तनहुँ समाचारदाता
तनहुँ, भदौ १६ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली युवामा सकारात्मक सोच र आत्मविश्वासको जरुरी रहेको बताउनुभयो । तनहुँको सदरमुकाम दमौलीमा आयोजित जेसिस सम्मेलनको उद्घाटन गर्दै नेपाली युवाले म नेपालमा केही गर्छु र गर्न सक्छु भन्ने मानसिकता अपनाउनुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “नेपालमा केही भएन, र हुँदैन भन्ने नकारात्मक सोच बढ्दै गएको छ, यो प्रवृत्तिले युवाको क्षमतामा रोकावट पु¥याउँछ । त्यसैले सकारात्मक सोच विकास गर्न जरुरी छ ।” सशक्त र सकारात्मक मानसिकतासँग अघि बढ्नु आवश्यक रहेको र यसले भविष्यमा प्रगति र परिवर्तनको नयाँ बाटो पहिल्याउन मद्दत गर्ने उहाँको भनाइ थियो ।
शुक्रबारबाट सुरु भएको सम्मेलनमा क्षेत्र ‘ख’ अन्तर्गतका ४२ शाखाका प्रतिनिधि, पदाधिकारी, अन्य क्षेत्रका शाखा प्रतिनिधि, जुनियर जेसिस र देशभरका पर्यवेक्षक गरी करिब आठ सय सहभागी भएको निर्देशक सुरेश पुरीले जानकारी दिनुभयो ।
सम्मेलनले तनहुँका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटनलाई दीर्घकालीन रूपमा प्रोत्साहन गर्ने लक्ष्य लिएको छ । कार्यक्रममा नेतृत्व तथा व्यक्तित्व विकाससम्बन्धी तालिम, छलफल र बहस पनि समावेश गरिएको आयोजकले जनाएको छ ।