ललित बसेल/नेत्र शाही
जुम्ला/सुर्खेत, भदौ १६ गते । जुम्लामा यतिबेला धमाधम स्याउ टिप्ने सिजन चलिरहेको छ । ताजा र स्वादिलो भएकाले स्थानीय कृषक अचेल अन्तर्राष्ट्रिय बजारको खोजीमा छन् । नेपाली बजारमा पनि जुम्ली स्याउको उच्च माग भएकाले अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सके यहाँका स्याउले सहजै बजार लिन सक्ने उनीहरूको बुझाइ छ ।
विसं २०६२ मा केही किसानले जुम्लाको स्याउ बङ्गलादेश निर्यात गर्ने तयारी गरे । निर्यातका लागि जुम्ला उद्योग वाणिज्य सङ्घले अन्तरदेशीय निर्यातसम्बन्धी कानुनी आधार तयार गरेर स्याउ बङ्गलादेश पठायो ।
जुम्ला उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष गोविन्दबहादुर शाही, स्याउ किसान लोकदर्शन श्रेष्ठ र सर्पानन्द हमालले नेपाली बजार मात्रै होइन, अन्तर्राष्ट्रिय बजारमा जुम्लाको स्याउ पु¥याउने उद्देश्यले भारत हुँदै बङ्गलादेश निर्यात गर्नुभएको थियो । शाहीका अनुसार सुर्खेतबाट काठका पेटी बनाएर विराटनगर पठाएको र त्यहाँका अर्का व्यापारीले भारतको फूलबारी मार्ग हुँदै जुम्ली स्याउ बङ्गलादेश पु¥याइएको थियो । केही वर्षसम्म बङ्गलादेश पठाइए पनि लामो समयसम्म टिक्न सकेन ।
जुम्लाको हिमा गाउँपालिका–३ का स्याउ किसान गोपाल रोकाया जुम्लाको स्याउलाई विदेश पठाउने योजना अगाडि बढाउन सरकारी निकायसँग आग्रह गर्नुहुन्छ । आफूहरूले उत्पादन गरेको स्याउ जुम्लाको शीतभण्डारमा राख्ने गरेको बताउँदै अब अन्तर्राष्ट्रिय बजारका विषयमा सरकारले सोचिदिनुपर्ने उहाँको माग छ । जुम्लाको स्याउ बङ्गलादेश गएको जानकारी भए पनि निरन्तरता नभएकाले त्यसमा प्रदेश तथा सङ्घीय सरकारले वातावरण बनाइदिन आग्रह गर्नुभयो । गुठीचौर गाउँपालिका–५ निवासी स्याउ किसान मीनबहादुर भण्डारी अन्तर्राष्ट्रिय बजारका लागि आफू लागि परेको बताउनुहुन्छ । भण्डारीले गुठीचौर एग्रोफार्म रहेको जुम्लाकै सबैभन्दा ठुलो ४० हजार बिरुवा रोपेको बगैँचामा ९९ प्रतिशत स्याउ फलेको जानकारी दिनुभयो । उहाँले स्याउ अब भारत निकासी गर्ने बाटोको खोजीमा रहेको जानकारी दिनुभयो । परीक्षण तथा कानुनी आधार राज्यले छिट्टै तयार गर्न आवश्यक रहेको उहाँ बताउनुहुन्छ । भण्डारीका अनुसार निर्यातका लागि नेपाल सरकारसँग पहल पनि भइरहेको छ । विदेश पठाउने आधार सरकारले तयार गरिदिएमा जुम्ली स्याउले अन्तर्राष्ट्रिय बजारमा प्रभाव पार्ने उहाँको विश्वास छ । चन्दननाथ नगरपालिका–२ का रत्नबहादुर भण्डारी पनि आफ्नो बगैँचाका ३६५ बोटमा स्थानीय स्याउ फलेकाले बजारको खोजीमा रहेको बताउनुहुन्छ । एक दशकभन्दा बढी समय उहाँले बर्सेनि तीनदेखि छ लाख रुपियाँसम्म स्याउबाटै आम्दानी गरिरहेको बताउँदै अन्तर्राष्ट्रिय बजारमा लैजाने उपाय खोजिरहेको बताउनुभयो ।
पचास प्रतिशत स्वदेशमै खपत
कृषि विकास कार्यालय जुम्लाले अहिले जुम्लाको स्याउ ५० प्रतिशतभन्दा बढी नेपाली बजारमै खपत भइरहेको जनाएको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार पाकेको स्याउ भदौ २ गतेबाट टिप्न सिफारिस दिइएको छ । जुम्ली स्याउ सुर्खेत, नेपालगन्ज, सल्यान, धनगढी, महेन्द्रनगर, तुल्सीपुर, पाल्पा, बुटवल, गुल्मी, स्याङ्जा, काठमाडौँ, जनकपुर र विराटनगर पुग्ने गरेको उहाँले बताउनुभयो । जुम्लाको स्याउ अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणको भएको र त्यसका लागि सङ्घीय सरकारले नै पहल गरिदिनुपर्ने अधिकारीको भनाइ छ ।
