पुस्तकालय समाजमा ज्ञानको पहुँच सुनिश्चित गर्ने शैक्षिक-सामाजिक संस्था हो। यसले शैक्षणिक ज्ञानको संरक्षण, व्यवस्थापन र पहुँचको केन्द्रविन्दुको रूपमा कार्य गर्ने गर्दछ। समाज/विश्व (युनिभर्स) परिवर्तनशील छ। २१ औँ शताब्दीमा परिवर्तनको रफ्तार दिन दुईगुणा रात चौगुणाको गतिमा बढ्दो छ भन्दा अत्युक्ति नहोला। यस्तो परिवर्तनको प्रभावले पुस्तकालयलाई पनि झ्याप्पै समातेको छ। परिवर्तनलाई आत्मसात गर्न पुस्तकालयले आफ्नो सामाजिक तथा शैक्षिक भूमिकामा रूपान्तरण गर्नु जरुरी छ।
पुस्तकालयले आफूलाई यथास्थितिबाट माथि उठाउँदै समाजमा प्रतिपादित विभिन्न दृष्टिकोण तथा सिद्धान्त अनुसार आफ्नो लक्ष्य, उद्देश्य तथा कार्यशैलीमा परिवर्तन गर्नु पर्दछ। परिवर्तित समय तथा वातावरणमा आफ्नो साख जोगाइ राख्न विश्वमा स्थापित भएका विभिन्न सामाजिक, आर्थिक, शैक्षिक सिद्धान्त अनुरूप पुस्तकालयको पुनःर्व्याख्या गर्न ढिला भइसकेको छ। यसै परिप्रेक्षको सेरोफेरोमा रही विभिन्न समयमा विभिन्न विद्वानहरूले समाजमा स्थापित गरेका सामाजिक तथा शैक्षिक ज्ञान (एजुकेसनल नलेज) सिद्धान्तहरूमा पुस्तकालयका कार्य, शैलीलाई पुनः परिभाषित गर्ने प्रयास यस लेखमा गरिएको छ।
शैक्षिक ज्ञान सिद्धान्त
ज्ञान हासिल गर्ने प्रक्रिया वा तरिकालाई विश्लेषण गर्ने वैचारिक रूपरेखा नै शैक्षिक ज्ञान सिद्धान्त हो। जसले शिक्षक, विद्यार्थी तथा शैक्षिक संस्थाबिचको सम्बन्ध, ज्ञान (नलेज) निर्माण हुने आधार तथा स्वरूपको बारेमा विश्लेषण गर्नुका साथै सामाजिक-सांस्कृतिक सन्दर्भमा ज्ञान कसरी स्थानान्तरण र रूपान्तरण हुँदै जान्छ भन्ने कुरालाई स्पष्ट पार्दछ। यसबाट के प्रष्ट हुन्छ भने ज्ञान केवल तथ्यहरूको सङ्कलन मात्र होइन यो सामाजिक निचोड हो जुन मानिसहरूको अनुभव, संस्कार, भाषा, शक्ति सम्बन्ध आदिका आधारमा समाजमा स्थापित भएको हुन्छ। शैक्षिक ज्ञान सिद्धान्तको विकासक्रम ठ्याक्कै यहि मितिबाट सुरु भएको हो भन्ने तथ्यगत आधार नभए पनि यसका विभिन्न धाराहरू कालक्रमिक रूपमा क्रमशः विकसित हुँदै आएका छन्।
प्राचिन कालका दार्शनिक प्लेटो र अरस्तुले शिक्षा र ज्ञानको स्वरूपबारे दर्बिलो विचार प्रस्तुत गरेका थिए। प्लेटोले ज्ञानलाई शाश्वत र सार्वभौमिक सत्यको बारेमा बुझ्दथे भने अरस्तुले तर्क र अनुभवद्वारा ज्ञान प्राप्त हुने कुरालाई स्वीकार्दथे। आधुनिक अर्थमा यसको विकास १८औं र १९औं शताब्दीमा सुरु भएको पाइन्छ। व्यवहारवादी विचारकहरूले सिकाइलाई उत्प्रेरणा/प्रोत्साहन र प्रतिक्रियाको नतिजा मान्दछन् भने आलोचनात्मक