन युग सुरु भयो र प्रकाशित सामग्रीको वितरण तथा संरक्षणका लागि विशेष स्थानको आवश्यकता महसुस गरायो । यसै कारण सामग्री सङ्कलन र संरक्षणका लागि पुस्तकालयको सुरुवात भएको मानिन्छ ।
पुस्तकालय स्थापनाले समाज परिवर्तनमा महत्वपूर्ण योगदान पु¥यायो । मानिसमा सूचना र चेतनाको विकासमा पुस्तकालय कोसेढुङ्गा साबित भयो । पुस्तकालय र समाजबिचको सम्बन्ध चेतनायुक्त संस्कृतिको रूपमा देखा प¥यो । पुस्तकालय ज्ञान र विचारको सङ्कलन तथा प्रचारप्रसारको केन्द्र भएकाले सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रसार पनि हुन थाल्यो । यसले शिक्षा र विचार आदानप्रदानलाई सहज बनायो । हाम्रो सांस्कृतिक परिपक्वताको उत्पादन थलो नै पुस्तकालय रहन गयो । समाजको रूपान्तरणका लागि पुस्तकालय एक अभिन्न अङ्गका रूपमा विकास हुँदै गएको छ ।
समाजसँगको अविच्छिन्न सम्बन्ध
आधुनिक समाजमा पुस्तकालयलाई स्वामित्व, विषयवस्तु र पाठकको प्रकृतिका सामुदायिक, शैक्षिक विशिष्ट, नीजि आदि आधारमा विभिन्न प्रकारमा विभाजन गरिएको छ । विभाजन जे जसरी गरिएको भए पनि पुस्तकालयको मूल कार्य ज्ञान सामग्रीको छनोट, सङ्कलन, व्यवस्थापन, वितरण र संरक्षण नै हो । समाजमा स्थापित सामुदायिक पुस्तकालय समाजको आत्मा, शैक्षिक पुस्तकालय शिक्षण संस्थाको मुटुको धड्कन र विशेष पुस्तकालय अनुसन्धानकर्ता तथा व्यावसायिक व्यक्तिका लागि अपरिहार्य रक्तसञ्चार प्रणाली झैँ बनेका छन् ।
समाजमा बौद्धिक धरातल बढाउन र वैचारिक स्वतन्त्रताको प्रवर्धन गर्न पुस्तकालयको महìवपूर्ण भूमिका हुन्छ । पुस्तकालय लेखक र पाठकबिचको सेतु हो । यो सेतु सूचना, चेतना, ज्ञान र विचार आदानप्रदानको चौबाटो हो । मानवीय सम्बन्धलाई अझ घनिष्ठ बनाउन र फराकिलो सामाजिक चेतना विकास गर्न पुस्तकालय अपरिहार्य हुन्छ । फ्रान्सेली क्रान्तिका समयमा सार्वजनिक पुस्तकालयले राजनीतिक परिवर्तनका लागि साहित्य, राजनीतिक पर्चा र नयाँ विचार सर्वसाधारणसम्म पु¥याउने काममा खेलेको भूमिका सराहनीय छ । लेखक, चिन्तक र साधारण नागरिकबिच पुस्तकालयले वैचारिक सेतुको काम गरेर समाजमा लोकतान्त्रिक चेतनाका फैलाउन सक्रिय भूमिका खेलेका उदाहरण धेरै छन् ।
