• १७ भदौ २०८२, मङ्गलबार

आयोगप्रति युवाको ठुलो भरोसा छ : अध्यक्ष रेग्मी

blog

लोकसेवा आयोगको ७५ वर्ष प्रवेश हिरक जयन्तीकाे अवसरमा बुटवलमा आयाेजित कार्यक्रममा लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी। तस्बिर : छविलाल पाण्डे

छविलाल पाण्डे 

बुटवल, भदौ १६ गते । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले लोकसेवा आयोगको निष्पक्षता, पारदर्शीता र जवाफदेहीताकै कारण आयोगप्रति आकर्षण बढिरहेको बताउनुभएको छ । 

लोकसेवा आयोगको ७५ वर्ष प्रवेश हिरक जयन्ती वर्ष २०८२ को अवसरमा लोकसेवा आयोग पहुँच अन्तर्गत सोमबार बुटवलमा आयोजना गरिएको विद्यार्थीमाझ लोकसेवा आयोग कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै आयोगका अध्यक्ष रेग्मीले आयोगप्रति विद्यार्थीहरुको ठूलो भरोसा रहेको उल्लेख गर्नुभयो । उहाँले अध्ययन सकेर सरकारी सेवामा प्रवेश गर्नेहरुको लोकसेवाको निष्पक्षताप्रति विश्वास रहेकोले नै वार्षिक करिव ५ लाख बढी परिक्षार्थीले लोकसेवाको परिक्षा  दिने गरेको बताउनुभयो । 

नेपालको सवैभन्दा पुरानो संवैधानिक निकाय लोकसेवा आयोग रहेको चर्चा गर्दै अध्यक्ष रेग्मीले सवैभन्दा बढी विश्वास जित्ने संस्थाको रुपमा यसको गौरव रहेकोले अझै यसको विश्वसनीयता बढाउनुपर्ने दायित्व रहेको उल्लेख गर्नुभयो । 

संविधानले समेत लोकसेवा आयोगको अधिकार थपेको भन्दै उहाँले विगतमा निजामति सेवाको मात्रै परिक्षा लिने आयोगले अहिले विभिन्न संस्थान, बोर्ड, प्राधिकरण, विश्वविद्यालय, बैंक लगायतका संस्थाहरुले लोकसेवालाई नै जिम्मेवारी सुम्पेर देश निर्माणमा योग्य र कुशल राष्ट्र सेवक छनौट गर्न दिएको बताउनुभयो ।

उहाँले आजका युवा भोलिको राष्ट्रका खम्बा हुन भन्दै अवको दिनमा विदेश जाने कुरालाई प्राथमिकता दिनुभन्दा लोकसेवामार्फत सरकारी सेवामा प्रवेश गरि देशको सेवामा लाग्न आग्रह गर्नुभयो ।

लोकसेवा आयोगको दायरा फराकिलो भएको भन्दै अध्यक्ष रेग्मीले भन्नुभयो, यसको निष्पक्षता, पारदर्शीता र जवाफदेहिता सवैभन्दा ठूलो सम्पत्ति हो । त्यही भएर लाखौं युवाहरुको भविष्य निर्माणको आधार आयोग बनेको छ । 

कार्यक्रममा लोकसेवा आयोगका सदस्य बीरवहादुर राईले आजका विद्यार्थीहरु भोलिको देशका कर्णधार हुन् भन्दै लोकसेवा आयोगले विद्यार्थीहरुमाझ कार्यक्रम ल्याएको बताउनुभयो । उहाँले लोकसेवा आयोगलाई कठिन रुपमा नबुझ्न आग्रह गर्दै परिश्रम र मेहनत गरे अवश्य सफल हुन सकिन्छ भन्ने आत्मविश्वासका साथ लोकसेवाको तयारीमा लाग्न आग्रह गर्नुभयो । 