सिद्धान्तका पक्षधरहरूले औपचारिक शिक्षाले वर्चश्वशाली विचारधाराको मात्र वकालत गर्दछ त्यसैले औपचारिक शिक्षाको आलोचनात्मक ढङ्गले पुनः परिभाषा गर्नु पर्दछ भन्ने धारणालाई आत्मसात गर्दछन्। यस्तै शैक्षिक ज्ञान सिद्धान्तहरूको विश्लेषण पुस्तकालयको सन्दर्भमा उपयुक्त हुन्छ। यस प्रकारको प्रयोगले पुस्तकालयको भूमिका तथा कार्यशैलीलाई सकारात्मक प्रभाव पार्दछ। यहाँ पुस्तकालयको सन्दर्भमा शैक्षिक ज्ञान सिद्धान्तको विश्लेषणले पार्ने प्रभावलाई देहाय बमोजिमकाे सन्दर्भमा चर्चा गर्ने प्रयास गरिएको छ।
ज्ञान निर्माणको आधार पुस्तकालय : समाज र सामाजिक अन्तर्क्रिया ज्ञान निर्माणका सशक्त आधारहरू हुन्। भाइगोत्स्कीको सामाजिक रचनावाद सिद्धान्त (सोसल कन्स्ट्रक्टिभिजम थियरी) ले ज्ञान वा सिकाई मौलिक रूपमा एक सामाजिक प्रक्रिया हो भन्ने मान्यता राख्दछ। जहाँ ज्ञान सामाजिक अन्तर्क्रियाबाट सह-निर्माण हुने गर्दछ। यस सिद्धान्तलाई अनुसरण गर्दा पुस्तकालयलाई सहयोगात्मक सिकाइ तथा सहकार्य गर्ने स्थानका रूपमा विकसित गर्नु पर्दछ जहाँ पाठक, पुस्तकालयकर्मी र पुस्तकालयमा रहेका ज्ञानसामाग्रीहरू बिचको अन्तर्क्रियाबाट नयाँ ज्ञानको निर्माण गर्न सम्भव होस्। त्यसैगरी डिवीको प्रयोगात्मक शिक्षा सिद्धान्त (एक्सपेरिमेन्टल लर्निङ थियरी) ले भने जस्तो पुस्तकालयले प्रयोगात्मक सिकाइको सम्भावनालाई जोड दिँदै पुस्तकालयमा प्राप्त ज्ञानसामाग्री माथि प्रश्न गर्ने, आलोचना गर्ने र प्रयोगात्मक अनुसन्धान मार्फत नयाँ ज्ञानको खोजी र निर्माण गर्ने आधार तयार गर्नु पर्दछ। अनि पुस्तकालयलाई कनेक्टिभिजम सिद्धान्तले भने जस्तो डिजिटल स्रोतहरू र मानव नेटवर्कद्वारा ज्ञान निर्माण गर्ने थलोको रूपमा प्रस्तुत गर्नु पर्दछ।
अभिनेता नेटवर्क सिद्धान्त
बौद्विक क्षमताको उजागर गर्न सहयोग : व्यक्ति व्यक्ति अनुसार बौद्विक क्षमता फरक फरक हुने गर्दछ। जिन पियागेटले सङ्ज्ञात्मक विकास सिद्धान्तमार्फत व्यक्तिको मानसिक विकास चरणवद्ध रूपमा हुने कुरा प्रष्ट्याएका छन्। उनका अनुसार हरेक चरणमा व्यक्तिको सोच्ने तरिका, तर्क गर्ने क्षमता, सिकाइका अवसर र चुनौती तथा बौद्विक दक्षता फरक फरक हुने गर्दछ। सिकाइ बाह्यरूपमा सूचना प्राप्त गर्ने मात्र नभई व्यक्तिको आफ्नो अनुभव, वातावरणसँगको अन्तर्क्रिया र मानसिक संरचनाको पुनर्संरचना हो। तसर्थ पुस्तकालयले उमेर समूह अनुसार बालबालिकादेखि युवा तथा वृद्धावस्थासम्म ज्ञान ग्रहण गर्ने तथा सोच्ने क्षमताको आधारमा शैक्षिक स्रोत साधन उपलब्ध गराई बौद्विक क्षमता उजागर गर्ने वातावरण सिर्जना गर्नु पर्दछ। त्यस्तै हावर्ड गार्डनरको बहु बौद्विक सिद्धान्त (मल्टिपल इन्टेलिजेन्ट थियरी) ले एकै व्यक्तिमा विभिन्न प्रकारका बौद्विक क्षमता (जस्तैः भाषिक, साङ्गितिक, कलाकारिता आदि) हुने कुरा अगाडि सारेको छ।