पुस्तकालय र समाज एकअर्कामा गहिरो रूपमा अन्तरनिहित छन् । समाजबिनाको पुस्तकालय र पुस्तकालयबिनाको समाजको कुनै अर्थ रहँदैन । त्यसैले एसके सेराले भनेका छन्, “पुस्तकालय हाम्रो सांस्कृतिक परिपक्वताको उत्पादन हो ।” सेराको भनाइबाटके प्रस्ट हुन्छ भने पुस्तकालय र समाज अलग अलग अस्तित्व नभई यी दुवै सँगै बढ्ने, सँगै परिपक्व हुने र सँगै विकास हुने अविच्छिन्न संरचना हुन् । समाजले पुस्तकालयलाई निर्माण गर्छ अनि पुस्तकालयले समाजलाई ज्ञान, चेतना र संस्कृतिको माध्यमबाट पुनर्निर्माण गर्छ । यही कारणले पुस्तकालयलाई हाम्रो सांस्कृतिक परिपक्वताको उत्पादन भनिएको हो ।
पुस्तकालयको महत्व
पुस्तकालय सामाजिक संस्था मात्र नभई आधुनिक समाजको सभ्यता निर्माणको आधारस्तम्भ बनेको छ । पुस्तकालय सामाजिक जीवनको अत्यावश्यक अङ्ग र सांस्कृतिक अग्रगमनका लागि समाजको उत्कृष्ट उत्पादन पनि हो । पुस्तकालय हाम्रो संस्कृति संरक्षक मात्र नभई संस्कृतिक सञ्चार र सम्प्रेषणको क्षितिज फराकिलो पार्ने थलो हो । पुस्तकालय समाजको आत्मा हो । यसले सामाजिक अभिलाषालाई हृदयङ्गम गर्छ । पुस्तकालय समाजको परिवर्तन, सुधार र प्रगतिका आकाङ्क्षाको प्रतिविम्ब हो । समाजमा शिक्षा, समानता, प्रगतिशीलता र बौद्धिक विकासको आवश्यकता पूरा गर्ने केन्द्रका रूपमा पुस्तकालय रहेको छ । पुस्तकालयलाई सभ्यताको मेरुदण्ड र समाजको प्रगतिपथको प्रमुख मार्गदर्शक मानिन्छ ।
पुस्तकालय ज्ञान आर्जन गर्ने प्राज्ञिक थलो मात्र होइन, सामाजिक चेतना र सांस्कृतिक जागरणको केन्द्र पनि हो । यसले समाजमा ज्ञान, सूचना र संस्कृतिको संरक्षण तथा प्रवर्धनमार्फत पुस्ता पुस्ताबिच विचारको सेतु निर्माण गर्दै नयाँ सम्भावनाको बाटो खोल्दै समाजलाई स्थायी विकासतर्फ अग्रसर गराउँछ । ढुङ्गे युगदेखि सुरु भएको मानव समाज आज सूचना प्रविधिको युगसम्म पुग्नुको आधार पुस्तकालय पनि नै हो । यसले विचारको मन्थन गर्ने उचित वातावरण तयार गरी आधुनिकतालाई आत्मसात् गर्न सिकायो ।
समाजमा पुस्तकालयको भूमिका बहुआयामिक भएकाले शिक्षा, अनुसन्धान, संस्कृति, सामाजिक न्याय र आर्थिक विकासमा पुस्तकालयले महत्वपूर्ण योगदान पु¥याउँछ । शैक्षिक क्षेत्रमा पुस्तकालयले विद्यार्थी, शिक्षक र अनुसन्धानकर्तालाई आवश्यक अध्ययन सामग्री उपलब्ध गराई ज्ञान वृद्धिमा सहयोग गर्छ भने सार्वजनिक पुस्तकालयले जीवनभर सिकाइलाई प्रवर्धन गर्ने कार्य गरिरहेका छन् । पुस्तकालयले समाजका सबै समुदायलाई अध्ययन र अनुसन्धानमा समान अवसर दिलाई सामाजिक न्याय र समावेशीकरणलाई सुदृढ बनाउँछ । पुस्तकालयले स्थानीय भाषा, साहित्य, परम्परा, संस्कृति र सम्पदालाई जीवन्त तुल्याउँछ । समाजलाई आफ्नो पहिचानसहित भावी पुस्तामा हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्छन् ।
