• १७ भदौ २०८२, मङ्गलबार

नेपाल ‘ए’ लाई टी–२० सिरिज उपाधि

blog

नेपाल ‘ए’ क्रिकेट टोली । तस्बिर : क्यान

काठमाडौँ, भदौ १६ गते । आसाम प्रदेश क्रिकेट सङ्घविरुद्धको टी–२० अभ्यास सिरिज नेपालले जितेको छ ।

भारतको गुवाहटीमा सोमबार भएको सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपालले आसामलाई ४४ रनले हरायो । यससँगै नेपालले सिरिज ३–२ ले जितेको हो । 

जितका लागि नेपालले दिएको दुई सय नौ रनको लक्ष्य पछ्याएको घरेलु टोली आसाम निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६४ रनमा समेटिएको थियो । 

आसामका लागि भार्गव लहकरले सर्वाधिक अविजित २९ रन बनाउनुभयो । यस्तै साहिल जेन र कप्तान सुमित घडिअन्करले २५, २५ तथा सौरभ दिहिगाले १७ रन बनाउनुभयो । बलिङमा नेपालका शेर मल्ल, आकाश चन्द र पवन सर्राफले दुई दुई तथा बसिर अहमदले एक विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय आठ रन बनाएको थियो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६४ रन बनाउनुभयो । यस्तै शुभ कंसाकारले ४१  र इशान पाण्डेले ३२ रन जोड्नुभयो । बलिङमा आसामका आयुष्मान मलाकार र अभिनव चौधरीले दुई दुई विकेट लिनुभयो । 

यसअघि सिरिजको पहिलो खेलमा नेपाल १५ रन र दोस्रो खेलमा ९६ रनले विजयी भएको थियो । यस्तै तेस्रो खेलमा नेपाल नौ रन र चौथो खेलमा १८ रनले पराजित भएको थियो । सिरिजको उपाधि जित्ने पर्ने अन्तिम खेलमा नेपालले सानदार प्रदर्शन गर्न सफल भयो ।