• १६ भदौ २०८२, सोमबार

रोग निम्त्याउने संस्कृति

blog

खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन । नेपालमा रोगीको सङ्ख्या डरलाग्दो किसिमबाट बढिरहेको छ । नयाँ नयाँ रोग देखा परिरहेका छन् । केही रोगको त कारणसमेत पत्ता लगाउन सकिएको छैन । यस्ता रोग र रोगीको सङ्ख्यामा वृद्धिको एउटा कारण हुन सक्छ हाम्रो खानपान संस्कृतिमा आएको परिवर्तन ।

पश्चिमा मुलुकको खाद्य संस्कृति अहिले नेपाली भान्सामा हावी हुन थालिसकेको छ । नयाँ पुस्ताले  स्थानीय जातको बिउबाट उत्पादन भएका खाद्य वस्तु, फलफूल वा परिकारको स्वाद नै लिन नपाउने अवस्था सिर्जना भएको छ । 

अहिले विभिन्न प्रकारका खाद्यान्न, दलहन, तेलहन, तरकारी र फलफूल कम जग्गामा थोरै बिउको प्रयोग गरेर धेरै परिमाणमा उत्पादन गर्न तथा बेमौसममा पनि फलाउन वर्णशङ्कर बिउबिजन प्रयोग गर्ने गरिन्छ । खाद्यवस्तु उत्पादन गर्न रासायनिक मल र कीटनाशक औषधि अन्धाधुन्ध प्रयोग हुन्छन् । तरकारी र फलफूल छिटो फलाउन, छिटै पकाउन, लामो समयसम्म ताजा राख्न र प्राकृतिक आकर्षक रूपरङ कायम राख्न किसिम किसिमका औषधि प्रयोग हुने गरेको छ । 

वर्णशङ्कर जातका भैँसी, जर्सी जातका गाईलाई छिटो र धेरै दूध दिने बनाउनका लागि Recombinant Bovine Somatotropin र Oxytocine  हर्मोन दिने गरिन्छ । यो हर्मोन दिइएका गाई र भैँसीबाट उत्पादित दूध मानिसको स्वास्थ्यका लागि हितकारी नहुने अनुसन्धानले सुझाव दिएका छन् । 

यस्तै कुखुरा छिटै हुर्काउन विभिन्न थरीका एन्टिबायोटिक्स र हर्माेन खुवाइने गरिन्छ । यसबाट मानव स्वास्थ्यमा असर नपर्ने कुरै भएन । 

नेपालमा ५० वर्षअघिसम्म गुड (व्बननबचथ) धेरै प्रयोग हुन्थ्यो । यिनमा प्रशस्त भिटामिन र खनिज पदार्थ हुन्छ । अहिलेको पुस्ताले यसको उपयोग धेरै कम गर्छन्, धेरैले देखेका र सुनेका पनि छैनन् होला । यसको सट्टामा चिनी प्रयोग भइरहेको छ । जुन रोगको एक माध्यम हो । त्यसै गरी गहुँको खस्रो पिठोको सट्टामा मसिनो गरी पिसेको पिठो र मैदाको प्रयोग हुन थालेको छ । साथै पोलिस गरिएका तथा बेस्वादका चामल र दाल बजारमा पाइन्छन् । 

गुडको सट्टामा चिनी प्रयोग भइरहेको छ । चिनीको धेरै प्रयोगले मानिसको मोटोपना र शरीरको तौलमा वृद्धि हुने, दाँतमा समस्या आउन सक्ने, छालासम्बन्धी र मुटुसम्बन्धी रोगको जोखिम बढ्नुका साथै मधुमेह, कलेजोको रोग, बिर्सने रोग र डिप्रेसनसम्म हुन सक्ने बताइन्छ । अमेरिकन हार्ट एसोसिएसनले भने अनुसार प्रतिदिन महिलाले २५ ग्राम र पुरुषले ३६ ग्रामसम्म चिनी खान सक्छन् । यो मात्रा चाहिँ कुनै रोग नदेखिएकाका लागि भनिएको हो ।

त्यस्तै वनस्पति घिउको पनि प्रचलन बढेको छ । वनस्पति घिउमा ट्रान्सफ्याटी एसिड (Trans fatty acid) को मात्रा धेरै हुन्छ । यसले खराब कोलेस्टेरोल (Low Density Lipoprotein) बढाउँछ । जसले मुटुको रोग र उच्च रक्तचापको सम्भावना बढ्छ । साथै पेट र पाचनसम्बन्धी समस्या पनि देखा पर्न सक्छ । स्थानीय तोरीको तेल पाउन र प्रयोग दुवै कम हुन थालेको देखिन्छ । तोरीको शुद्ध तेल पाइन नै गाह्रो भएको छ । भटमास, सूर्यमुखी, मकै आदि वस्तु राम्रो भए पनि तिनको तेल धेरै प्रशोधन गरिएका हुन्छन् । यसरी प्रशोधन गर्दा तिनमा भएका पोषक तत्व धेरै नाश हुने गर्छ । 