पुस्तकालयका ज्ञान सामग्रीको सत्सङ्गतबाट व्यक्तिलाई आफ्ना विचारलाई वास्तविकतामा रूपान्तरण गर्न सक्षम भएका छन् । स्थापित पुस्तकालय समाज परिवर्तनका लागि अध्ययन, अनुसन्धान, अन्वेषण तथा खोज गर्ने स्थान बनेका छन् । पुस्तकालय समाजमा राजनीतिक सचेतना फैलाइ जिम्मेवार तथा सचेत नागरिक तयार गर्न अहम् भूमिका खेलेका छन् ।
प्रविधिको प्रयोगसँगै पुस्तकालयले नवप्रवर्तन र सिर्जनशीलतालाई प्रोत्साहन गर्दै व्यक्तिलाई व्यावहारिक सिप विकासमा सहयोग पु¥याउँछन् । यसले केवल बौद्धिक विकास मात्र नभई उद्यमशीलता, रोजगार र आर्थिक अवसर सिर्जनामा पनि योगदान पु¥याउँछ । पुस्तकालयले राजनीतिक सचेतनालाई प्रवर्धन गर्दै नागरिकलाई लोकतान्त्रिक मूल्य, अधिकार र कर्तव्यबारे जागरुक बनाउँछन् । पुस्तकालय केवल अध्ययनको केन्द्र नभई सामाजिक रूपान्तरण, आर्थिक विकास र सचेत नागरिक समाज निर्माणको मूल आधारका रूपमा स्थापित भएको छ ।
पुस्तकालयको भविष्य
पुस्तकालयको इतिहास मानव चेतनाको विकास, शिक्षा र संस्कृतिक संरक्षणका लागि अपरिहार्य थलो रहँदै आएको छ । पुस्तकालयको विकास र प्रवर्धनले समाजलाई शिक्षित, सचेत, समावेशी बनाउँदै समाजको उज्यालो भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ । पुस्तकालय अध्ययन र अनुसन्धानका लागि मात्र सीमित नभई सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक जागरण केन्द्रका रूपमा पनि स्थापित भएका छन् । आजको डिजिटल युगमा पुस्तकालयले प्रविधिलाई आत्मसात् गरेर नवप्रवर्तन र सिर्जनात्मकताको आधार निर्माण गरेका छन् । सबै वर्ग र समुदायका लागि समान अवसर सुनिश्चित गर्दै सामाजिक समानता र समावेशीकरणलाई बलियो बनाएका छन् ।
प्रविधिको निरन्तर विकासले पुस्तकालयको भूमिका पनि समयसापेक्ष परिवर्तन हुँदै गइरहेको छ । पुस्तकालयले समयसापेक्ष आधुनिक विश्वमा विकास भइरहेका डिजिटल उपकरण तथा ज्ञान सामग्रीको प्रयोग गर्न सफल भएका छन् । बढ्दो विद्युतीय ज्ञान सामग्रीको विस्तारले पुस्तकालयलाई अझै पहुँचयोग्य बनाउने छ र भौतिक सीमाभन्दा बाहिर रहेर आफ्नो सेवा विस्तार गर्न सफल हुने छन् । यसबाहेक, पुस्तकालयले सामाजिक समानताको केन्द्रको रूपमा पनि आफ्नो भूमिका निरन्तर निर्वाह गर्ने छन्, विशेष गरी शिक्षाको सहज पहुँच नपुगेका समुदायका लागि ज्ञान सामग्री सहज रूपमा उपलब्ध गराउने छन् । नवप्रवर्तनलाई आत्मसात् गरेर पुस्तकालयले समाजका बदलिँदो आवश्यकता अनुसरण गर्दै आफैँलाई अद्यावधिक र सान्दर्भिक राख्न सक्ने छन् । सिर्जनशीलतालाई प्रोत्साहन, शिक्षालाई समर्थन र सामाजिक न्यायको प्रवर्धन जस्ता माध्यमबाट पुस्तकालय विश्वभरका समुदायको भविष्य निर्माणमा अपरिहार्य संस्था बनिरहने छन् ।