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले विद्यार्थीलाई सीपमूलक शिक्षाको अवसर दिए भोलिको नेपाल समृद्ध हुन भन्दै त्यसबाट विद्यार्थी विदेश पलायन रोकिने विश्वास ब्यक्त गर्नुभयो । सिप नभएको शिक्षाकै कारण नेपाली युवा विदेश पलायन भैरहेकोले नेपाली युवा र विद्यार्थीको विदेश पलायन रोक्न लोकसेवा आयोगले पनि आफ्नो तर्फबाट काम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो। 

कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले निष्पक्षतामा लोकसेवा आयोगको विश्वसनीयता यसको सवैभन्दा ठूलो सम्पत्ति हो भन्दै यसको साख जोगाईराख्न आग्रह गर्नुभयो । उहाँले विद्यार्थी भाई बहिनीहरु तथा अध्ययन सकेर लोकसेवाको तयारीमा रहेका विद्यार्थीहरुलाई राष्ट्रको सेवा गर्ने अवसरलाई सदुपयोग गर्न आग्रह गर्नुभयो । यस प्रकारका कार्यक्रमले लोकसेवाप्रति बाहिर रहेको गलत भ्रम चिर्न समेत सहयोग पुग्ने प्रजिअ पाण्डेको भनाइ छ ।


नेपाल संस्कृत विश्वविद्यालयका रजिष्ट्रार माधवप्रसाद अधिकारीले लोकसेवा आयोग मानक संस्थाको रुपमा रहेको चर्चा गर्दै यसको साख भनेको यसको निष्पक्षता र विश्वसनीयता रहेकोले आगामी दिनमा पनि यसको भूमिका यही रुपमा रहोस भन्ने शुभकामना दिनुभयो । उहाँले विद्यार्थी भाई बहिनीहरु र अध्ययन सकेर बसेका युवाहरुले लोकसेवा परिक्षालाई मेहनत गरे पास भईन्छ भन्ने रुपमा लिएर अघि बढ्न आग्रह गर्नुभयो ।   

रोल्पा नगरपालिकाकी उपप्रमुख गीता आचार्यले हाम्रा युवा विद्यार्थी भाई बहिनीहरुले विदेशमा भन्दा नेपालमै अवसर खोज्नुपर्छ भन्ने उद्देश्यले आफ्नो नगरपालिकाले लोकसेवा आयोग सम्वन्धि परामर्श तालिम दिने गरेको बताउनुभयो । उहाँले मेहनत गरे आयोगको परिक्षा पास गर्न सकिने भएकोले विद्यार्थी भाई बहिनीहरुलाई नेपालमै अवसर खोज्न आग्रह गर्नुभयो । 

कार्यक्रममा लोकसेवा आयोगका सहसचिव पुरुषोत्तम शर्मा र लोक सेवा आयोग बुटवल कार्यालयका कार्यालय प्रमुख सफल भुर्तेलले आयोगको निष्पक्षता नै यसको सबैभन्दा ठूलो सम्पत्ति हो भन्दै विद्यार्थीहरुले मेहनतसाथ तयारी गरे लोकसेवा पास गर्न सकिन्छ भन्ने धारणा बनाउन आग्रह गर्नुभयो । 

उहाँहरुले हरेक बर्ष ५ लाख बढी विद्यार्थीले लोकसेवा परिक्षाका लागि आवेदन दिने गरेकोमा ४ हजार सिफारिसमा पर्ने गरेको उल्लेख गर्दै अहिलेसम्म २५ हजार जना समावेशी प्रणालीमार्फत निजामित सेवामा प्रवेश गरेको उल्लेख गर्नुभयो । 

लोकसेवा आयोगका सदस्य बीरवहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा आयोगका विज्ञ सदस्यहरुले लोकसेवा आयोगका काम, कर्तब्य, अधिकार, यसको समावेशी चरित्र, अवसर र चुनौतिको रुपरेखा लगायतका विषयमा सहभागीहरुलाई जानकारीमूलक प्रस्तुती दिनुभएको छ । 

कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका विद्यार्थीहरु गरि कूल १ सय २० जनाको सहभागिता रहेको थियो ।