अहिले अधिकतर नेपालीको भान्सामा प्रेसरकुकर उपयोग गरिन्छ । पित्तल, काँसका भाँडा विस्थापित नै भइसके ।  प्रेसरकुकरमा खाना पकाउँदा वाफको उच्च दबाबले खाना फतक्क गल्छ तर राम्रोसित पाकेको नहुन सक्छ । यस्तै पिउने पानी राख्नका लागि माटाका घैँटा, सुराही, पित्तल र तामाका गाग्री उपयोग हुन्थे । जसमा राखेको पानी प्राकृतिक रूपमै शुद्धीकरण हुने गथ्र्यो । अचेल प्लास्टिक, अल्मुनियम आदि मानव स्वास्थ्यका लागि हानिकारक धातु र वस्तुको उपयोग पानी राख्नका लागि हुने गरेको छ । 

खाना पकाउँदा खाना डढेर भाँडामा नटाँसियोस्, कालो नहोस् भन्ने उद्देश्यले अचेल ननस्टिक भाँडा प्रयोग गरिन थालिएको छ । यस्ता भाँडा बनाउँदा एक किसिमको सिन्थेटिक पोलिमरलाई ननस्टिक कोटिङका रूपमा प्रयोग गरिन्छ । जो खाना पकाउने क्रममा विस्तारै खानामा मिसिन्छ । यसले शरीरमा हर्मोन गडबडी गर्ने र असाध्य रोग लाग्ने सम्भावना बढ्छ । 

अचेल अधिकांश होटेल र रेस्टुराँले खाना प्याकिङ गर्न र तातो गरेर राख्नका लागि अल्मुनियम फोयल उपयोग गर्छन् । अल्मुनियम फोयल एक किसिमको न्युरोटक्सिन हो । यसले मस्तिष्कमा प्रतिकूल प्रभाव पार्न सक्छ । यसको प्रयोगबाट अस्टियोपोरोसिस भन्ने हाडसम्बन्धी रोग लाग्न सक्छ । यसबाट पेट, छालासम्बन्धी रोगका साथै क्यान्सर लाग्ने सम्भावना पनि रहने कुरा विभिन्न अनुसन्धानमा औँल्याइएको छ । 

तेल निकालेर खोस्टा बनाएका तिल, ल्वाङ बजारमा यत्रतत्र पाइन्छन् । गहुँ, मकै वा कोदोको रोटी, भुटेको मकै, चिउरा, चना, भटमास, भिजाएको वा तारेको चना/केराउ जस्ता खाजाका वस्तु चाउचाउ, बिस्कुट, कुकिज आदिले विस्थापित भएका छन् । उखुको रस, बेलको सर्बत, गुड वा मिश्री वा सौंफको सर्बत आदि स्वास्थ्यवद्र्धक पेय पदार्थको जानकारी अहिलेको पुस्तालाई छैन । मोही पिउने चलन पनि हरायो । बजारमा पाइने हल्का पेय पदार्थमै अहिलेको पुस्ता रमेको छ । यी यस्ता पानी हुन् जसमा कार्बन डाइअक्साइड ग्यास मिसाइएको र अत्यधिक चिनी हालिएको हुन्छ । 

हल्का पेय पदार्थले दाँतको इनामेलमा हानि पु¥याउँछ । यस्ता पेय पदार्थले मानिसमा अपच, ग्यास्ट्रिक, पेट दुख्ने, वमन हुन सक्ने, हाडजोर्नीसम्बन्धी रोग उत्पन्न हुने र बढ्ने हुन सक्छ । विभिन्न भाँडामा प्याक गरिएका आँप, लिची, अनारलगायतका वस्तुको स्वाद भएका रासायनिक पाउडरले बनाइएका पेय पदार्थले पनि यसै गरी मानिसको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारिरहेका हुन्छ ।

अहिले परिवारका सबै सदस्य मिलेर आआफ्नो रुचि अनुसार ब्रान्डको रक्सी, बियर, वाइन पिउने चलन बसेको छ । यस्तोलाई सभ्य भन्ने गरिएको छ । धेरै रोगको जननी यो आयातित संस्कृति हो । रातिको खाना खाएको तीनदेखि चार घण्टापछि सुत्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ किनभने यस अवधिमा पेटभित्रको खाना पचिसक्छ तर अहिले राति अबेरसम्म पार्टीमा जम्ने र रक्सी पिउने चलन मौलाएको छ । 

यसर्थ हामीले हाम्रो देशमा पाइने गरेको खाद्यान्न, दलहन, तेलहन, तरकारी, फलफूल उपभोगमा केन्द्रित हुनु पर्दछ । आफ्नै देशको माटो अनुकूल आफ्नै स्थानीय बिउ, श्रम, सिप र वस्तुको उपयोगलाई प्रवर्धन गरिनु हामी सबैको दायित्व हो । बर्सौंदेखिको प्रयोगले प्रमाणित भइसकेका खाद्यवस्तु खान छोडेर बजारमा उपलब्ध खाद्यवस्तुमा रमाउनु भनेको रोगलाई निम्ता दिनु पनि भएकाले परम्परागत खाद्य परम्परा अपनाउनु वेश हुन्छ ।  

–युवामञ्च

Author

पुष्पराज श्रेष्ठ