सांस्कृतिक पुँजी निर्माण
भाषा, कला, साहित्य, भेषभूषा आदि जस्ता सांस्कृतिक पुँजीले समाजिक अवस्थाको प्रतिनिधित्व गर्दछ। पियरे बडुको सांस्कृतिक पुँजी सिद्धान्त (कल्चरल क्यापिटल थियरी) ले भने जस्तो भाषागत दक्षता, ज्ञान, सीप, कला, साहित्य, सौन्दर्यवाेध आदि सांस्कृतिक स्रोतहरूले व्यक्तिगत तथा समुदायको शैक्षिक गतिविधि तथा अवसरमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ। पुस्तकालय यस्ता सांस्कृतिक पुँजीगत ज्ञानसामाग्रीहरू प्राप्त तथा निर्माण गर्ने थलो भएको हुनाले सांस्कृतिक पुँजी निर्माण र वितरण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। पुस्तकालयले विविध कारणले पछाडि परेका समुदायका लागि निःशुल्क ज्ञान सामाग्रीहरू (सांस्कृतिक, डिजिटल) उपलब्ध गराई बडुले भने जस्तो ज्ञान र सिप (इम्बोडिड स्टेट) तथा भौतिक स्रोत (अब्जेक्टिफाइड स्टेट) दुवै प्रकारका सांस्कृतिक पुँजीहरूको वृद्धि गर्दछ। यसका साथै विविध प्रकारका तालिम, सेमिनार, गोष्ठी, प्रदर्शनी, शैक्षिक कार्यक्रमहरू मार्फत प्रमाणपत्र वा मान्यता (इन्स्टिट्युसनलाइज्ड स्टेट) प्रदान गर्न सक्दछ। त्यसैले पुस्तकालयलाई सांस्कृतिक विविधताको सम्बोधन, समावेशी पहुँचको सुनिश्चितता, स्थानीय भाषाको प्रयोग छ ।
सामाजिक समावेशीकरण तथा सशक्तीकरणः- पुस्तकालय सामाजिक संस्था हो भन्ने विषयमा दुई मत छैन। समाजमा विविध सामाजिक वर्ग, भाषा, जाति, लिङ्ग, उमेर र पृष्ठभूमिका मानिसहरूको बसोवास रहेको हुन्छ। यस्ता विविध पृष्ठभूमि भएका मानिसहरूमा ज्ञानको लोकतान्त्रिक पहुँच सुनिश्चित गराउनु पुस्तकालयको मुख्य कार्य हो। शिक्षाविद् पाउलो फेररेले आफ्नो चर्चित पुस्तक उत्पिडितहरूको शिक्षाशास्त्र (पेडागोजी अफ अप्रेस्ड) मा शिक्षा/ज्ञानलाई मुक्ति र चेतनाको साधन मान्दछन्। फेररेले भने जस्तै पुस्तकालयले पनि वर्गीय तथा सामाजिक विभेदमा परेका र पारिएका समूहहरूको आवाजलाई सम्बोधन गर्दै सशक्त बन्ने प्लेटफर्म निर्माण गरिदिनु पर्छ। त्यसैगरी जीन-फ्रान्कोइस लियोटार्डको ठुलाकथाहरू प्रति अविश्वास (इनक्रिडुवालिटी टुवार्डस् मेटानेरेटिभ्स) उत्तर आधुनिक युगमा ठुला कथाहरूले सधैं सबै (विविध आवाजहरू, सांस्कृतिक भिन्नता र वैकल्पिक अनुभवहरू) को प्रतिनिधित्व गर्दैन। त्यसैले लियोटार्डले ज्ञानलाई एकै ठुला ढाँचामा नहेरी विभिद सन्दर्भ, संस्कृति र समुदायको दृष्टिकोण र बहुल आवाजहरूको संयोजनको रूपमा बुझ्न आवश्यक ठान्दछन्।
