पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, भदौ १६ गते । पश्चिम नवलपरासीको बर्दघाटमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी गरी ११२ परिवारलाई जग्गाको निस्सा वितरण गरिएको छ ।
बर्दघाट नगरपालिकाको –२ सुखौरा मा आयोजित कार्यक्रममा यी परिवारहरूलाई जग्गाको निस्सा प्रदान गरिएको हो । यसले उनीहरूलाई जग्गाधनी पुर्जा प्राप्त गर्ने बाटो खुलेको छ ।
नगरप्रमुख शम्भुलाल श्रेष्ठका अनुसार नगरपालिकाले भूमिहीनलाई पुर्जा दिलाउने कामलाई प्राथमिकतामा राखेको छ । उहाँले यस वर्षभित्र बर्दघाट नगरपालिकाका सबै १६ वडामा जग्गा नापजाँचको काम सम्पन्न गरिने जानकारी दिनुभयो ।
नगरपालिकाले भूमि आयोगको समन्वयमा आवश्यक जनशक्ति व्यवस्थापन गरी नापजाँचको कामलाई तीव्र रूपमा अगाडि बढाएको छ । यद्यपि, नापजाँचमा खटिएका प्राविधिकहरूका अनुसार केही वन क्षेत्रमा भने काम गर्न केही समस्या देखिएको छ ।
जग्गाको निस्सा पाएपछि अब ती परिवारहरूले छिट्टै जग्गाधनी पुर्जा पाउने विश्वास गरिएको छ । यसले उनीहरूको जीवनमा ठुलो सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।