• १६ भदौ २०८२, सोमबार

मूल्य घटे पनि रुनु नपर्ने खेती

blog

इलामको रोङ गाउँपालिका–३, मार्से (सिम्ले) को बेँसीफाँटमा लगाइएको अलैँची (बार्याँ) । नयाँ सिजनको अलैँची टिपेपछि त्यसको थुँगाबाट दाना अलग्याइँदै (दायाँ) । तस्बिर : नवराज कट्टेल

नवराज कट्टेल

विराटनगर, भदौ १६ गते । इलामको रोङ गाउँपालिका–३, मार्से (सिम्ले) गाउँका किसानलाई अहिले अलैँची टिप्न भ्याइनभ्याइ छ । यसबेला चिसो र लेकमा अलैँचीले फल छोड्दै छ भने बेँसीका खेतमा पाक्नै लागेको छ । 

चुरे र बेँसीमा विस्तार भइरहेको अलैँची परम्परागत जातभन्दा भिन्न छ । परम्परागत रामसाई, गोलसाई र चिबेसाई जातका अलैँची बेँसीमा टिक्दैनन् । तातो, पारिलो र घमाइलो जमिनमा सामान्य सिँचाइले उत्पादन दिने ‘पाखे’ वा जिर्मलेसाही अलैँची अहिले कोशीका चुरे र बेँसीलाई स्वर्णिम बनाउँदै छ । 

रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो (सुवास) का अनुसार यो जात भारतबाट भित्रिएको हो । रोङ गाउँपालिका–६ को सकलपुरमा २०४६ सालमा यसको परीक्षण खेती भएको थियो । त्यसैले स्थानीय भाषामा यसलाई जिर्मलेसाई र पाखाबारीमा हुने भएकाले पाखे भन्न थालियो । यही जात आएपछि खोल्सीको सुन भनेर चिनिने अलैँची खोल्सीबाट खेतबारीमा उक्लिएको छ भने लेकबाट चुरे र बेँसी ओर्लिएको छ । 

समुद्री सतहदेखि एक हजार मिटरसम्ममा राम्रो उत्पादन दिने पाखे अलैँची अहिले कोशी प्रदेशकै सुन बन्न पुगेको छ । रोङ गाउँपालिका–३ का किसान चन्द्रवीर राईको बुझाइमा यसले जनताको जीविकाकै स्तर फेर्ने हैसियत राख्ने गरेको छ । रोङ गाउँपालिका कृषि शाखाको तथ्याङ्क अनुसार २५० हेक्टर क्षेत्रफलमा वार्षिक १४० मेट्रिक टन अलैँची उत्पादन हुन्छ । यो उत्पादन परम्परागत जातको अलैँचीभन्दा बढी हो । 

सिजन लम्बियो

अलैँची उत्पादक महासङ्घका अध्यक्ष निर्मल भट्टराईका अनुसार अलैँची उत्पादन क्षेत्र विस्तार भएपछि यसको सिजनसमेत लम्बिएको छ । बेँसीका फाँटमा सरेपछि यसको सिजन साउन अन्तिमदेखि कात्तिकसम्म लम्बिएको हो । भट्टराईका अनुसार अहिले इलामको चुरे क्षेत्रमा उत्पादन भएको अलैँची टिप्ने र सुकाउने कामसँगै बजारमा आउन थालिसकेको छ । 

थुँगामा रहेको अलैँचीलाई झारजङ्गलका कारण गुम्स्याउन र ओभ्याउन नसक्दा कुहिने डर हुन्छ । त्यसैले अलैँची टिप्नुभन्दा एक महिनाअघिदेखि त्यसलाई उघारो बनाउनुपर्ने हुन्छ । “खेती र मूल्य बढ्दै जाँदा किसानको खुसीको पारो पनि बढदै छ,” अध्यक्ष भट्टराईले भन्नुभयो, “धान्नै मुस्किल धान र मकै खेती धेरै घटिसकेको छ ।” 

रोङका अलैँची किसान भेषराज न्यौपानेको अनुभवमा सबैभन्दा कम प्रतिमन (४० केजी) २८ हजार रुपियाँमा बिक्री गर्दा पनि तीन रोपनीमा उत्पादन हुने धान र मकै बराबरको आम्दानी एक रोपनीको अलैँचीले थेग्छ । अहिले अलैँची प्रतिमन लाखको हाराहारीमा छ । “अलैँचीको मूल्य बढ्दा किसान खुसी हुने नै भए, मूल्य घट्दासमेत कोही रुनु पर्दैन,” उहाँले भन्नुभयो । 

अध्यक्ष भट्टराईका अनुसार कोशी प्रदेशका सबै १४ जिल्लामा सङ्घका शाखा छन् जसमा अलैँची व्यवसायी र किसान आबद्ध हुन्छन् । किसान र व्यवसायी एउटै सङ्घमा हुँदा बजारका लागि बिचौलिया पनि नचाहिने भएको छ । प्रदेशभर करिब एक हजार सदस्य रहेको सङ्घमा करिब आठ सय त किसान नै छन् ।