आजको समाजमा सूचना प्रविधि अद्भूत गतिमा अगाडि बढ्दै गर्दा पुस्तकालय पनि निरन्तर रूपान्तरणको प्रव्रिmयामा छन् । प्रगतिशील समुदायको आवश्यकता र आकाङ्क्षा अनुसार पुस्तकालय अझ सशक्त, समावेशी र नवप्रवर्तनशील हुँदै जान्छन् । नयाँ पुस्ताको व्यस्त जीवनशैली र डिजिटल माध्यमको प्रभावले खस्कँदो अध्ययन संस्कृतिलाई सम्बोधन गर्न पुस्तकालयले सिर्जनात्मक कार्यक्रम, पुस्तक संवाद, बहस समूह, सांस्कृतिक गतिविधि र प्रविधिसँग समन्वित अध्ययन अवसर उपलब्ध गराएर अध्ययनलाई जीवनशैलीको अभिन्न अङ्ग बनाउन सक्छ । पुस्तकालयको प्रमुख उद्देश्य भनेको सबैका लागि समान रूपमा सूचनाको पहुँच सुनिश्चित गर्नु हो ।
यद्यपि, प्रविधिको द्रुत विकास र कृत्रिम बौद्धिकताको उदयसँगै पुस्तकालयको आवश्यकता र औचित्यबारे बहस उठ्न थालेका छन् । कृत्रिम बौद्धिकताले मानिस जस्तै सोच्ने, बुझ्ने, निर्णय गर्ने र समस्या समाधान गर्ने क्षमता प्रदान गर्ने भएकाले अनुसन्धान र ज्ञान उत्पादनमा सहयोगी हुन सक्छ तर यो पुस्तकालयको विकल्प हुन सक्दैन । पुस्तकालयले मात्र दिन सक्ने शान्त अध्ययनमैत्री वातावरण, दुर्लभ ऐतिहासिक दस्ताबेज, पाण्डुलिपि र मौलिक स्रोतको मूल्य कुनै प्रविधिले विस्थापित गर्न सक्दैन । प्रविधिको प्रयोगले पुस्तकालयका सेवामा रूपान्तरण ल्याउने छ तर पुस्तकालयको अस्तित्व र आवश्यकता भविष्यमा पनि उत्तिकै रहिरहने छ । यसैले पुस्तकालयलाई आधुनिक प्रविधिसँग सहअस्तित्वमा अघि बढाउँदै समाजको ज्ञान, संस्कृति र चेतनाको स्थायी आधारस्तम्भका रूपमा सुरक्षित राख्नु हाम्रो सामूहिक दायित्व हो ।
पुस्तकालय हाम्रो भविष्यको खाका कोर्ने आधारभूत साधन हो । पुस्तकालयसम्बन्धी नीतिनियमले राष्ट्रिय प्राथमिकता पाउन आवश्यक छ । पुस्तकालयको आवश्यकता र महत्वप्रति सरोकारवाला सचेत हुनु अपरिहार्य छ । पुस्तकालय नै उज्ज्वल भविष्य निर्माणको मेरुदण्ड बन्न सक्छ । समाजका प्रत्येक क्षेत्रमा पुस्तकालयको उपस्थिति सुनिश्चित गर्न सकिएमा मात्र ज्ञानमूलक समाज निर्माणको बाटो प्रशस्त हुन्छ । यही सन्दर्भमा अठारौँ पुस्तकालय दिवसले तर्जुमा गरेको आदर्श वाक्य “हाम्रो पुस्तकालय, हाम्रो भविष्य’ व्यवहारमा परिणत हुने छ । पुस्तकालय दिवसको वास्तविक सार्थकता स्थापित हुने छ ।