उनको भनाइलाई सापटी लिएर भन्नु पर्दा पुस्तकालयले विविध आत्म परिवर्तनको प्रक्रियामा टेवा आत्म परिवर्तन भन्नाले व्यक्तिको सोच, व्यवहार, मूल्य मान्यता तथा जीवनशैलीमा हुने सकारात्मक परिवर्तन हो। मेजिरोको परिवर्तनकारी सिकाइ सिद्धान्त (ट्रान्सफरमेटिभ लर्निङ थियरी) ले सिकाइलाई आत्म परिवर्तनको प्रक्रिया मान्दछ जहाँ व्यक्तिले आफ्ना पुराना सोच, मान्यता, दृष्टिकोण, जीवनशैली आदिमा पुनर्विचार तथा परिवर्तन गर्न सिक्दछन्। पाउलो फेररेको आलोचनात्मक शिक्षाशास्त्र (क्रिटिकल पेडागोजी) ले शिक्षा वा सिकाइलाई ज्ञान हस्तान्तरण गर्ने माध्यम मात्र नभई चेतना जगाउने औजार मान्दछ। त्यसैगरी कार्ल रोजर्सको मानवतावादी शिक्षा सिद्धान्त (ह्युमानिस्टक लर्निङ थियरी) ले आत्म परिवर्तनका लागि आत्मानुभूति (सेल्फ-कन्सेप्ट), स्वतन्त्रता तथा आत्म साक्षात्कार (सेल्फ-एक्च्युवलाइजेसन) आवश्यक हुने कुरा व्यक्त गरेका छन्। समग्रमा भन्नु पर्दा यस प्रकारका शैक्षिक सिद्धान्तहरूले व्यक्तिको आन्तरिक चेतना, जीवन दृष्टिकोण, व्यवहार तथा मूल्य मान्यतामा गहिरो रूपान्तरण ल्याउन सहयोगी हुन्छन्।
अन्त्यमा
शैक्षिक ज्ञान सिद्धान्तले पुस्तकालयको भूमिकालाई परम्परागत सूचना भन्दा नयाँ विमर्शहरूलाई समेट्ने गतिशील, समावेशी र आलोचनात्मक चेतना अभिवृद्धि गर्ने थलोको रूपमा पुनर्संरचना गर्न सघाउँछ। समाजमा हुने वर्गीय असमानता, डिजिटल खाडल वा शैक्षिक क्षेत्रमा हुने पहुँचको विभाजनलाई न्यूनीकरण गर्ने स्थानका रूपमा पुस्तकालयले कार्य गर्दछ। शैक्षिक ज्ञान सिद्धान्तले सिकाइलाई सामाजिक अन्तर्क्रिया, व्यक्तिगत अनुभव, सांस्कृतिक पुँजी, आत्म रूपान्तरणको प्रक्रियासँग जोड्ने भएको हुँदा पुस्तकालयले पनि आफ्नो उद्देश्य तथा कार्यशैलीलाई रूपान्तरण गर्नु जरुरी छ। सामजिक समावेशीकरण, विविधताको संवर्धन, अवसरमा विस्तार गर्ने सामाजिक संस्थाका रूपमा परिभाषित गर्नु आवश्यक भएको छ। शैक्षिक सिद्धान्तहरूले बोकेको मर्मलाई आत्मसात गर्दा पुस्तकालयलाई ज्ञान सह-निर्माण गर्ने प्रयोगशाला, विविध वाैद्विक क्षमताको प्रस्फूटन गर्ने थलो, बहुल आवाजहरूको प्रतिनिधित्व, सांस्कृतिक सम्पत्तिको संवर्धन र प्रवर्धन गर्ने केन्द्र, चेतना र आत्म परिवर्तनको उत्प्रेरकका साथै समाज, संस्कृति र शैक्षिक परिवर्तनसँग गतिशील रूपमा जोडिएको बहुआयामिक थलोको रूपमा परिचित गराउन सकिन्छ।