अनुशासित बिचौलिया

नेपालमा किसानको दुःख बिचौलियाका कारण पनि बढ्छ तर अलैँची उत्पादक किसानले बजारको मूल्य घरमै बिक्री गर्दा पनि पाउँछन् । अलैँचीको सबैभन्दा ठुलो खरिदबिक्री हुने बजार बिर्तामोड त्यसपछिको धुलाबारी हो । बिर्तामोडमा व्यापारीले किन्ने प्रतिमन मूल्यमा एक हजार कम मात्र दिँदा खरिदे घरमै आइपुग्छन् । 

यही छुटमा स्थानीय व्यापारीले ठुला व्यापारीसँग समन्वय गरेर गाउँभरको अलैँची उठाएर बजार ल्याउँछन् । अध्यक्ष भट्टराईका अनुसार प्रतिस्पर्धाका कारण बजारसम्म आएको अलैँची चलेको मूल्यभन्दा कममा कसैले पनि किन्दैन । 

महासङ्घको तथ्याङ्क अनुसार कोशी प्रदेशभर एक लाख २५ हजार किसान अलैँची खेतीमा आबद्ध छन् । “कुनै किसानले उत्पादनको मूल्य नपाएको वा बिचौलियाले बिगारेको गुनासो नसुनिएको भट्टराईले बताउनुभयो । 

प्रदेशभर अलैँची

देशभर ४२ जिल्लामा अलैँची खेती हुने गरे पनि कोशीका १४ जिल्लाले ८५ प्रतिशत उत्पादन गर्छ । कोशीमा तराईका जिल्ला झापा, मोरङ र सुनसरीको चुरे क्षेत्रमा समेत अलैँची खेती विस्तार भइसकेको कृषि, उद्योग तथा सहकारी मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यहाँ करिब १५ हजार हेक्टरमा अलैँची खेती हुन्छ ।  

गत आर्थिक वर्ष २०८१/८२ मा कोशी प्रदेशका १४ जिल्लामा १४ हजार १९१ हेक्टर क्षेत्रफल अलैँची खेतीबाट सात हजार १५० मेट्रिक टन उत्पादन भयो । अघिल्लो आव २०८०/८१ मा १४ हजार ३८३.५० हेक्टर क्षेत्रफलमा सात  हजार ५८२.०२ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । आव २०७९/८० मा १४ हजार ४५१ हेक्टरको खेतीबाट सात हजार ७६३.८७ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । तराईका जिल्ला झापामा दुई हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमा प्रतिवर्ष एक मेट्रिक टन, सुनसरीमा ११ हेक्टरमध्ये ५.५ हेक्टरमा ३.१९ मेट्रिक टन र मोरङमा खेतीयोग्य ५५ हेक्टरमध्ये ४४ हेक्टरमा ३०.०८ मेट्रिक टन अलैँची उत्पादन हुँदै आएको छ ।

कोशी प्रदेशमा खेतीयोग्य जमिन, उत्पादन र उत्पादकत्व सबैभन्दा बढी ताप्लेजुङमा रहेको छ । ताप्लेजुङमा चार हजार ३०४ हेक्टर खेतीयोग्य जमिनमध्ये चार हजार १६५ हेक्टरमा अलैँची खेती हुँदै आएको छ । वार्षिक दुई हजार ५५० मेट्रिक टन अलैँची उत्पादन हुने गर्छ । उत्पादकत्वका हिसाबले प्रतिहेक्टर ०.६० मेट्रिक टन रहेको छ । 

मूल्यमा एघार वर्षको रेकर्ड

अलैँचीको मूल्यमा उतारचढाव भइरहन्छ । सबैभन्दा धेरै २०७१ सालमा  प्रतिमन एक लाख १५ हजार रुपियाँ खरिदबिक्री भएको अलैँची यस वर्ष त्यही रेकर्ड कायम गर्ने अवस्थामा छ । अलैँची मूल्यको छेको पहिलो सिजनको किनबेचमै पाइन्छ । 

यस वर्ष सुरुमै प्रतिमन ९० हजार रुपियाँमा कारोबार भयो । गत वर्ष यही सिजनमा प्रतिमन ४० हजार थियो भने तिहारपछि एक लाख १० हजार रुपियाँमा किनबेच भएको थियो । अहिले बजारमा प्रतिमन ९० हजार रुपियाँमा हाराहारीमा किनबेच भइरहेको छ र एक लाख १७ हजार रुपियाँसम्म पुग्ने अनुमान छ । २०७५ सालमा भने प्रतिमन एक लाख पाँच हजार पुगेको मूल्य त्यसपछि मनको २४ हजार रुपियाँसम्म झरेको थियो । 

भन्सार विभागको तथ्याङ्क अनुसार गत आव २०८१/८२ मा सात अर्ब ६७ करोड रुपियाँभन्दा बढीको अलैँची निकासी भएको छ । भारतमा मात्रै नभई अस्ट्रेलिया, फ्रान्स, स्विट्जरल्यान्ड र युनाइटेड अरब इमिरेट्ससमेत निर्यात भएको छ ।