• १६ भदौ २०८२, सोमबार

खनाल पक्षको मात्रै भेला

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, भदौ १६ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल पक्षको ‘विद्रोही’ भेला भएको छ । बानेश्वर क्यापसमा आइतबार खनाल पक्षको बैठक बसेको हो । 

यही भदौ २६ गतेदेखि केन्द्रीय समिति बैठक बस्न लागेकाले तयारीस्वरूप छलफल भएको एकीकृत समाजवादीका केन्द्रीय सदस्य नरेश शाहीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्रोही पक्षको भेला होइन, आगामी पार्टी बैठकलाई प्रभावकारी बनाउनेबारे छलफल भयो ।” तर सम्मानित नेता खनालले पार्टीमा वैचारिक र विधि पद्धतिको खडेरी देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीमा वैचारिक समस्या देखिएकाले वैचारिक रूपमा चिर्न आवश्यक छ । पार्टीलाई विधि पद्धतिमा लगेर व्यवस्थित गर्नैपर्ने अवस्था देखिएको छ ।” अध्यक्ष माधवकुमार नेपाल पक्षका नेता नराखेर खनाल पक्षले बैठक राखेपछि पार्टीभित्र विवाद चर्किएको छ ।