साढे चार हजार हेक्टरमा स्याउ
जिल्ला कृषि विकास कार्यालयका अनुसार जुम्लामा यस वर्ष चार हजार चार सय हेक्टर जमिनमा स्याउखेती गरिएको छ । कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार जसमा दुई हजार बिरुवामा स्याउ फल्ने गरेको छ । कार्यालयले यस वर्ष १० देखि १३ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरेको छ । असिनापानीले क्षति पु¥याएका कारण उत्पादन गत वर्षभन्दा घटे पनि स्याउको मूल्य भने बढेको छ । गत वर्ष बगैँचामा स्याउको मूल्य ४५ देखि ५५ रुपियाँ प्रतिकेजी भएकामा यस पटक ६० देखि ८० रुपियाँसम्म मूल्य छ ।
गत आवमा ६१ करोडको निर्यात
कार्यालय प्रमुख अधिकारीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जुम्लाबाट मात्रै नौ हजार ३९१ मेट्रिक टन अर्थात् ६१ करोड ४१ लाख पाँच हजार रुपियाँको स्याउ निर्यात भएको थियो । जुम्लामा स्थानीय स्याउ रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेनसहित उच्च घनत्वका स्याउ फल्ने गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण एकाइ परियोजना अन्तर्गत जुम्लामा ५२ हेक्टरमा उच्च घनत्वको स्याउ
किसानले रोपेका छन् । कृषि विकास अधिकृत खेमराज शाहीका अनुसार विसं २०७५/७६ बाट सुरु गरिएको परियोजना अन्तर्गत ५८ वटा बगैँचामा लगानी भइरहेको छ । यसका साथै २०६४ सालमा ‘एक घर एक स्याउ बगैँचा’ नीति पनि सरकारले लिएपछि अहिले उत्पादन बढ्दै गएको छ ।
स्याउ विकास बोर्ड गठन गरिने
कर्णाली प्रदेश सरकारले साबिकको कर्णालीमा बढी उत्पादन हुने स्याउ खेतीको विस्तार र प्रवर्धन गर्न आगामी वर्ष स्याउ विकास बोर्ड गठन गर्ने जनाएको छ । आव २०८२/८३ को बजेट तथा नीति कार्यक्रममा कर्णालीमा उत्पादन भई प्रशस्त निर्यात सम्भावना रहेको स्याउ खेतीको विस्तार तथा प्रवर्धन गर्न स्याउ विकास बोर्ड गठन गरिने र ह्रासोन्मुख बगैँचा सुदृढीकरण गर्दै स्याउ, ओखर र सुन्तला खेतीलाई विशेष कार्यक्रमका रूपमा सञ्चालन गर्न १४ करोड रुपियाँ विनियोजन गरेको उल्लेख छ ।
कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले स्याउ विकास बोर्ड गठन विधेयकको तयारी थालेको जनाएको छ । मन्त्रालयका प्रवक्ता बखतबहादुर खड्काले आगामी हिउँदे अधिवेशनमा पेस गर्ने गरी अहिले बोर्ड गठनका लागि विधेयकको तयारी थालिएको बताउनुभयो । यस्तै प्रदेश सरकारले साबिक कर्णालीको स्याउ अन्तर्राष्ट्रिय बजारमा पठाउनका लागि कुनै अधिकार नभएकाले त्यसका लागि सङ्घ सरकारले नै पहल गर्नुपर्ने खड्काले बताउनुभयो ।
प्रदेश सरकारले कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा जिल्लामा स्याउ ढुवानीका लागि किसानलाई ५० प्रतिशत अनुदानमा कार्टुन वितरण गर्ने, बेर्ना वितरण, ढुवानी सहज बनाउन पहल गर्ने जस्ता काम मात्र गर्ने उहाँले जनाउनुभयो ।